गोपी ज्ञवाली
नेपालीहरुले वीरताको कुरा गर्दा बलभद्र कुँवर र नालापानी किल्लाको लडाइँ र त्यसको विरताको विषय नेपालीलाई सहजै गर्भका साथ सम्फना आउँछ । अंग्रेजी फौजसँग नालापानी किल्लामा भएको भिषण लडाइँ लडेको त्यो स्थल कहाँ होला र अहिले त्यस स्थानको अवस्था के होला भन्ने विषय सबैको चासोका विषय हुन सक्दछ । धेरै नेपालीहरुलाई थाहा पनि नहुन सक्दछ कि त्यो ऐतिहासिक स्थल कहाँ छ ? ब्रिटिश शासनको साम्राज्य विश्व भरि फैलिएको मध्य अवस्था आज भन्दा २ सय ६८ वर्ष पहिला भएको नेपाल अंग्रेज युद्धको त्यो स्थान नेपालको सिमाना भन्दा बाहिर रहेको कुरा कति नेपालीहरुलाई थाहा छैन होला ।
नेपालले गर्व गर्ने त्यो लडाईको स्थान नालापानी किल्ला भारतको उत्तराखण्डको देहरादुनमा रहेको छ । नेपालीको वीरताको प्रतिक नालापानी किल्ला सुगौली सन्धिपछि भारतीय भू–भागमा पर्न गएको हो । देहरादुनको मुख्य बजार देखी करिब ७ किलोमिटरको उत्तरपूर्वको पहाडी टापु रहेको छ । अंग्रेज सेनालाई हराएर नेपाली सेनाले कृतिमानी कामय गरेको नालापानी किल्ला अहिले सामान्य कम्पाउन्ड वाल लगाएर राखिएको भए पनि यसको ऐतिहासिकता झल्कने खालका पुराना स्थान एवं वस्तुहरुको संरक्षण हुन सकेको छैन ।
नेपाली संघर्षको इतिहासमा अत्यन्तै गौरवको विषयको रुपमा रहेको नालापानी किल्ला भौगोलिक हिसाबले भारतीय भू–भागमा रहेकोले यसको संरक्षणको दायित्व नेपालको हुने कि भारतको भन्ने विषय अस्पष्ट हँुदा नालापानी किल्ला संरक्षणको अभाव देखिएको छ । वर्तमान भारतको स्थापना हुनु पूर्व नै भएको त्यो ऐतिहासिक युद्ध पश्चिम नेपालको महत्वपूर्ण एउटा किल्ला थियो । सुगौली सन्धिपछि त्यो स्थान भारतमा पर्न गएको हो ।
नेपाली फौजको गौरवपूर्ण इतिहास बोकेको त्यो स्थानमा भारत सरकारको लगानीमा सामान्य नालापानी किल्ला प्रवेश गेट, त्यो स्थानमा पुग्ने बाटो र केही सामान्य संरचनाहरु बनेको भए पनि त्यसका अनेकन ऐतिहासिक बस्तुहरुको संरक्षण, थप अध्ययन अनुसन्धान, कसको जिम्मेवारी हुने भन्ने विषय स्पष्ट हुन नसक्दा यो ओझेलमा परेको छ ।
भारतमा बस्ने नेपाली भाषीहरु र सामाजिक संघसंस्थाहरुको पहलमा नालापानी किल्लाको माथिल्लो भागमा कम्पाउन्डवाल बनाएर एउटा स्तम्भ बनाइएको छ । स्तम्भको तल्लो भागमा एउटा मार्वलको शिलामा अंग्रेजी भाषामा नालापानीको सामान्य परिचय लेखिएको भए पनि वीरताको इतिहास झल्कने अन्य कुनै बस्तु वा लिपिबद्ध गरीको कुनै दस्ताबेज वा संरचना रहेको छैन ।
स्तम्भ बनाइएको किल्लाको चारैतर्फ बाक्लो जंगल रहेको छ । युद्धका बेलामा अंग्रेजहरुले किल्लाको माथिल्लो भागमा बमबारी गरेका कतिपय स्थानमा फुटेका ढुंगाहरु, पानीको मुहान, किल्लामा ल्याइएको पानीको कुलो, तल्लो मैदानी भागमा बेस बनाएर अंग्रेजहरुले गरेको आक्रमणका स्थानहरु क्रमशः अतिक्रमित हँुदै गएका छन् । यो क्षेत्रलाई केन्द्र बनाएर नालापानीको युद्धको संग्रहालय बनाउन सकिने अवस्था रहे पनि यो काम भारत सरकारले गर्ने वा नेपालले गर्ने वा दुबै सरकारको संयुक्त योजनामा बन्ने भन्ने विषयमा कुटनैतिक रुपमा पहल हुन सकेको छैन ।
नालापानीमा लडेको नेपाली सेनाको शाहसिक युद्धका कारण नै तत्कालिन विश्व साम्राज्य कायम गरेको ब्रिटिस सरकारले गोरखा (नेपालीहरु) लाई शाहसीका प्रतिकका रुपमा सम्मान गर्न थालेको इतिहास छ ।
पछिल्लो केही वर्षदेखि नेपाली सेनाले देशभित्रका एतिहासिक गढि र किल्लाहरुको खोजी गरी संरक्षण गर्ने काम सुरु गरेको भए पनि नालापानी किल्लाको संरक्षणको विषयमा कुनै योजना बनाएको पाइएको छैन । देहरादुन एवं उत्तराखण्ड क्षेत्रमा भएका नेपालीहरुका केही सामाजिक संघसंस्थाहरु केही अगुवा नेपालीहरुको तत्पर्तामा हर वर्ष नोभेम्बर महिनामा खलंगा (नालपानी युद्ध स्मृति) दिवस मनाउने गरेका छन् । अहिलेसम्म नेपाल सरकारको तर्फबाट यसलाई प्रवर्धन वा अध्ययन अनुसन्धानको कुनै पनि योजना बनाएको पाइएको पाइदैन । नेपालबाट पछि गएर बसेका नेपालीहरु एवं पहिलादेखि नै बसोबास गर्दै आएका नेपाली भाषी मानिसहरुका सामाजिक संघसंस्था जस्तै वीर गोरखा कल्याण समिति, गोरखा शोसलिस्ट कल्चर फाउन्डेशन, बलभद्र खलंगा विकास समिति, गोरखा डेमोक्रेटिक फ्रन्ट जस्ता सामाजिक संस्थाहरुको अगुवाइमा नालापानीको किल्लामा नालापानी स्मृति स्तम्भ बनाइएको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालयले बनारसमा रहेको पशुपतिनाथ मन्दिरको संरक्षणका लागि भन्दै कतिपय आर्थिक वर्षहरुमा बजेट विनियोजन गर्ने गरेको छ भने भारत सरकारले पनि नेपालमा भारतीय दूतावासमार्फत् भारतीय भाषा, संस्कृति संरक्षणलागायतका कामका लागि भन्दै नेपालमा ठूलो रकम खर्च गर्ने गरी बजेट छुट्याउने प्रचलन रहेको भए पनि ऐतिहासिक नालापानीमा कसैको ध्यान पुग्न सकेको छैन । नेपालीको ऐतिहासिक वीरताको प्रतिक नालापानी किल्ला अहिले सिमांकनको हिसाबले भारतमा भए पनि हाम्रो इतिहासको किल्ला संरक्षणका लागि नेपाल सरकाले पहलकदमी लिनु पर्ने हो तर त्यसो हुन सकेको छैन ।
नालापानी किल्लादेखि करिब ४ किलोमिटर पश्चिमको मैदानी भागमा सहस्रधारा जाने बाटोमा रहेको खलंगा स्भारकमा अंग्रेजहरुले नेपालीको वीरतालाई सम्मान गर्दै शिला लेख स्थापना गरेका छन् । त्यो शिलालेखमा अंग्रेज सेनाले गोरखा सेनालाई वीर दुश्मन भन्दै बलभद्र कुँवरको सम्मानमा शिलापटट लेखेको प्रमाण रहेको छ ।
लेखेको स्मारकमा बलभद्र कुँवरको नाम बलभद्र थापा लेखेको छ । त्यो लिखत सुधार्न समेत भारत सरकारसँग नेपालले गर्नु पर्ने पहलकदमी पुगेको छैन । देहरादुनमा मात्रै झण्डै १० लाख नेपाली भाषी नेपालीहरुको बसोबास रहेको भए पनि नेपालीहरु राज्यको निर्णायक स्थानमा नहुँदा नलापानी (खलंगा) किल्लाको अध्ययन, अनुसन्धान तथा संरक्षणको कामले तिब्रता पाउन सकेको छैन । नेपालले भारत सरकारसंग कुटनैतिक छलफल गरेर नालापानी क्षेत्रलाई संरक्षण गर्दै युद्ध संग्रहालय निर्माणका लागि पहल गर्दा भारत सरकारको तर्फदेखि नै नालापानी क्षेत्रको संरक्षणको काम हुन सक्ने सम्भावना प्रवल रहेको छ । सन १८१४ मा नालापानी किल्लामा ठूलो शक्तिका साथ आधुनिक हातहतियार सहितका अंग्रेज फौजले नालापानी किल्लामा आक्रमण गरेका थिए । बलभद्र कुँवर नेतृत्वको नेपाली सेनाले वेलायती फौजको कडा प्रतिवाद गरेको थियो । ठूलो र आधुनिक हतियार सहित आक्रमण गरेको अंग्रेज सेना दुई पटकसम्म नराम्रोसंग हार खाएर फर्केका थिए ।
अंग्रेजी सेनापति मेजर जनरल रोवर्ट रोलो जिलेस्पीको नेतृत्वमा आएको अंग्रेज सेनाले बलभद्र नेतृत्वका सेनामा माथि आक्रमण गरेको थियो । किल्लामा गोलाबारुद र आधुनिक हतियारसहित आएको अंग्रेज सेनाले किल्लामा आक्रमण गर्दा नेपाली सेनाले खुकुरी, धनुषबाँण, ढुंगामुढासहित धराईसी हतियारको बलमा दुश्मन सेनालाई ठूलो क्षति पु¥याएका थिए ।
ठूलो तयारीका साथ तीन पटकसम्म आक्रमण गर्दा पनि अंग्रेजी सेनाले नालापानी किल्ला कब्जा गर्न नसके पछि चौथो पटक नालापानी किल्लामा जाने खानेपानीको मुहान बन्द गरीदिएर मात्र नालापानी किल्ला कब्जा गर्ने सफल भएको थियो । यस युद्धका दौरानमा ३५ सय सेना लिएर आएको अंग्रेजी सेनाका ८ सय सेनाहरुसहित सेनापति मेजर जनरल जिलेप्सी नालापानी किल्लामा मारिएका थिए । नेपालको तर्फबाट बलभद्रको नेतृत्वमा नेपाली सेना महिला र केटाकेटी समेत यो युद्धमा वीरताका साथ लडेका थिए ।
अंग्रेजी सेनाले नालापानी किल्लामा पानीको मुहान बन्द गरी मुहान कब्जा गरेपछि पानीको अभावमा बलभद्र कुँवर नेतृत्वको नेपाली सेनाले नालापानी किल्लामा लड्न फेरि आउने छांै भन्दै ७० सैनिक लिएर किल्लाबाट बाहिरीएका थिए ।
पानीको अभावका कारण नेपाली सेनाले नालापानी किल्ला छाडेपछि किल्ला अंग्रेज सेनाले बल्ल किल्ला नियन्त्रणमा लिएको थियो ।
त्यसपछि भारतीय अंगे्रज सरकार र नेपालबिच सन १८१६ मा सुगौली सन्धि भएपछि नेपालको नालापानी किल्लासहितको ठूलो भू–भाग नेपालबाट अलगिन पुगेको थियो । नालापानीमा वीरताको इतिहास बनाएर नालापानीबाट बाहिरिएका बलभद्र कुँवर अंगे्रजी सेनाको विरुद्ध लड्नु पर्दछ भन्दै फेरि पञ्जावका राजा रणजीत सिंहको सेनामा भर्ती भएका थिए ।
पञ्जावका राजा रणजीत सिंहको तर्फबाट अंग्रेजसँग लड्दालड्दै १८२४ मा अफगानीस्तानमा बलभद्र कुँवर मारिएका थिए । बलभद्र कुँवरका बुबा चन्द्रवीर कुँवर सेनाको माथिल्लो ओहोदामा थिए । त्यस कारणले अमरसिंह थापाले दरबारमा पत्र लेखेर पठाएपछि बलभद्र कुँवरलाई कप्तानीको जिम्मा दिइएको थियो । १८१३ सालमा बलभद्र कुँवरलाई नालापानी किल्लाको सुरक्षाको जिम्मा दिई त्यता पठाइएको थियो ।
नेपाल र अंग्रेजबिच सन् १८१६ सालको अक्टोबर नोभेम्बरसम्म नालापानीमा युद्ध चलेको थियो । नालापानी युद्ध नै नेपाल र अंग्रेजकोबिचको अन्तिम युद्ध थियो । युद्धपछि तात्कालिन इष्ट इण्डिया कम्पनी सरकार (भारतीय अंग्रेज सरकार) ले नालापानी किल्लामा मारिएका आफ्ना सेनापति जनरल जिलेस्पी र नेपाली कमाण्डर वीर योद्धा बलभद्र कुँवरको सम्मानमा दुई वटा स्तम्भ (स्मारक) बनाएको थियो । स्तम्भमा राखिएको शिलामा अंग्रेज सरकारले नेपाली सेनालाई ‘विर शत्रु’ भनेर सम्मान गरेको शिला लेख आज पनि खलङ्गा स्मारकमा लेखिएको छ । अंग्रेजहरुले नेपाली सेना र बलभद्र कुँवरको मुक्त कण्ठले प्रशंसा गरेर लेखेका थिए । यी स्तम्भ रहेका स्थानलाई भारत सरकारको पुरातत्व विभागले संरक्षण गरेर राखेको छ ।




