बुटवल
नेकपा एमाले रुपन्देहीकी पूर्व सचिवालय सदस्य महिला नेतृ देवी वाग्ले राजनीति छाडेर अहिले ट्याक्सी चालक बनेकी छन् । यसअघि उनले रुपन्देहीमै फूल (पुष्प) खेती गर्ने पहिलो महिला किसानको पहिचान बनाएकी थिइन् । १२ वर्षदेखि चढ्दै आएको पेट्रोलबाट चल्ने कार बेचेर विद्युतीय कार किनेर दुई महिनादेखि व्यवसायिक चालक बनेकी वाग्लेको यो नयाँ कामबारे एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल जानकार रहेछन् । आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रममा आएका पौडेलले वाग्लेलाई फोन गरेर उनको ट्याक्सीमा चढ्न चाहेको बताएअनुसार आइतबार बिहान ७ बजे नै वाग्ले बुटवलको मिलनचोकस्थित ड्रिम होटेल अगाडि आइपुगिन् ।
अर्थमन्त्री होटेलबाट निस्केर ट्याक्सीमा चढे । उनको सरकारी गाडी ट्याक्सीको पछिपछि गुड्यो ।
ट्याक्सी चढेपछि पत्रकारहरुसँग बोल्दै अर्थमन्त्रीले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यवसायिकरुपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताए । इन्धनबाट चल्ने गाडीले प्रदूषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी ट्याक्सी चलाएकोमा धन्यवाद र बधाईसँगै हौसला दिन पनि उनको ट्याक्सीमा चढ्न चाहेको पौडेलले खुलाए ।
‘देवी वाग्लेलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुँदैन भन्ने आम महिला र युवामा सन्देश दिन उहाँको ट्याक्सी चढ्न बोलाएको हुँ,’ पौडेलले भने–‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले सुरु गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ, त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’
अर्थमन्त्री पौडेललाई वाग्लेले होटेलबाट करिब दुई किलोमिटर पश्चिम सुन्दरनगर पु¥याएर छाडिन् । अर्थमन्त्रीले टिप्ससहित भाडा दिएको वाग्लले सुनाइन् ।
अर्थमन्त्रीले आफैँ फोन गरेर आफ्नो ट्याक्सी चढेकोमा खुशी देखिएकी वाग्लेले भनिन्–‘महिला भएकै कारण केही यात्रुले बुक गरेको ड्राइभ क्यान्सिल गरेका थिए, त्यसले मन दुखेको थियो, आज अर्थमन्त्री ज्यू चढेर राम्रो गर्नुभएको छ भने अघि बढ्न हौसला पनि मिलेको छ ।’
वाग्लेले दुई वर्षभित्र लुम्बिनी प्रदेशमा कम्तीमा २५ जना नयाँ महिला ट्याक्सी चालक उत्पादन गर्ने लक्ष्य रहेको बताइन् । ‘१० वर्षअघि रुपन्देहीमा महिलाले फूल (पुष्प) खेती गरौं भन्दा सुरुमा कसैले पत्याएनन्, म आफैँले सुरु गरेपछि रुपन्देहीमा दर्जनौं महिला व्यवसायिक पुष्प खेतीमा आबद्ध छन्,’ वाग्लेले भनिन्–‘अब आफैँ ट्याक्सी चलाएर देखाएर दुई वर्षमा कम्तीमा २५ जना महिला ट्याक्सी चालक उत्पादन गर्ने लक्ष्य छ ।’
वाग्लेले ८ वर्षअघि नै महिलाहरुलाई ड्राइभिङ तालिम दिनुपर्छ भनेर स्थानीय तहहरुमा लबिङ गरेको र महिलाले तालिम लिए पनि ट्याक्सी खरिद गर्न नसक्दा चालक बन्न नसकेको बताइन् । तर अहिले विभिन्न ई ड्राइभ कम्पनी खुलेकाले लाइसेन्स भएका महिलाले सजिलै काम पाउने वाग्लेले बताइन् ।
‘अधिकारका कुरा गर्दा हरेक क्षेत्रमा आधा हिस्सा खोज्ने महिलाहरुले विभिन्न प्रकृतिका पेशा र काममा पनि पुरुषसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ, सकिन्छ भन्ने मेरो मान्यता हो,’ वाग्लेले भन्छिन्–‘ड्राइभिङ तालिमपछि लाइसेन्स लिने महिला पुरुषहरु खाली बस्नुपर्दैन, सके आफँै ट्याक्सी किनेर नभए अरुको भाडामा लिएर चलाउन पाइन्छ, आम्दानी पनि राम्रो हुन्छ ।’
वाग्लेले दैनिक औसत ५–७ हजार आम्दानी हुने गरेको बताइन् । आफू जीविकोपार्जनका लागि नभई अरु महिलालाई उत्प्रेरित गर्नका लागि ट्याक्सी चालक बनेको वाग्लेको भनाइ छ ।




