प्रकाशडोटेल
स्याङ्जा
स्याङ्जाका शहरी र ग्रामीण क्षेत्रका धेरै कच्ची सडक पछिल्लो एक वर्षमा कालोपत्रेभएका छन् । आर्थिक वर्ष २०८१-०८२ मा पूर्वाधार विकास कार्यालयले ३० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको छ । ५० किमि कालोपत्रे गर्ने लक्ष्य राखेको कार्यालयले ३० किमि सडकमात्रै कालोपत्रे गर्न सफल भएको हो ।
धेरै सडकहरु बहुवर्षीय योजनामा समावेश भएको हुँदा लक्ष्यअनुसार सडक कालोपत्रे गर्न नसकिएको कार्यालयले जनाएको छ । कतिपय सडक बहुवर्षीय योजनामा थिए भने कतिपय योजनालाई आर्थिक श्रोत व्यवस्थापन गर्न नसक्दा लक्ष्य पूरा हुन सकेन् । कार्यालयकाअनुसार निर्माण थालिएका केही सडक योजना निर्माण कम्पनीको कमजोरीले कालोपत्रे गर्न सकिएन् ।
पछिल्लो एक वर्षमा चापाकोट–हरिनास जोड्ने दामाचौर–हिलाम¥याङ् १० दशमलब ५, राङ्खोला–बिरुवा खण्डमा पर्ने राङखोला–धोबादी ६ दशमलब १, पुतलीखेत–सिरुबारी पर्यटकीय सडकअन्र्तगत पुतलीखेतदेखि सतौ–दरौ ३ दशमलब १, बिरुवा र हरिनास दुई पालिका जोड्नेबिरुवा–किचनास खण्ड १ दशमलब ७ तथा दुई जिल्ला स्याङ्जा र पर्वत जोड्ने वालिङ – हुवास खण्डको पिपलटारी–बोदीभञ्ज्याङ् १ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भएको छ ।
त्यसैगरी अल्छीखोला – रानीपोखरी खण्डमा ८५० मिटर, बिरुवा र भीरकोट दुई पालिका जोड्ने सडक खण्डको बयरघारी–बानेथोक ८ सय मिटर, ढाडाँखेत–दाह्रेगौडा २ सय मिटर सडक कालेपत्रे गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले बताए ।
‘वार्षिक कार्ययोजनाअनुसार सडक निर्माणमा पूरा जनशक्ति केन्द्रित गर्दा समेत ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य प्राप्ति गर्न सकिएन्,’ प्रमुख अधिकारीले भने–‘वर्ष भरिमा ३० किलोमिटर सडकमात्रै कालोपत्रे गर्न सकियो ।’ ठेक्कामा लाग्ने सयम, बहुवर्षीय योजना, श्रोत सुनिश्चित नहुँदा र निर्माण कम्पनीले बिचमै काम छाड्दा लक्ष्य पूरा हुन नसकेको अधिकारीले बताए ।
गएको वर्ष ठेक्का सम्झौता भएका १२ वटा बहुवर्षीय सडक योजनाहरू तोकिएको समयसिमाभित्र पूरा भएन् ।
कार्यालयकाअनुसार मालुङगा– रुद्रबेणी सडक सम्झौताको समय सकिन तीन महिना बाँकी रहँदा ५५ प्रतिशत काम भएको छ । सात महिना समय बाँकी रहेको रत्ने–सुन्तलाबारी पर्यटकीय सडकको निर्माण कम्पनीले काम छाडेर हिँडेको छ ।
बहुवर्षीय ठेक्कातर्फकै गल्याङ्–चापाकोट, कोल्मा–ज्यामिरे, दरौ–आरुचौर, बायटारी–सेतिबेनी, किनारेभञ्ज्याङ–धुर्काेट, जिमुवा–पाखिचौर, पिपलटारी–बोदीभञ्ज्याङ्, अर्जुनचौपारी–रापाकोट, वालिङ–हुवास रबलमाटा–खिलुङ् सडकको सम्झौता समय सकिनलाग्दा निर्माणको काम सुस्त छ ।
ग्रामीण भेगका सडक कालोपत्रे भएसँगै स्थानीय उत्साहित भएका छन् । हिउँदमा खपीनसक्नु धुलो र वर्षातमा पानी पर्नासाथ हिलोमा हिँड्न बाध्य उनीहरुलाई सकडले सहज बनाएको छ । पक्की सडक बनेपछि स्थानीयस्तरमा उत्पादित वस्तु निर्यातमा सहज हुने भएपछि स्थानीय कृषि, व्यापार व्यवसायमा स्वरोजगार र आर्यआर्जनमा जोडिन थालेका छन् ।
गएको आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण गर्ने भनिएकोमा पौवेगौडे र रातोखोला २ पुल निर्माण सम्पन्न भएका छन् भने अन्य पक्की पुल निर्माणको क्रममा रहेको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार गएकै वर्ष जिल्लामा ५ वटा झोलुङे पुल निर्माण भएका छन् ।
आर्थिक वर्ष २०८१-०८२ मा १ अर्ब ३८ करोड ३ लाख ३४ हजार कुल बजेटमा कार्यालयले १ अर्ब १ करोड १२ लाख ६५ हजार पुँजीगत खर्च गरेको छ । जिल्लामा प्रदेश सरकारबाट प्राप्त पुँजीगत खर्च ८० दशमलब २० प्रतिशत हुँदा पूर्वाधारको ७३ दशमलब २६ प्रतिशत वित्तीय प्रगति छ । वित्तीय प्रगति कमजोर भएको कार्यालयले समयमै काम नसक्दा ३६ करोड ९० लाख पुँजीगत बजेट फ्रिज भएको छ ।




