बुटवल
बुटवलको प्रमुख पर्यटकीय गन्तव्य मणिमुकन्दसेन उद्यान (फूलबारी) लाई बुटिक उद्यानको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । उद्यान सञ्चालक समितिले निश्चित वर्षको योजना बनाई भविष्यमा बुटिक उद्यान बनाउने दीर्घकालीन योजना बनाएको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बुटिक उद्यान भनेको आकर्षक र विशेष शैलीमा बनाइएको बगैंचा हो, जसमा सौन्दर्य, सिर्जनात्मकता र विशिष्टता झल्किन्छ । अर्को अर्थमा बुटिक उद्यानलाई पार्क आतिथ्यता पनि भनिन्छ । फूलबारीको क्षेत्रफल विस्तार गर्न कठिनाइ भएकाले पर्यटकको आकर्षण बढाउन बुटिक उद्यान बनाउने योजना बनाइएको हो ।
हालसम्म नेपालमा सार्वजनिक बुटिक उद्यान बनेका छैनन् । बुटिक होटेलहरु भने बनेका छन् ।
उद्यान सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद नेपालले मणिमुकुन्द सेनवंशीय भग्नावशेष दरबारलाई संरक्षणसँगै दरबार संग्रहालय निर्माणको पहल गरिएको बताए । यसका लागि यो वर्ष ३ करोड बजेट संघीय सरकारबाट बिनियोजन भएको उनले जनाए । यसैगरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरेको उनले बताए ।
उद्यानमा व्यवसायिक नर्सरी सञ्चालन, नयाँ सेल्फी जोन, ट्रि हाउस र ट्रि रेष्टुरेण्ट, सिसाको पुल, जीपलाइनजस्ता संरचनाहरू निर्माणको समेत अध्ययन र तयारी भैरहेको उनले बताए ।
यस्तै रिचार्ज पोखरी तथा झरना निर्माण, मुनामदन बगैंचाको सौन्दर्यीकरण, एक्युरियम, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा मिडिया सहकार्य तथा रिसर्च फेलोसिप कार्यक्रम सञ्चालन जस्ता योजना अघि सारेको उनले बताए ।
महासचिव युवराज घिमिरेले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारसँग सहकार्यमा उद्यानको विकास गरिरहेको बताए । पर्याप्त बजेट अभाव, सामुदायिक वनसँग कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानीको आपूर्तिमा चुनौतीका विषय भएको उनले उल्लेख गरे ।
साढे पाँच लाख पर्यटक, ७४ हजार भारतीय
उद्यानमा आर्थिक वर्ष २०८१-०८२ मा पाँच लाख ४७ हजार १ सय ९९ जना पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये ७४ हजार ५ सय ९२ जना भारतीय नागरिक रहेका छन् । यस्तै ७१ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् ।
गत वर्ष उद्यानको आम्दानी ४ करोड ६ लाख रुपैयाँ तथा खर्च ३ करोड ९६ लाख रुपैयाँ भएको समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले बताए । यसैगरी मनोरञ्जन कर, आयकर र अन्य कर शीर्षकमा ४७ लाख रुपैयाँभन्दा बढी सरकारलाई भुक्तानी गरिएको उनले बताए ।
उद्यानमा १६ जना स्थायी तथा करार र २० जना दैनिक ज्यालादारी गरी ३६ जना प्रत्यक्ष रोजगारीमा छन् भने सटर, बाल उद्यान र अन्य सेवा सञ्चालनमार्फत् झण्डै १५० जना परोक्ष रोजगारी सृजना भएको छ ।
मणिमुकुन्द सेन उद्यानलाई थप व्यवस्थित, शिक्षामैत्री र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन संयुक्त कार्ययोजना र सांस्कृतिक प्रदर्शन कार्यक्रमहरू आवश्यक रहेको पत्रकारहरुको कार्यक्रममा सुझाव दिए ।
फूलबारीले ५०० वर्षभन्दा अगाडि देखिको सेन वंशीय राज्यको इतिहास बोकेको छ । यद्यपि २०५४ मा मणिमुकुन्द सेन उद्यान संरक्षण समिति जिल्ला प्रशासन कार्यलयमा दर्ता भएर सञ्चालन हुँदै आएको छ । फूलबारीमा कुडुले घर, स्काई साइक्लिङ पनि बनेको छ ।




