बुटवल । नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुलाई मणिग्राममा बिहीबार स्वागत गरेका छन् ।
उक्त अवसरमा बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेयले नवीनले शैक्षिक क्षेत्रमा मात्र नभई अनुशासन, खेलकुद, संस्कार, संस्कृति र उद्घोषण कलामा उत्कृष्ट रहेको चर्चा गरे । उनले नवीनका विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनको अवसर दिने प्रतिबद्वता व्यक्त गर्दै नवीनका उत्पादनले देशको उच्च पदस्थ कर्मचारी र देश हाक्न सक्ने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे ।
नवीन विद्यार्थी क्लबका अध्यक्ष तथा सिभिल इञ्जिनियरिङ कक्षा १२ का विद्यार्थी सुवास पौडेलको अध्यक्षतामा कानुन समूह कक्षा १२ का विद्यार्थी मनिषा खड्का, हविवा खातुन र विज्ञान समूह कक्षा १२ का विद्यार्थी इशान गैरेको संयुक्त सञ्चालनमा सम्पन्न कार्यक्रममा २०८१ को एसईई परीक्षामा ४ जीपीए ल्याउन सफल विद्यार्थी आर्यन पौडेललाई प्रोत्साहन स्वरूप एकाउन्न हजार नगद, २०८२ को कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन समूहबाट ३.९४ जीपीए ल्याई नेपालमा द्वितीय र बुटवलमा प्रथम हुन सफल माधव खनालका अभिभावकलाई एक्काइस हजार प्रोत्साहन स्वरूप नगद रकम र विज्ञान समूहबाट ३.९४ जीपीए ल्याउन सफल नेपालमा तृतीय हुन सफल राजु यादवलाई एमबीबीएस तयारीको लागि विद्यालयबाट अठार हजार र विज्ञान समूहका शिक्षकहरुबाट तेतिस हजार गरी एकाउन्न हजार नगद पुरस्कार बुटवल उप–महानगरपालिकाका प्रमुखले प्रदान गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयमा ७ वटै प्रदेशका ५८ वटा जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने गरेको, यसै वर्षबाट सिनियर डिभिजनतर्फ एनसीसीमा नेपाली सेनाबाट छनौट भएको, विद्यालयमा हाल पाँच हजार विद्यार्थी अध्ययन गर्ने गरेको, यसै शैक्षिक सत्रमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन, सिभिल इञ्जिनियरिङ, कानुन र शिक्षा समूहमा बाह्रसय आठ विद्यार्थीहरु भर्ना भएको बताए ।
कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनाल, कक्षा १२ व्यवस्थापन समूहका विद्यार्थी सन्तोष के.सी., कानुन समूह कक्षा १२ का विद्यार्थी अमृत बेवारेलगायतले मन्तब्य व्यक्त गरेका थिए । कानुन समूहका विद्यार्थीहरुले रोचक नाटक प्रस्तुत गरेका थिए ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सांस्कृतिक संयोजक अर्जुन शाहको नेतृत्वमा दर्जनौ रोचक नृत्यहरु प्रस्तुत गरेका थिए ।




