बुटवल । राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को परीक्षाको नतिजामा ३.९६ जीपीए ल्याएका अर्घाखाँचीका राजेश पौडेल नगदसहित सम्मानित भएका छन् । बुटवलको क्यानन् सेकेण्डरी स्कुलमा विज्ञान संकाय पढेका पौडेललाई विद्यालयले नगद १५ हजारसहित सम्मान गरेको हो ।
३.९६ जीपीए यो वर्षको नतिजाको सर्वाधिक अंक हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले राजेश नेपाल प्रथम भएको विद्यालयको दाबी रहेको बताए ।
अध्यक्ष पौडेलले विद्यार्थीलाई विभिन्न क्षेत्रमा इन्टनसिपमा पठाएर पढ्दै कमाउँदै गर्ने वातावरणका लागि संस्थाले पहल गरिरहेको बताए । विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले विज्ञान विषयका २९ जनामध्ये उत्कृष्ट नतिजासहित शतप्रतिशत उत्तीर्ण तथा व्यवस्थापन विषयमा १२० जनामध्ये ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए । उनले संस्थाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा योजनाबद्ध ढंगले काम गरिरहेको बताए ।
सम्मानित विद्यार्थी राजेशले कलेजको विद्यार्थीमैत्री वातावरणले उत्कृष्ट नतिजा ल्याएको उल्लेख गर्दै स्नातक तहमा इञ्जिनियरिङ विषय नेपालमै पढ्ने निर्णय गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, विद्यालयका सह–प्राचार्य विष्णुप्रसाद न्यौपानेलगायतले आफ्ना धारणा राखेका थिए ।




