बुटवल । तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनबारे गठित आन्तरिक छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
सहकारीको समग्र लेखापरीक्षणसहितको प्रतिवेदन र ऋण प्रवाहमा भएका बद्मासीको अध्ययन गरी तयार प्रतिवेदन सहकारीका कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्य र आन्तरिक छानबिन समिति संयोजक एवं सहकारीका सल्लाहकार बेलप्रसाद शर्मालाई बुझाइएको हो । अडिटरहरु योगेन्द्र बास्तोला र विवेक चौधरीले २८ दिन लगाएर प्रतिवेदन तयार गरेका हुन् ।
अनुसूचीबाहेक ४३० पेजको प्रतिवेदन प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख दिनेशचन्द्र आचार्यलाई बिहीबार हस्तान्तरण गरिने छानबिन समिति संयोजक शर्माले जानकारी दिए ।
‘प्रतिवेदन आजै प्रदेशमा बुझाउँछौं, त्यसपछि उहाँहरु यहाँ आएर विस्तृत जानकारी दिनुहुन्छ ।’–शर्माले भने । छानबिन समितिमा रहेका एक सदस्यकाअनुसार सहकारी ऐन नियम विपरित ८० करोड बढी रकम अनियमित तरिकाले कारोबार भएको, करिब ३० करोड अपचलन भएको र १० करोड बढी हिनामिना (खाए–मासेको ) भेटिएको छ ।
ऋण प्रवाहमा चरम लापरबाही, सफ्टवेयरबाट १३ हजार पटकसम्म अंक र अक्षर ‘डिलिट’
छानबिन समितिकासदस्यका अनुसार सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई धितोबिना नै ऋण प्रवाह गरिएको पाइएको छ । धितो राखेर ऋण दिएको भनिएकाको धितो मूल्यांकन गरिएको छैन । धितो पनि नाम मात्रको देखिइएको लेखा परीक्षणका क्रममा पाइएको छ ।
सहकारीका करिब २ हजार बचतकर्ताको रकम बैंकमा जम्मा नगरी अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा निजी खातामा जम्मा गरेको, करोडौं रकम व्यक्तिगत तजविजमा लगानी गरेको, सहकारीको सफ्टवेयरमा १३ हजार पटकसम्म अंक र अक्षर ‘डिलिट’ गरिएको पाइएको उनको भनाइ छ ।
यस्तै सहकारीको सफ्टवेयर ‘अफ आवर’ अर्थात् कार्यालय बिदा भएपछिको समयमा चलाइएको, ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको र करिब ५० जनालाई विनाधितो ऋण प्रवाह गरिएको भेटिएको सहकारीका शेयर सदस्य कमल शर्मा पौडेलले बताए ।
ऋणका फाइलमा प्रकृया पूरा नगरिएको, १० लाखभन्दा माथिको फाइलमा इञ्जिनियरिङ भेलुयसन गर्नुपर्नेमा नगरिएको पाइएको शर्माले बताए ।
‘धितो राखिएका खातामा पनि मूल्यांकन नभएको, नाम मात्रको धितो देखाइएको छ,’ उनले भने–‘सचिव रामबहादुर थापाले मात्रै ८७ पटक ऋण प्रवाह गरेको पाइयो, जसमा करिब ४३ करोड रुपैयाँ बराबरको ऋण सेवा शुल्कबिना प्रवाह गरिएको छ ।’
ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाई महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको पहिलो साता ‘शून्य’ बनाइएको समेत फेला परेको उनले बताए ।
नक्कली सदस्यहरु बनाएर ऋण लगानी गरेको, ऋण लगानी गरेको ६ महिनापछि सदस्य बनाएकोजस्ता बद्मासी भेटिएको उनले बताए ।
‘६४ लाखको धितो मूल्यांकन गरेर १ करोड १४ लाख लगानी गरेको फाइल भेटियो, यस्ता अरु पनि होलान् ।’–संस्थाका सल्लाहकार शर्माले भने ।
अध्यक्ष र सचिव एक महिनादेखि फरार
सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा एक महिनादेखि फरार छन् । फरार भएपछि पीडित बचतकर्ताले उनीहरुको घर र लुकेको आशंकामा आफन्तको घर समेत घराउ गर्दै आएका छन् ।
असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् ।
तिवारी र थापा दुबै नेपाली कांग्रेसका स्थानीय नेता हुन् । पीडितहरूले उनीहरूलाई गृहमन्त्री नेपाली कांग्रेसको भएकाले संरक्षण गरेको आरोप लगाएका छन् ।
करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी बचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए ।
उनीहरुले ठगी गर्नेहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारबाहीको माग गरेका छन् । सहकारीका अधिकांश पदाधिकारी र सञ्चालक समिति सदस्य नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।
अध्यक्ष तिवारी गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । तर, अन्तिममा उनले टिकट पाएनन् ।
सहकारीका सचिव थापा कांग्रेस तिलोत्तमा नगर समितिका पूर्वसचिव हुन् । सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा नगरपालिका–३ की सभापति हुन् । १३ सदस्यीय सञ्चालक समितिमा तीनजना बाहेक सबै नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।
सहकारीमा एउटै दल निकट र अध्यक्ष पक्षधरहरु हावी भएपछि बदमासी भएको र ऐन, विधिको कुरा उठाउनेहरुलाई सञ्चालकमा आउन रोक्ने गरिएको सेयर सदस्यहरुको गुनासो छ ।
सहकारीका व्यवस्थापक वसन्त पराजुली भने प्रहरी हिरासतमा छन् । पराजुलीले अध्यक्ष र सचिवको निर्देशनमा आफूले काम गरेको बयान प्रहरीलाई दिएका छन् ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पराजुलीले आफूले २ देखि ३ करोड रकम चलाएको र बाँकी रकमका विषयमा जबर्जस्ती तमसुक गर्न लगाएको बयान दिएका छन् । तर, कार्यालयमा नै उनले करिब ९ करोड रकम अपचलन गरेको तमसुक नै भेटिएको छ ।
व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले तीन हप्ताअघि जिल्ला अदालत रूपन्देहीमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।
आफ्नो नाममा रहेको जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले सचिवले जस्तै गर्नसक्ने भन्दै अध्यक्ष र सचिवको घर पनि घेराउ गर्दै आएका थिए । २०५० सालमा स्थापित यो सहकारीको ३८ करोड रुपैयाँ पुँजी रहेको छ ।
अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र सञ्चालक समितिमा एउटै दलका मान्छेको वर्चस्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको आरोप छ ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ ।
यो ऐन बन्नुभन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्नु संघीय कानुनविपरीत छ । तर स्थानीय कांग्रेस नेता तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा छन् ।
अध्यक्ष र सचिव थापाले घडेरी, होटल तथा चुनढुंगा खानीमा लगानी गरेको सेयर सदस्यहरुको दाबी छ । बचतकर्तालाई रकम फिर्ता दिने निर्णयको माइन्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ ।
सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिट्टै पक्राउ पर्ने दाबी गरे ।




