पाल्पा । तानसेन नगरपालिका वडा नंं. १० तेल्घाका महिलाहरुले बाजा बजाएरमात्र लाखौ रुपैयाँ कमाउने गरेका छन् । तीन वर्षदेखि सुरु गरेको बाजा बजाउने व्यवसायले महिलाहरुको आयआर्जनदेखि आत्मविश्वास, हौसल्ला र इज्जत बढाएको छ । ६० वर्षको उमेरका महिलाहरु युवाजस्तै फुर्तिलो जोशमा बजा बजाउन खटिएका छन् ।
बाजा बजाउने टिमको नेतृत्व गरेकी छन्, हजुर आमा पुस्ताकी ६० वर्षीया तारादेवी बस्याल । तारा देवीलाई साथ दिएकी छन्, ६० वर्षकै कमला बस्यालले । उनीहरुमा उमेर घर्केको महशुस नै छैन । युवाको जस्तै जोश जागर, साहस र हिम्मतकासाथ विगत तीन वर्षदेखि सामाजिक चुनौतीहरुलाई चिर्दै बाजा बजाउने काममा सक्रिय भएका छन्, तानसेन नगरपालिका वडा नं. १० का महिलाहरु ।
६० वर्षीया तारादेवी बस्यालको नेतृत्वमा कमला बस्याल, मञ्जु पन्थी, मनकुमारी न्यौपाने, भगवती भुसाल, तारा भट्टराई, सुष्मा बस्याल, सविता अधिकारी, खुमा पंगेनी, मञ्जु कंडेल, मीरा न्यौपाने र निरला शर्मासहित १२ जना महिलाको टोलीले बाजा बजाउँदै आएका छन् । पाल्पाका अधिकांश, कार्यक्रम, विवाह, महोत्सव, वार्षिकोत्सवदेखि विभिन्न मेला समारोहमा महिला बाजाको माग बढेपछि उनीहरुमा भ्याई नभ्याई भएको छ । बाजा बजाउने महिलाहरुले एउटै पोशाक बनाएका छन् । महिलाले धंकुरी, कर्नाल, सनाइ, मरचुङ्गा, बजाउँछन्, दमाहा, ढोलक, ट्याम्को, झालीले सबैलाई आकर्षित बनाउने गरेको छ ।
तानसेन तेल्घाको महिला बाजा जिल्लाभित्रमात्र होइन, गुल्मी र अर्घाखाँची रुपन्देही, स्याङ्जासम्म चर्चित बनेको छ । बाहुन समुदायका महिलाहरु मिलेर विगत ३ वर्षदेखि बाजा बजाउने काम गर्दै आएका छन् ।
महिला बाजा समूहले एउटा कार्यक्रमको १५ हजारदेखि ६० हजारसम्म पारिश्रमिक लिने गरेका छन् । बाजा बजाउँदा वार्षिक रुपमा समूहमा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बाजा समूहकी अध्यक्ष तारादेवी बस्यालले बताइन् ।
घरधन्दाको कामले मात्र जीवन बिताउन कठिन भएपछि गाउँका महिलाहरुले सरसल्लाह गरेर बाजा बजाउन सिकेका हुन् । तेल्घाका महिलाहरुको लागि बाजा बजाउने काम नै मुख्य पेशा भएको छ । बजा बजाउँदा सबैतिरबाट हौसल्ला पाएको, आम्दानी पनि राम्रो भएको, पेशाप्रति खुसी र सन्तुष्टि मिलेको समूहकी उपाध्यक्ष कमला बस्यालले बताइन् ।
सुरु सुरुका दिनमा बाजा बजाउने काममा ब्राह्मण समुदायका महिलाहरु लागेको भन्दै विभिन्न ठाउँ ठाउँमा कुरा काट्ने काम भएका थिए । मानिसले कुरा काटे पनि वेबास्ता गर्दै शुरु गरेको काम छोड्नु हुँदैन भनेर निरन्तर लागेकै कारण तेल्घाका महिलाहरु बाजा बजाउन सफल भएका हुन् ।
निरन्तर मिहेनत र संघर्षको कारण अहिले तानसेन पाल्पाको महिला बाजा भनेर चर्चा कमाएका छन् । चर्चासँगै राम्रो आम्दानी, घरपरिवारको साथ र सहयोग भएपछि महिलाहरुमा कामप्रति हौसल्ला बढेको समूहकी कोषाध्यक्ष मञ्जु पन्थीले बताइन् ।
परिवार, समाज र सरकारको सहयोगकै कारण तानसेनका महिलाहरुमा जोश, जागर र उत्साह बढेको छ, जसको कारण बाजाको माध्यमबाट महिलाहरुको आयआर्जनको बलियो माध्यम बनेको छ ।




