भैरहवा । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीले पछिल्लो एक वर्षमा ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ । सीमा क्षेत्रमा बढ्दो सक्रियताले आर्थिक वर्ष २०८१-८२ को अवधिमा १३ करोड १० लाख ३९ हजार ९ सय ८९ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार तथा सम्बन्धित निकायमा पठाइएको छ ।
रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तर्राष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भहरुको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरुको शान्ति सुरक्षालगायतको कामसँगै खुला सीमाका कारण हुन सक्ने चोरी तस्करीलाई न्यूनीकरण गर्नमा प्रयासरत रहेको छ । सीमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै गणले ३७ लाख ३३ हजार ५ सय मूल्य बराबरको ब्रोइलर कुखुरा, ५६ लाख ९९ हजार ५ सय ६९ रुपैयाँ बराबरको किराना सामान, ४ लाख ६५ हजार ६ सय ६७ बराबरको रासायनिक विषादी, २ लाख ९ हजार ९५ रुपैयाँ बराबरको हरियो तरकारी, ९५ लाख ५२ हजार ८९ रुपैयाँ बराबरको चिनी बरामद गरेको छ ।
त्यसैगरी ३६ हजार मूल्य बराबरको मदिरा, २ लाख १६ हजार ६ सय ५० बराबरको पटका, १ लाख ५ हजार बराबरको पशु चौपाया, ६ लाख ४५ हजार बराबरको नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुंगा) बरामद गरिएको छ । ‘राजस्व कार्यालयसँग संयुक्त तथा एकल रुपमा २ करोड १९ लाख ३० हजार ८ सय ४५ मूल्य बराबरको सामान बरामद गरिएको छ । त्यस्तै २ करोड ७३ लाख ७७ हजार १ सय ७४ रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै ७ लाख ८७ हजार ५ सय ५० बराबरको खाद्यान्न (दाल, चामल, चना), १४ लाख ९६ हजार २ सय ८५ बराबरको कस्मेटिक सामान, ९९ हजार ८ सय २ बराबरको भाडा वर्तन, ९ लाख बराबरको मोबाइल फोन, ५ लाख २१ हजार, ७ लाख ९६ हजार २ सय २३ बराबरको हार्डवेयर, मोटर, मोबाइल माटर्स, इलेक्ट्रिस ७५ लाख ७६ हजार ९ सय ८३, नगद (नेपाली तथा भारतीय रुपैयाँ) २० लाख ६० हजार, ४६ लाख ३ हजार ४ सय ८६ हजार मूल्य बराबरको आयूर्वेदिक तथा एलोपेथिक औषधी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले जानकारी दिए ।
उनले राजस्व छली गरी चोरी, निकासी÷पैठारी गरी भारतबाट नेपालमा ल्याइएका सामान बरामद गरी भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह र पशु प्लान्ट क्वारेन्टाइन कार्यालयहरुमा बुझाएको बताए । अवैध सामान ढुवानीमा प्रयोग भएका ट्रक, मिनी ट्रक, ट्याक्टर ८ वटा, कार, भ्यान, छोटा हात्ती) १० वटा, अटोरिक्सा ५ वटा, मोटरसाइकल १७५ र साइकल १० गरी २०८ वटा सवारीसाधनहरु समेत सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट नेपालतर्फ हुने गरेको तस्करी नियन्त्रणमा कडाइ गरिए पनि लुकीछिपी ल्याउने प्रयास गेरपछि विभिन्न सामानहरु बरामद गरिएको े सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीले बताए ।
चोरि तस्करी नियन्त्रणका अलावा एक वर्षको अवधिमो मर्चवारी गाउँपालिका वडा नं. ७ मन्झरियामा बिओपी स्थापना गरी जिल्लामा प्रस्तावित सीमा सुरक्ष गुल्म १, बिओपी ६ गरी सीमासँग सम्बन्धित जम्मा ७ वटा कार्यालय भएका छन् । बेलहियामा नाकामा लागुऔषध तथा बिष्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले डग स्क्वाडसहित यात्रुहरु तथा सामानहरुको चेकजाँच गर्न सुरु गरिएको छ ।
‘सशस्त्रले यस अवधिमा खैरो हिरोइन, गाँजालगायत लागुऔषधसहित ४ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । यसै अवधिमा लागुऔषध नियन्त्रणसम्बन्धी २४ वटा सचेतनामूलक कक्षा तथा सडक नाटक विभिन्न विद्यालय तथा समुदायहरुमा सञ्चालन गरिएको एसपी जोशीले जानकारी दिए ।
यस अवधिमा १२८ वटा विभिन्न विपद्सम्बन्धी सचेतनामूलक कक्षा विद्यालयहरु तथा समुदायमा सञ्चालन गरिनुका साथै जिल्लास्थित अन्य सुरक्षा निकायहरुसहित विभिन्न प्रकारका विपद् उद्धारको ६ वटा सिमुलेश अभ्यासहरु गरिएको छ ।
भारतसँग खुला सीमा जोडिएको जिल्ला भएका कारण यहाँ अवैध क्रियाकलाप, लागुऔषध एवं हातहतियारको अवैध ओसारपसार, चोरी–तस्करी, मानव बेचबिखनलगायतका घटना हुने गरेका छन् । यस्ता घटना नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ भने आपत विपद्मा पनि सशस्त्र प्रहरीको भूमिका उत्कृष्ट छ, विपद्मा खोज तथा उद्धार र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ । सशस्त्रको निगरानिका कारण सीमा क्षेत्रका नागरिकले शान्ति सुरक्षाको दरिलो अनुभूति गर्ने गरेका छन् ।
गणको नेतृत्व सम्हालेदेखि नै एसपी जोशीले तस्करी नियन्त्रणमा कठोर छन् । कमाण्ड सम्हालेदेखि नै निरन्तर अवैध सामान नियन्त्रणमा लिंदै आएका छन् । हरेक महिना सरदर एक करोडकै हाराहारीमा अवैध सामानहरु नियन्त्रणमा आएका छन् । भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, प्याज, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस्, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन समेत नियन्त्रणमा आउने गरेको तथ्याङ्क छ । उनले सीमामा निगरानी बढाउँदै सीमाबाट हुने अवैध कारोबारको सम्भावित क्षेत्रको पहिचान गरी योजनाबद्ध रुपले प्रस्तुत हुँदा अवैध बस्तुको नियन्त्रणको बढ्नुका साथै तस्कर तथा भरियाहरु पनि पछि हटेका छन् ।
खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाइ गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयहरुले पनि एक वर्षको अवधिमा भन्सार चोरी निकासी गरी भारतबाट नेपाल अवैध रुपमा ल्याउँदै गरेको १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको सामानहरु र चोरी तस्करीमा संलग्न ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ३ वटा अटो, १ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पठाइएको छ ।




