भैरहवा । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएपछि जनउत्थान सहकारीले सदस्यहरुलाई सहकारीको अवस्था विस्तृत रुपमा बुझाउन विशिष्ठ शेयर सदस्यहरुसँग अन्तरक्रिया गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर–१५ स्थित कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीको अवस्था र यसले गरिरहेको काम, अन्य सहकारी जोखिममा पर्नु पर्ने कारण, जोखिम कम गर्न अपनाइएका निति र सहकारीको पारदर्शी अवस्थाबारे सबैलाई जानकारी गराइएको थियो ।
सहकारी क्षेत्रमा देखिएको अविश्वास र अनिश्चितताका बिचमा सदस्यहरूको विश्वास कायम राख्न र पारदर्शिता सुनिश्चित गर्न भएको अन्तरक्रियामा सहकारीले पछिल्लो समयमा सहकारी प्रति अन्योल सृजना भएको र छिमेकी सहकारीप्रति जनताको विश्वास टुटिरहेको बेला जनउत्थानलाई केही असर नपरी उत्कृष्ट काम गरेको सहभागीहरुले प्रशंसा गरे ।
कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले सहकारीको अवस्था, जोखिम न्यूनीकरण र समस्या समाधानका बारेमा जानकारी गराएका थिए । सबै क्षेत्रका सदस्यहरुबाट चयन गरी विशिष्ट सदस्यहरुको सहभागितामा भएको अन्तरक्रियामा सदस्यहरुले उठाएका जिज्ञासा प्रष्टाइएको थियो । उनले जनउत्थानलाई बुझेर एक वर्षमा ४ हजार ९६ सदस्य थपिएको बताए । ‘यस आर्थिक वर्षको दूई सातामा मात्रै ३ सय ५२ जना सदस्य थपिएका छन्, यो भनेको हामी उत्कृष्ट नै छौं भन्ने उदाहरण हो, हामीलाई विश्वास गरेर नै यो नतिजामा संस्था पुगेको छ ।’–उनले भने ।
थापाले संस्थाको उत्कृष्टताले नै विभिन्न अवार्डहरु पाएको बताउँदै नेपालका ३० हजार सहकारीमध्ये जनउत्थान अग्रपंक्तिमा रहेको दाबी गरे । हामीले सेवा दिने भावले गर्दा नै ऋणमा कुनै सेवा शुल्क लिदैनौ, दश हजारभन्दा बढीको शेयर सदस्य राख्दैनौ र पारदर्शी ढंगले काम गर्दा सबैको विश्वासले गर्दा अहिले राज्यलाई २ करोड ५४ लाख कर तिरेर सदस्यहरुलाई १० प्रतिशत शेयर लाभांस वितरण गर्न लागेको उनले बताए ।
सहकारीका अध्यक्ष गिरी पुन मगरले हरेक सदस्यले सहकारीको बारेमा दैनिक रुपमा जानकारी राख्नु पर्ने र सञ्चालक, बचत कर्ता तथा ऋणीहरुले समेत आ–आफ्नो दायित्व सम्झेर हरेक कुराको निगरानी गर्नुपर्ने बताए ।
प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जगेश्वरदेवी चौधरीले पछिल्लो समय केही सहकारीले सञ्चालक र व्यवस्थापक मिलेर जनताको पसिनाको धन कुम्ल्याएको घटनाले आफू दुःखि भएको र त्यस घटनालाई केही व्यक्तिहरुले राजनीतिक आड–भरोसा दिएको प्रति भत्सर्ना गरिन् ।
गल्ति गर्नेले कठघरामा उभिएर सजाय भोग्नुपर्ने बताउँदै जनउत्थान सहकारीले आफूलाई अब्बल बनाउँदै उदाहरणीय रहेको बताइन ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी अयोध्याप्रसाद भण्डारीले सहकारी ऐन र कार्यविधिको पालना गरी मात्र सहकारी संस्थाहरू सुरक्षित र विश्वसनीय बन्न सक्ने धारणा राखे । उनले जनउत्थान सहकारीलाई देशकै नमूना संस्था भएको बताउँदै सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न सुझाए । साकोसका संस्थापक अध्यक्ष मेखराज पुन, निवर्तमान अध्यक्ष ज्ञानु पौडेललगायतले बोल्दै सहकारी शिक्षाले सहकारी प्रतिको विश्वास अझ बटुलेको र जनताको घरघरमा पुगेको सहकारीले सदस्यको मन जितेको बताएका थिए ।
सहकारीका उपाध्यक्ष सरु रानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव अन्जु जैंसीले गरेकी थिइन । सहकारीको २०८२ असार मसान्तसम्मको अवस्थामा कुल सम्पत्ति ४ अर्ब ४४ करोड, शेयर पुँजी २८ करोड ४३ लाख, बचत संकलन ३ अर्ब ४४ करोड, ऋण लगानी ३ अर्ब ३३ करोड रहेको छ ।
३९ हजार २ सय ३७ सदस्य रहेको संस्थामा जगेडा कोष ४० करोड ४७ लाख, कर्जा जोखिम कोष १२ करोड ५० लाख, तरलता ९० करोड ९३ लाख रहेको छ ।




