हालै भएको नेकपा एमाले केन्द्रीय समितिको बैठक यही साउन ६ गते मंगलबार सकिएको छ । उक्त बैठकको मूल एजेण्डा आगामी भाद्रमा हुने भनिएको विधान अधिवेशनमा प्रस्तुत संशोधित विधान प्रतिवेदनमाथिको छलफल नै मुख्य थियो । त्यसमा पनि अझ मुख्य एजेण्डा विगगतका महाधिवेशनमा भएको ७० वर्षे नेतृत्वको हद सीमा अवधि अनि दुई वर्षे अध्यक्षको कार्यकालको थियो । त्यस्तै अर्काे विषय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पार्टी प्रवेश अनि पद र कामको जिम्मेवारीको थियो । यी दुवै विषयमा केही छलफल भए पनि अन्ततः एमाले अध्यक्ष तथा प्रम केपी ओलीको ठाडो आदेश र निर्देशनमा ७० वर्षे उमेर र दुई वर्षे कार्यकाको हद म्याद खारेज गरी अब पुनः वर्षाैंसम्म अर्थात् सास छउञ्जेल प्रम केपी ओली नै उक्त पार्टीको अध्यक्ष भइरहने ढोका खुलेको छ ।
एमाले पार्टीमा देखिएको यो पदीय नेतृत्वको हानथाप र लुछाचुँडी अहिले मात्रै देखिएको होइन । पटक–पटक देखिंदै आएको छ । सीपी मैनाली, वामदेव हुँदै माधव, झलनाथ अनि भीम रावल हुँदै विद्या भण्डारीसम्म आएको छ । सीपी मैनालीले छुट्टै दल नेकपा (माले) निर्माण गरी त्यसैको नेतृत्व गर्दै आएका छन् भने माधव–झलनाथ र वामदेवले नेकपा एकीकृत (समाजवादी) छुट्टै कम्युनिष्ट पार्टी निर्माण गरी त्यसैमा सक्रिय हुँदै आएका छन् । त्यस्तै भीम रावलले छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आइरहेका छन् । तर फेरि अहिले एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुनः आगमनले अर्काे नयाँ राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।
भनिन्छ पहिलो गाँसमा नै ढुंगा । ठीक यहाँ अहिले एमाले पार्टीमा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भएको छ । केही महिना पहिलेदेखि विद्याको एमाले प्रवेशको चर्चा हुँदै आएको थियो । गत वर्ष नै पार्टी सदस्यको पुनः नवीकरण भइसकेको भनिएको थियो । तर अहिले यही आगामी हुने भनिएको पार्टी विधान अधिवेशनलाई मध्य नजर गर्दै विद्या भण्डारीले आफ्नो एमाले पुर्नगमनको इच्छा आकांक्षालाई प्रकट रुपमा अघि सारिन् । त्यही अनुरुप देश विदेश भ्रमण भेटघाटलाई तीब्रता पार्ने काम गरिन । पार्टीभित्र र बाहिर त्यसले धेरै चर्चा पायो । पक्ष–विपक्षमा धेरै मान्छेका धारणा प्रकट भए । तर अन्ततःत्यसलाई एमाले केन्द्रीय कमिटीले पूर्णबिराम लगाइदिएको छ । हुन त यसको छिनोफानो गर्ने अन्तिम निर्णय त पार्टी महाधिवेशन नै हो । तर अहिले नै प्रम केपी ओलीको ठाडो आदेशमा त्यसलाई तिरस्कार गराइयो । विद्याको पार्टी सदस्य बन्ने इच्छालाई रोकियो । एक प्रकारले पूर्व राष्ट्रपतिको पदीय हैसियतलाई तिलाञ्जली दिँदै पुनः एमाले पार्टीमा नै पुनस्र्थापित हुने विद्याको चाहनालाई प्रम ओलीले ठाडो हस्तक्षेप गरी उनलाई अब घर न घाटको बनाइ छाडेका छन् । विद्या भण्डारीले पूर्व राष्ट्रपतिको हैसियत आफ्नै स्वइच्छाले छाडिसकेकी छन् । अब फेरि एमाले दलको साधारण सदस्यको हैसियत नै नपाएपछि भएन त घर न घाटको । अब विकल्प विद्याका अगाडि अर्काे नयाँ दल निर्माण गर्ने कि अर्काे कुनै दलमा प्रवेश गर्ने वा प्रम ओली सामु आत्मसमर्पण गर्नुभन्दा अरु विकल्प नै देखिदैन ।
यो एमाले केन्द्रीय समितिको बैठक सकिएपछि लगत्तै विद्या भण्डारीले आफ्नै निवासमा पत्रकार भेटघाट गरी त्यो निर्णयको खुलेर विरोध गरिन् । विरोध मात्रै होइन आफ्नो पक्षमा बोल्ने नेताहरुलाई प्रम ओलीको धम्की र कारबाही गर्ने चुनौतीप्रति आक्रोश व्यक्त गर्दै अब पछि फर्कने, चुप लागि बस्ने अवस्था नै छैन । खुलेरै त्यसको प्रतिकार गर्दै अघि बढने भनाइले भने प्रम ओलीसामु आत्मसर्पण होइन, संघर्ष नै गर्ने चुनौती प्रस्तुत गरेकी छन् । निश्चय नै विद्रोह गर्ने अधिकार उनमा पनि छ । केपी ओलीको हैकम र अधिनायकवादको प्रतिकार गर्ने स्वयं फलामले फलाम काट्छ भने जस्तै कुनै बेलाका यी दुई लाल जोडी विद्या– ओलीबिचको यो फाटो र द्वन्द्वले भविष्यमा कस्तो रुप लिने हो ? हेर्न बाँकी छ ।
पूर्व राष्ट्रपति विद्या भण्डारीले त्यस्तो के अपराध गरिन् जुन पूर्व राष्ट्रपतिको पद र त्यसमार्फत् पाउने सुख, सुविधा, भत्ता, मान मर्यादा सबै त्यागिन् र पुनः एमाले पार्टी सदस्य भई देश र जनताको हित, प्रगति र समुन्यतिका लागि केही सहयोग र योगदान गर्ने चाहना राख्नु अनि त्यो गर्न नदिने प्रम ओलीको निर्देश र आदेशप्रति नतमस्तक भई बस्ने एमाले केन्द्रीय सदस्यहरुको यो समर्थन र सहयोग ओलीले भन्ने गरेको झोले दलाली र चाकडीकै परकाष्ट हो । तर विद्याले के बुझ्नु पर्दछ भने यो सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ताको चरित्र नै यस्तो हो जसले पनि बलेकै आगो ताप्न खोज्छन् । ओलीको चाकडी र दलाली गर्न एमाले धेरै जसो नेता कार्यकर्ताहरुकै यो प्रवृत्ति हो । हिजो मदन भण्डारी र विद्यालाई हाई हाई गराउने यो एमाले जमात अब ओली कै नेतृत्वमा उनीहरुलाई यदाका लागि बाईबाई गर्ने यो नाङ्गो, छुद्र, घृणा र विरोधबाट हुने निश्चित छ । त्यसको सुरुवात मदन भण्डारीको स्मृति दिवसका अवसरमा प्रम ओलीले मदन भण्डारीको चरित्रमाथि अनावश्क बेमौसमको बाजा जुन बहुपत्नीको श्रीमान भएको र सहकारी रकम हिनामिना गरेको जस्ता भनाइ प्रकट गरेबाट स्पष्ट भइसकेको छ ।
आखिर शत्रु र दुष्मन खोज्न अन्यत्र पराई कतै पनि जानु पर्दैन । आफैभित्र आफ्नै हितैषीहरुबाट नै त्यसको दुष्मनी र धोका हुन्छ । कुनै बेलाका एमालेका दुई लाल जोडी ओली–विद्याबीचको यो दुष्मनीले एमाले पंक्तिमा ठूलै तरङ्ग सिर्जना गरेको छ भने विद्या माथि ठूलो राजनीतिक संकट पैदा गरेको छ । यही दैनिक लुम्बिनी पत्रिकामा मैले लेखेको एउटा जंगलमा दुई बाघ मिली बस्न नसक्ने आसय अन्ततः अब एमाले पार्टीमा विद्या–ओली बीचको यो धोका षडयन्त्रबाट स्पष्ट भएको छ । आखिर हिजो को कहाँ कस्तो पद र जिम्मेवारीमा थियो त्यसको आधारमा कसैको पनि मूल्यांकन हुँँदैन । बरु हिजो उसले के ग¥यो र अब उसले के गर्दैछ र गर्नका लागि अग्रसर छ भन्नेमा मूल्यांकन गरिनु पर्दछ । विद्याको हिजो जुन पार्टी जिम्मेवारी राष्ट्रपतिको थियो । त्यो एमाले पार्टीकै निर्णय थियो । आफैँ एकाएक आकाशबाट झरे जस्तै मिलेको पद होइन । विगत र वर्तमानमा पार्टीको मूल्यांकनको आधारमा त्यो भएको थियो । अब उक्त राष्ट्रपतिको कार्यकाल सकिएको दुई वर्षपछि पुनः पार्टीमा सक्रिय हुन्छुभन्दा त्यो गर्न नदिने एमाले ओली एण्ड कम्पनीको नियतमा नै खोट छ । विद्यालाई पार्टी सदस्यता नै नदिने ओलीको त्यो ठाडो आदेश वर्तमान मौजुदा संविधानविरुद्ध छ नै । त्यो भन्दा पनि अझ ठूलो व्यक्तिको नसैंगिक स्वतन्त्र मौलिक अधिकारमाथिको हस्तक्षेप हो । मानौं ओली पार्टीका भगवान हुन् उनीको बोली सबै देवत्व निर्देश र आदेश हो जसलाई विरोध गर्ने अधिकार कसैलाई छैन, गरे त्यसलाई दण्डित पारिन्छ ।
कुनै बेला दरबारिया तानाशाहहरुले भन्ने गर्दथे सबै पंच नेपाली र सबै नेपाली पञ्चे । ठीक आज एमाले पार्टीभित्र पनि ओली भन्ने नै एमाले र एमाले भन्नु नै ओली भन्ने भोजन किर्तन गाइन थालेको छ । स्वयं प्रम ओलीले नै भन्ने गरेका छन्, ओली विनाको एमालेको कल्पना नै गर्न सकिन्न । उसो भए कुनै कारण ओली यता उती वा निधन भए के एमालेको अस्तित्व नै खतम हुने हो त ? त्यसो हो भने अब एमाले पार्टी पार्टी नै रहेन । त्यो केवल ओलीकै निजी कम्पनी अनि ओलीकै ब्राण्डमा सञ्चालित व्यक्तिवादी पार्टीभन्दा केही फरक पर्ने देखिन्न । कुनै बेला काठमाडौंको खुला टुंडिखेलबाट तत्कालीन राजा वीरेन्द्रलाई हाँक दिदै मदन भण्डारीले भनेका थिए–राजाले राजनीति गर्ने भए त्यो श्रीपेच फुकाली खुला मैदानमा आई बक्सियोस् म खुल्ला प्रतिस्पर्धा गर्न तयार छु । त्यस्तै अहिले पनि कांग्रेसी सभापति देउवा र एमाले अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई खुल्ला पार्टी दर्ता गरी राजनीतिमा आउनु चुनौती गरेकै हुन् । तर अहिले फेरि आफ्नै पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले आफूले खाइपाइ आएको रासन, भत्ता, मान मर्यादा सबै परित्याग गरी पुनः पार्टीमा फर्किन्छुभन्दा त्यो गर्न रोक लगाउने एमाले ओली र उनका झोले दलालहरुको यो कदम नाङ्गो र निरंकुश फासिवादी शैली हो । राजनीतिक रुपमा प्रतिस्पर्धा गर्नुभन्दा यस्ता केही झिना मसिना अड्चन र कथित राजकीय सम्मानका कुरा अघि सारेर त्यसबाट पन्छिनु एमालेले भन्ने गरेको जबजको मूल सिद्धान्त राजनीतिक प्रतिस्पर्धाबाट भाग्ने र पंछिने षड्यन्त्र दाउँ मात्र हो । नत्र भने विद्या पार्टीमा आउँदा स्वागत गर्दै उनको चाहना मिलमिलाप सहकार्य हो वा व्यक्तिगत र राजनीतिक प्रतिस्पर्धा गर्न के खोज्नेको हो ? त्यही अनुरुप जाँदा भइहाल्थ्यो । तर ओलीको मन व्यवहार त्यस्तै छैन माथि भने जस्तै जंगली हिंस्रक पशु सिंह र बाघको जस्तै छ आफू अगाडि त्यस्तो कोही नआउनु आफैँ सर्वेसर्वा अरु सबै झोले दास र कारिन्दा मात्रै होउन । राजनीतिक प्रतिस्पर्धा गर्न डराउनु सामन्ती, निरंकुशताकै उपज हो ।
समग्रमा भन्दा नेपाल कम्युनिष्ट पार्टीको विगत र इतिहास नै यस्तै छ । मिली कोही नबस्ने । राजनीतिक प्रतिस्पर्धाभन्दा व्यक्तिगत गाली गलौज, खुरापाती, जालझेल र षड्यन्त्र मात्रै गरिरहने । एकले अर्कालाई देखिनसहने । त्यस्तै नेताहरुमध्ये पहिलो बयोवृद्ध नेता क.मोहनविक्रम सिंह हुन भने अर्का फुच्चे नेता क.केपी ओलीमा देखिंदैछ । के जाति अरिङ्गाल खाए बछ्यौं खाएँ झुसे बारुला विद्याको यो राजनीतिक चुरीफुरीलाई ओलीले के टेरुन् । मोहन विक्रमले पुष्पलाल, झापाली, निर्मल लामा, मोहन वैद्य र प्रचण्ड साथै बाबुराम दिनानाथ अन्तिममा सन्तबहादुर नेपाली र कृष्ण पौडेल जस्ता धेरैलाई धपाए । अब फेरि पालो कसको आउँदैछ ?
जीवनमा बाचुञ्जेल त्यही खेल चलिरहन्छ क. मोहन विक्रमको । नौ दशक उमेर काटिसक्दा पनि पार्टी नेता भई नै रहने । सानामा लागेको बानी कहीं पनि नजानी ? ठीक यसको पिंढो अब एमाले पार्टीमा क. ओलीले थाम्दैछन् । ओलीले पनि सीपी, झलनाथ, माधव, वामदेव, भीम रावल यतिसम्म कि प्रचण्डलाई समेत धपाए, अब पालो विद्याको । उमेर ७४ वर्ष भयो तर अब २०, २५ वर्ष एमाले नेतृत्वका लागि कसैले नचाहे हुन्छ भन्दै छन्, ओली । उमेर वर्षले र काम व्यवहारले अब ओली मदन पथबाट विस्तारै मोहन विक्रम पथमा लम्किदै छन् । बाचुञ्जेल पार्टीको सत्तामा बसी रमाइरहने शीर्ष दुई वाम नेता क. मोहन विक्रम र क. ओली दुवैलाई बधाई र सफलताको शुभकमना । तर पूर्व राष्ट्रपति विद्यादेवीप्रति भने सहानुभूति । माथि भनेजस्तै विद्रोह गर्ने जनताको अधिकार हो । हुन त विद्या पनि कुन बारीकी मूल हुन् र त्यही एमाले बारीकी, त्यही मदन भण्डारी, झलनाथ, माधव अनि पछिल्लो कालमा यिनै ओलीद्वारा पालित, पोषित र संरक्षित नै त हुन् । तै पनि एमाले ओली नेतृत्वको त्यो एकमना व्यक्तिवादी अधिनायक फासिवादी चरित्रकाविरुद्ध विद्याको आगामी काम कारबाही कस्तो हुनेछ ? त्यही आधारमा उनको समर्थन वा विरोध गर्दा नै राम्र्रो हुनेछ ।




