बुटवल
काठको सहज उपलब्धता नहुँदा र तुलनात्मकरूपमा महँगो हुँदा नेपालमा युपिभिसीका झ्याल ढोकाको खपत हरेक वर्ष बढ्दै गएको छ । सम्बन्धित क्षेत्रका व्यवसायीले गरेको अध्ययनअनुसार सन् २०१८ देखि २०२५ सम्मको अध्ययनमा हरेक वर्ष चीन र भारतबाट युपिभिसीको आयात बढ्दो क्रममा छ । दुई वर्षको अध्ययनले नेपालमा वार्षिक १० हजार मेट्रिकटनसम्म अर्थात् नेपालमा खपत हुने कूल युपिभिसी बजारको ९० प्रतिशत हिस्सा चीन र भारतबाट आयात भएको देखिन्छ ।
सहजै पाइने, छिटो छरितो जडान हुने, हेर्दा आकर्षक, हलुंगो र मूल्य पनि काठभन्दा किफायती हुने भएकाले युपिभिसीप्रति सामान्यदेखि सम्भ्रान्त वर्गसम्मका उपभोक्ताको आकर्षण बढ्दो क्रममा छ ।
आयात हुने युपिभिसी परिमाणमध्ये ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट हुने गर्छ । यसमा वर्षेनी करोडौं रकम विदेशिएको छ ।
यसमा राम्रो सम्भावना देखेर आयात प्रतिस्थापन र भविष्यमा निर्यात पनि गर्ने लक्ष्यसहित बुटवलका रितेश सिलवाल र नारायाण केसीले स्थापना गरेको यो उद्योगमा नेपालकै अग्रणीमध्येको औद्योगिक घराना पञ्चकन्या ग्रुप समेत समान लगानी सहित साझेदारी गरेको छ । र उद्योगको नाम समेत पञ्चकन्या डिमेक्स यूपिभिसी डोर एण्ड विन्डोजबाट रि–ब्राण्डिङ भएको छ । ५२ वर्ष लामो इतिहास र गुणस्तरीय उत्पादनमा ‘पायोनियर’ मानिएको औद्योगिक घरानासँगको साझेदारीले यो उद्योगका संस्थापक रितेश र नारायण पनि खुशी छन् । आफूहरूले यसलाई अझ राम्रो गर्ने अवसरका रूपमा लिएको उनीहरूको भनाइ छ ।
नौ महिनासम्म उत्पादन परीक्षण, बजार वृद्धि र ग्राहकको अपेक्षासँगै सुझाव संकलन गरेपछि चालु आर्थिक वर्षमा तीव्र बजारीकरण गर्ने उद्देश्यले उत्पादनहरू सार्वजनिक गरिएको छ ।
उद्योगले पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल गरी ४ थरिका यूपिभिसी प्रोफाइलको अफिसियल लञ्च गरेको छ ।
उद्योगले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर र डिजाइनका उडन, ग्रे, वालनट र ब्ल्याक कलरका प्रोफाइल उत्पादन गरेको कम्पनीको दाबी छ । अन्य उद्योगले हालसम्म सेतो रंगका प्रोफाइल मात्रै उत्पादन गरिरहेका छन् । आफ्नै स्वामित्वको २ बिघा जग्गामा ८० करोड लगानी गरी सञ्चालन भएको यो उद्योग नेपालकै ठूलो यूपिभिसी उद्योग हो ।
फलामे छड, खानेपानीका पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिटसहितका उत्पादनमासंलग्न ग्रुपलेनिर्माण उद्योगको ‘वान विन्डो सोलुसन’ बन्न यूपिभिसी प्रोफाइल उद्योग पनि सञ्चालनमा ल्याएको उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले बताए ।
उद्योगबाट उत्पादित यूपिभिसी प्रोफाइलबाट बनेका झ्याल र ढोका निजी प्रयोजनका घरदेखि नेपालकै ठूलो हाउजिङ कम्पनी होराइजन अपार्टमेन्ट, तारे होटेल, अफिसहरूमा माग भइरहेको श्रेष्ठले बताए ।
युरोपियन प्रविधिको प्लान्ट जडित उद्योगले अन्तर्राष्ट्रिय गुणस्तरका युपिभिसी उत्पादन गरेकाले जर्मनको प्रख्यात एसकेजेड संस्थाले गुणस्तर प्रमाण चिन्ह प्रदान गरिसकेको श्रेष्ठले बताए । उद्योगले आफ्नो उत्पादनमा २० वर्ष वारेन्टी दिएको छ ।
पञ्चकन्या डिमेक्स प्रोफाइलको अर्को महत्वपूर्ण विशेषता यसमा प्रयोग हुने टीपीई ग्यासकेट (रबर) हो । जुन अन्तर्राष्ट्रिय गुणस्तरको भएकाले अरू जस्तो छिट्टै टुटफुट हुँदैन र बिग्रंदैन । लामो समयसम्म टिकाउ हुन्छ । उद्योगमा पञ्चकन्या ग्रुपको ५० प्रतिशत तथा बुटवलका युवा व्यवसायी रितेश सिलवाल र नारायण केसीको २५–२५ गरी ५० प्रतिशत लागत साझेदारी छ । उद्योगका निर्देशकहरूमा पञ्चकन्याका तर्फबाट उज्ज्वल, उदीप श्रेष्ठ र आशिक श्रेष्ठ तथा र बुटवलका रितेश र नारायण रहेका छन् । सिलवाल र केसीले टायल, मार्बल, बाथवेयरलगायत भवनको इन्टेरियर डेकोर सामग्रीका थोक बिक्रेता कम्पनी सिद्धार्थभूमि इन्टरनेसनलका सञ्चालक हुन् ।
समान प्रकृतिको व्यवसायिक अनुभव भएकाले पञ्चकन्याले उनीहरूसँग लगानी साझेदारी गरेको हो ।
‘पाँच दशकदेखि उद्योग र उत्पादनको अनुभव बटुल्दै अघि बढ्ने क्रममा नेपालमा चीन र भारतबाट युपिभिसी आयातको दर तीब्र गतिमा बढेको देखेपछि दुई वर्ष अध्ययन गर्दा राम्रो सम्भावना देखेर स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर बन्ने र आयात प्रतिस्थापन गर्ने उद्देश्यले लगानी गरेका हौं,’ श्रेष्ठले भने–‘अन्य उत्पादनमा पञ्चकन्या ब्राण्डको जुन जनविश्वास छ, त्यसलाई यूपिभिसी प्रोफाइलबाट थप उचाइमा पु¥याउने संकल्पसहित गुणस्तर र डिजाइनमा ध्यान दिएका छौं ।’
उद्योगको वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिकटन छ । यो नेपालको कूल युपिभिसी बजारको ५० प्रतिशत हिस्सा हो । उद्योगले भविष्यमा उत्पादन वृद्धि गरेर आगामी दुई वर्षमा बजारको ३५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘चालु आर्थिक वर्षमा १५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य छ,अर्को वर्षसम्म ३५ प्रतिशत हुँदै ५ वर्षमा ५० प्रतिशत हिस्सा पञ्चकन्या डिमेक्सको पु¥याउँछौं,’ उद्योगका अध्यक्ष श्रेष्ठले भने–‘हाम्रा अन्य उद्योगका उत्पादनको गुणस्तरले उपभोक्ताको विश्वास जितेका छौं, यो नयाँ उद्योगका उत्पादनमा पनि उस्तै विश्वास र माया पाउछौं भन्नेमा विश्वस्त छौं ।’
उद्योगले अमेरिका, जापान, जर्मनी, चीन, भियतनाम, भारतलगायत देशबाट कच्चा पदार्थ आयात गर्छ । कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र तयारी युपिभिसी प्रोफाइल आयातमा ३० प्रतिशत भन्सार दर हुँदा प्रतिस्पर्धा गर्न कठीन भएकाले कच्चा पदार्थ आयातमा भन्सार दर ५ प्रतिशत हुनुपर्ने अध्यक्ष श्रेष्ठको सरकारसँग आग्रह छ । उद्योगले हाल ६५ जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
पछिल्लो समय मुख्य शहर, बजार क्षेत्रमा युपिभिसीका झ्याल ढोका प्रयोगको हिस्सा ४५ प्रतिशत पुगेको र यो अझै बढ्ने श्रेष्ठले बताए । ‘सहजै पाइने, छिटो छरितो जडान हुने, हेर्दा आकर्षक, हलुंगो र मूल्य पनि काठभन्दा किफायती हुने भएकाले युपिभिसीप्रति सामान्यदेखि सम्भ्रान्त वर्गसम्मका उपभोक्ताको आकर्षण बढ्दो क्रममा पाएका छौं,’ श्रेष्ठले भने–‘पञ्चकन्या डिमेक्सले थरिथरिका कलर रोजाइको सुविधा र युरोपियन स्टाण्डर्ड दिएपछि नेपालमा मात्र नभई भविष्यमा विदेश निर्यात पनि गर्न सक्छौं, त्यसका लागि अझ एक बिघा जग्गामा उद्योग विस्तार गर्न सकिन्छ ।’उद्योगले पञ्चकन्या डिमेक्स प्रोफाइलको गुणस्तर र विशेषताबारे जानकारी गराउन चालु वर्षदेखि युपिभिसीको काम गर्ने फेब्रिकेटर व्यवसायी र बिक्रेतालाई तालिम र परामर्श दिने योजना बनाएको छ । पञ्चकन्या डिमेक्सका उत्पादनहरू वातावरणमैत्री र ३० प्रतिशत विद्युत् खपत कम गर्ने विशेषता भएका भए पनि आम उपभोक्ता, मिस्त्री र व्यवसायीलाई यो तथ्य जानकारी नभएकाले उपभोक्तामा जागरण ल्याउने अभियान थाल्ने उद्योगका म्यानेजिङ डाइरेक्टर रितेश सिलवालले बताए ।
‘गुणस्तरीय उत्पादन एउटा पाटो हो, हाम्रो उत्पादन उपभोक्तासम्म पु¥याउने मुख्य भूमिका फेब्रिकेटर र बिक्रेताको हो, अब हामी उनीहरूसम्म पुग्छौं,’ सिलवालले भने–‘उहाँहरूलाई तालिम र परामर्श दिन बुटवल र काठमाडौंमा केन्द्र स्थापना गर्छौं ।’ फेब्रिकेटरलाई तालिम दिएर दक्ष बनाई सर्टिफाइड गरेर मात्र आफ्ना उत्पादनको सही तरिकाले जडान र फिटिङ गर्न पठाउने योजना रहेको सिलवालले बताए ।
सिलवालका अनुसार अब हुने करिब २५ करोड लगानीको केही हिस्सा यसमै खर्च गर्ने कम्पनीको योजना छ । नेपालमा हाल करिब ८ सय जना युपिभिसीको काम गर्ने मिस्त्री र ४७ व्यवसायी छन् । ८ सयमध्ये २ सय जना पञ्चकन्या डिमेक्ससँग जोडिइसकेका सिलवालले बताए । उत्पादनको गुणस्तर सुनिश्चित गर्न उद्योगमै प्रयोगशाला रहेको उनले जानकारी दिए ।
आफ्ना उत्पादनहरू दिगो, वाटरप्रुफ, आगो प्रतिरोधी, मर्मतमा कम खर्च लाग्ने, नखुइलिने, बाहिरी हल्ला नसुनिने, आफ्नो इच्छाअनुसार डिजाइन गर्न सकिने, पुनः प्रयोग गर्न सकिने, सफाइका लागि सहज र पर्यावरणमैत्री भएकाले स्वदेशमा आत्मनिर्भर बनाई विदेश निर्यात गर्न सहज हुने सिलवालले बताए ।




