भैरहवा । रगत दिए बिरामी भइन्छ भन्ने मानसिकताबाट अहिले समाज परिवर्तन भइरहेको छ । मानिस जीवित रहनका लागि नभई नहुने पदार्थ रगत हो, तर चिकित्सा क्षेत्रमा जतिसुकै विकास भए पनि रगत कृत्रिम तरिकाले बनाउन सकेको छैन । अहिलेसम्म रगत दानले नै मृत्युको मुखमा पुगेकाहरुको ज्यान जोगिएको छ । आवश्यक व्यक्तिलाई रगतको दिनुपरेमा रक्तदान नै एकमात्र उपाय हो । रुपन्देही पनि ठूलो मात्रामा रगतको आवश्यकता छ, जसको पूर्ति गर्ने काम रेडक्रस रुपन्देहीले गरेको छ । यद्यपी रेडक्रसमा रगत संकलन हुनका लागि रक्तदानका लागि सञ्चालनमा रहेका विभिन्न संस्थाहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ ।
सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सान नहुने भने पनि रुपन्देहीमा एक वर्षको अवधिमा ३४ हजार ७२ युनिट रगत संकलन विभिन्न संघसस्थाबाट भएको छ । ती रगतबाट ३७ हजार ९ सय ९३ युनिट रगत र रगत तत्व भैरहवा र बुटवल रक्त संचारबाट वितरण गरिएको छ । एक वर्षको अवधिमा विभिन्न अस्पताल र जिल्लामा गरी ४५ वटा निकायमा रगत प्रदान गरिएको छ ।
रगत क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अनुसार वर्ष २०८१–८२ को सुरुवातमा मौजदात ४९९ युनिट रहेको थियो । २८ हजार ६६ युनिट संस्थागत रक्तदानबाट संकलित रगत हो भने सोधभर्ना, व्यक्तिगत, विभिन्न अवसरमा रक्तदाताहरुबाट संकलित ६ हजार ६ युनिट र अन्य रक्तसञ्चारबाट प्राप्त ९ सय ८६ युनिट गरी एक वर्षमा ३५ हजार ५ सय ५७ युनिट संकलनतर्फ भएको छ भने वितरणतर्फ ३३ हजार ३ सय १२ रक्त वितरण भएको छ । ९ सय २६ युनिट अन्य रक्त सञ्चार केन्द्रमा पठाइएको छ, ३ सय ६७ युनिट रगत रोग युक्त, भएकोले नष्ट गरिएको छ । यस्तै ८ सय युनिट रगत विभिन्न कारणबाट प्रयोग गर्न अनुपयुक्त रहेको नेपाल रेडक्रस सोसाइटी रुपन्देही रक्त सञ्चार सेवा समितिका संयोजक सुशील गुरुङले बताए ।
उनका अनुसार बुटवल र भैरहवाबाट ४ हजार ४ सय ४१ युनिट रक्ततत्व वितरित भएका छन , यस्तै ३३० युनिट अन्य रक्त सञ्चार केन्द्रमा पठाइएको, १ सय २ वटा विभिन्न कारणबाट प्रयोग गर्न अनुपयुक्त रहेको र १ सय १८ वटा मौजदात रहेको छ । रक्ततत्व संकलनतर्फ भने ३३० वटा अन्य रक्तसञ्चारबाट आएको, १२२ वटा मौजदात रहेको र ४ हजार ५३९ युनिट रक्ततत्व संकलित रगतबाट निर्माण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष रामचन्द्र उपाध्यायले रुपन्देहीमा रगतमा धेरै सहजता भएको बताउँछन् । पुरानो मानसिकताबाट अहिलेको युवा जमातको भाव परिवर्तन भएको छ । रगत दिए बिरामी हुन्छ भन्ने डर त्रास हुन्थ्यो जुन अहिले छैन । जनचेतना र हौसाला बढाउने कार्यले गर्दा अहिले रगत दिनका लागि तम्सिने गरेका छन् । वर्षमा ४ पटक ३–३ महिनामा दिन मिल्छ, रक्तदाताहरुले आफँै कहाँ छ कार्यक्रम भनेर खोज्ने गरेको समेत पाइएको छ ।
रुपन्देहीमा दैनिक रुपमा नै रक्तदानको कार्यक्रम भइरहन्छ र जसले रगतको सहजता भएको छ । प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको रगत तत्वहरुको भरियाको रुपमा काम गर्छ । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ ।
रेडक्रसबाट नै सञ्चालित बुटवल रक्तसचार सेवा केन्द्र र रक्त सञ्चार सेवा इकाई भैैैरहवाका ब्लड बैंकबाट रुपन्देही, गुल्मी, पाल्पा, नवरपरासी, चितवन, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, प्यूठानलगायतका जिल्लाका सेवाग्राहीलाई सेवा दिइरहेको छ । रेडक्रसको प्रविधिक सहयोगमा एक वर्षको अवधिमा सबैभन्दा बढी ५ हजार ५ सय ६६ युनिट रगतदान नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीबाट भएको छ । यस्तै नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखाबाट १ हजार ३ सय ७०, नेपाल स्वयंसेवी रक्तादाता समाज तिलोत्तमा शाखाबाट १ हजार २ सय ४८, तिलोत्तमा रक्तदाता समाजबाट १ हजार १ सय ८०, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिबाट १ हजार १ सय ६ युनिट रगत संकलन भएको छ ।
कुल रगत संकलितमध्ये ५ हजार ३ सय ३७ जना महिला र २८ हजार ७ सय ३५ पुरुष रहेका छन् । रक्तदान गर्नेमा ८४ प्रतिशत पुरुष रहेका छन् भने १६ प्रतिशत महिला रहेको छ । जिल्लामा ७ सय ७ पटक रक्तदान विभिन्न ४ सय ३८ वटा संघसंस्थाले गरेको रक्त सञ्चार सेवा रिपोर्टिङका शाखा प्रमुख बसुन्धरा गौतमले जानकारी दिइन । ‘जन्मदिनको अवसरमा, पुण्यतिथि, विवाह वर्षगाँठ, स्थापना दिवसहरुमा पनि रगतदान कार्यक्रम गर्नेहरु बढ्दो रहेको तथ्याङ्क छ ।’–शाखा प्रमुख गौतमले भनिन् ।
उनका अनुसार संकलित रगतमध्ये ४७ प्रतिशत पुरुषले र ५३ प्रतिशत महिलाले रगतको प्रयोग गरेका छन् । सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुलाई ३७ प्रतिशत अर्थात् १४ हजार १ सय ३१ युनिट रगत खपत भएको छ भने सामुदायिक तथा निजी अस्पतालमा २३ हजार ८ सय ३२ युनिट अर्थात् ६३ प्रतिशत रगत खपत भएको छ ।
रुपन्देहीबाट सबैभन्दा बढी रगत लुम्बिनी प्रादेशिक अस्पतालमा १३ हजार २ सय १९ युनिट वितरण गरिएको छ । यस्तै युनिभर्सल मेडिकल कलेज भैरहवामा ५ हजार ७ सय ७०, गौतमबुद्ध मुटु अस्पताल बुटवलमा ५ हजार ७५, क्रिमशन अस्पताल मणिग्राममा १ हजार ८ सय ६६, सिद्धार्थ बाल तथा महिला अस्पतालमा १ हजार ५ सय ६, देवदह मेडिकल कलेजमा १ हजार १७, भैरहवास्थित भिम अस्पतालमा ८ सय ७८ र सिद्धार्थनगर सिटी अस्पतालमा ८ सय ७८ युनिट रगत वितरण गरिएको छ । यसको अलवा आवश्यकता र मागअनुसार विभिन्न अस्पताल र जिल्लामा रगत वितरण गरिएको छ । जिल्लामा कुनै रगत समूहको रगत अभाव हुँदा पनि बाहिरी जिल्लाबाट रगत लिने र बढी संचिती भएको रगत आवश्यकताको आधारमा पठाइने गरिएको शाखाले जानकारी दिएको छ ।
रगतको अभाव हुन नदिन स्वतःस्फुर्त रुपमा संस्थागत रुपमा पनि रक्तदानको कार्यक्रम हुँदै आएको छ । पहिलाको तुलनामा अहिले रगत दिनेको संख्यामा बढोत्तरी भएको पाइन्छ । रुपन्देहीका विभिन्न क्षेत्रमा दैनिकजसो नै रक्तदानका कार्यक्रम हुने गरेको छ, अहिले रक्तदान गर्न उत्साह बढेको निवर्तमान सभापति दिपक क्षेत्री न्यौपानेले बताए । सामाजिक संस्था, जातीय संस्था, रेडक्रस परिवार, वित्तीय संस्था, धार्मिक संस्था, उद्योग तथा व्यापारिक संस्था तथा प्रतिष्ठान, स्वास्थ्य संस्था, राजनैतिक, पालिका, शैक्षिक, खेलकुद तथा संयुक्त रुपमा पनि रक्तदानका कार्यक्रम आयोजना गर्ने गरेका छन् । यी तथ्याङ्क विगतको वर्षभन्दा धेरै हो ।
दैनिक १०० देखि १२५ प्वाइन्ट रगत सरदरमा जिल्लामा खपत हुने गरेको छ । प्रत्येक पटक डायलाइसिस गर्नेलाई रगतको आवश्यकता पर्छ, त्यस्तै प्रसूति र दुर्घटनाको केसमा पनि बढि रगतको माग हुन्छ, अभाव नहोस् भन्दै सतर्कताका लागि रगत संकलनको काम भइरहेको हुन्छ । दुर्घटना, अधिक रक्तश्राव, प्रसूति व्यथा, मुटु मस्तिष्कलगायत शल्यक्रियामा रगत जरुरत पर्छ । त्यसैगरी थालासेमिया, ल्युकेमियालगायतका रक्त क्यान्सर, हेमोफिलिया तथा रक्तअल्पता जस्ता रगतका समस्यामा पनि तारन्तार रगत जरुरत पर्छ । सीमित स्रोत साधनले रगत व्यवस्थापन गरिरहेको रेडक्रस रुपन्देहीले जनाएको छ । रगत संकलनमा चुनौती भए पनि आपूर्तिमा हरसम्भव प्रयास गरिरहेको उसको दाबी छ ।
शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिडलगायतका पोषक तत्वहरुसँगै अक्सिजनलगायतका आवश्यक पदार्थहरु पु¥याउने काम गर्दछ । रगतले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतको ६० प्रतिशत भाग झोल (प्लाज्मा) हुन्छ । प्लाज्माको ९० प्रतिशत भाग पानी र १० प्रतिशत भाग पोषक तत्व हुन्छ । रगतको बाँकी ४० प्रतिशत भने ठोस पदार्थ (जसमा रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स) हुन्छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले नागरिकलाई रगतको सहजीकरणका लागि निशुल्क रगतको व्यवस्था गरेका छ । रुपन्देहीका १६ पालिका, गुल्मीका ८ वटा, अर्घाखाचीको ३, पाल्पाको ४, नवलपरासीको १ र कपिलवस्तुको १० वटा पालिकासँग निशुल्क रगत सम्झौता भएको छ । नागरिकले रगत आवश्यकता परेको बेला रक्तसञ्चार केन्द्रमा आएर परिचय पत्रको आधारमा निःशुल्क रगत पाउने गरि सम्झौता भएको छ । यि पालिकाका सेवाग्राहीले रगतको पैसा तिर्नपर्दैन ।
गत आर्थिक वर्षमा यि पालिकाहरुबाट १२ हजार ४ सय १४ युनिट रगतको रक्त तत्व जाँचमा लाग्ने सेवा शुल्क रेडक्रसलाई दिएको छ भने १४ हजार १ सय ३१ युनिटको प्रदेश सरकारले निःशुल्क गरेको छ । ११ हजार ४ सय ४८ युनिटको परिक्षण शुल्क भने स शुल्क तिरेर सेवाग्राहीले लिएका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले लामो समयदेखि रक्तदाता बढाउने अभियान चलाउँदै आएका छन् । उनकै सक्रियतामा अहिले सबै भन्दा बढि रगतदान यहाँ भएको छ भने रक्तदाताहरु समेत थपिएका छन । रगतको क्षतिलाई कसरी हुन्छ न्यून गर्दै रक्त सञ्चारले रुपन्देहीमा रगत लिए वापत केहीले निःशुल्क पाउने र केहीले पैसा तिर्नुपर्ने अवस्था छ यसलाई स्रोत व्यवस्थापन गरि एकरुपता दिनका लागि पनि पहल गर्न जरुरी रहेको चौहानले बताए ।




