मोहन कुँवर
पछिल्लो समय अधिकांश विद्यार्थी भाईबहिनीहरु १२ कक्षाको अध्ययन पूरा गरिसकेपछि उच्च शिक्षाको लागि वैदेशिक अध्ययनको यात्रालाई नै प्रमुख गन्त्यव्यको रुपमा महत्त्व दिएको पाइन्छ । देशमा बढ्दो बेरोजगारीको समस्या साथै श्रमको उचित मूल्याङ्कनको अभाव र पुरानो शिक्षाप्रणालीले गर्दा पनि अधिकांश विद्यार्थी तथा अभिभावकहरुको दृष्टिकोणमा उच्च शिक्षाको लागि विदेशमा गरिएको अध्ययनले नै भविष्य सुरक्षित हुन्छ भन्ने महसुस गरेको पाइन्छ ।
वर्षौँ समय लगाएर उच्चतहको शैक्षिक प्रमाणपत्र हात पारे पनि आफूले सोंचे जस्तै जागिर पाउन नेपालमा कठिन हुने गर्दछ । कैयौँ व्यक्तिहरुमा क्षमता र चाहाना हुँदाहुँदै पनि खाडी मुलुक तिर जान बाध्य भएको समस्या हिजो पनि थियो र आज पनि उस्तै नै रहिरहेको छ । देशमा बढ्दो राजनैतिक अस्थिरता, नेताहरुको खराब आचरण, बढ्दो शैक्षिक बेरोजगार, व्यवहारिक तथा प्राविधिक शिक्षाको अभाव, आधुनिक कृषि प्रणाली तथा पर्यटन क्षेत्रको सेवा सुविधामा समस्यालगायत देशमा उद्योग कलकारखानाको विकासको वृद्धिमा देखिएको ढिला सुस्तिले गर्दा पनि अहिलेका भाइबहिनीहरुमा देशमै बसेर आफ्नो भविष्य सुरक्षित गर्न नसकिने होकि भन्ने सोचले गर्दा पनि वैदेशिक अध्ययन प्रमुख गन्तव्यको रुपमा उदयमान भएको देखिएको छ ।
देशमा आर्थिक विकाश तथा सामाजिक विकासको योजना बनाएपनि राजनैतिक अस्थिरताले गर्दा पूर्णरुपमा विश्वास गर्न नसकिने अवस्था उच्च तहका नेताहरुको दोहोरो चरित्र र अवसरवादी व्यवहारले प्रष्ट पारेको देखिन्छ । चुनावको बेला विकास र समृद्धिका जस्तासुकै घोषणापत्र सार्वजनिक गरेता पनि उक्त घोषणापत्रको कार्यान्वयनमा कुनै पनि प्रयास गरेको देखिदैँन, तर झुटा आश्वासन दिन भने पछि पर्दैनन् । गत आर्थिक वर्षमा नेपालबाट विदेश अध्ययन गर्न जानेहरूसँगै १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैङ्कको विवरण छ । त्यो अघिल्लो वर्षको भन्दा करिब एक चौथाइको वृद्धि हो ।
पछिल्ला दुई वर्षमा त्यस्तो कारोबार एक खर्ब रुपैयाँभन्दा माथि रहेको केन्द्रीय बैङ्कको विवरणमा देखिन्छ । पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै सो शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढिरहेको पछिल्लो तथ्याङ्कले प्रष्ट पार्दछ । आगामी वर्षहरुमा यो क्रम अझ बढ्ने सम्भावना उच्च रहेको छ ।
नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता बढ्दै गएको, आर्थिक विकासका लागि राज्यस्तरबाट प्रभावकारी रुपमा काम हुन नसकेको, रोजगारीको नयाँ अवसर सिर्जना नभएको लगायत अन्य विभिन्न कारणहरुले गर्दा पनि अध्ययनका नाममा नेपालबाट बाहिरिने व्यक्तिहरुको संख्या दिनानुदिन बढ्दै गएको सरकारी प्रतिवेदनले देखाएको छ । पछिल्लो समय विद्यार्थी भिसामा मात्र नभई कामको लागि खाडी मुलुक देखि युरोपतिर जाने नेपालीहरुको लहर उस्तै नै रहेको छ । दिनहुँ त्रिभुवन विमानस्थलमाबाट विभिन्न मुलुकमा जाने हजारौँ नेपालीहरुको संख्याले पनि विभिन्न राजनीतिक दलका नेताहरु र देशका उच्च तहमा रहेका व्यक्तिहरुलाई एकपटक गम्भीर रुपमा सोंच्न बाध्य पारेको छ । विदेशबाट दिनहुँ कैयौँ नेपालीहरुको मरेका लासहरु आएका हुन्छन्, तर पनि सरकार सम्पूर्ण कुराहरु थाहा पाएर पनि थाहा नपाए जस्तै गरेर लाचार बनिरहेको हुन्छ । घरमा बुढा भएका बुवाआमा अनि श्रीमती र साना बालबालिकाहरुको भविष्य सहज बनाउन परदेश पसेका परदेशिहरुको वास्तविक समस्या र पीडा बुझ्ने सरकार न हिजो थियो न आज छ ।
विदेशको उच्च शिक्षाले आफ्नो छोराछोरीहरुको भविष्य सुरक्षित हुन्छ भन्ने विश्वासले गर्दा पनि अभिभावकहरुले चर्को ब्याजमा लाखौँ ऋण खोजेर भएपनि अध्ययनको लागि जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत अन्य युरोपियन मुलुकमा पठाउने गरेको पाइन्छ । विदेशमा गरिएको उच्च शिक्षाको अध्ययनले छोटो समयमा नै स्वयम व्यक्तिसँगै परिवारको जीवनशैलीमा नै आमुल परिवर्तन ल्याउन सक्छ भन्ने मानसिकताले गर्दा पनि आजभोलि १२ कक्षा पास गरेपछि धेरै विद्यार्थीहरुको सपना नै बाहिर गएर उच्च शिक्षा अध्ययन गर्ने सोच रहेको पाइन्छ । आफ्ना साथीहरुलगायत आफन्तहरुको वैदेशीक अध्ययनपछि जीवनस्तरमा आएको परिवर्तनले गर्दा पनि आजभोलि यो लहर बढिरहेको छ, यद्यपि विदेशिक अध्ययन सोंचेजस्तै र अरुको प्रगति देखे जस्तै आफूले आत्मसाथ गर्दा भने त्यति सहज हुँदैन । सानो उमेरमा नै परिवार छोडेर परदेशमा एक्लै बस्नुको आफ्नै पीडा हुन्छ त्यसैमाथी महङ्गो कलेज शुल्क, होस्टेल, खाना तथा विभिन्न खर्चहरु पनि उस्तै महङ्गो हुने र ब्याजमा खोजेको ऋणको दबाब पनि हुने भएकोले कठिन अवस्था र चुनौतीको सामना पनि गर्नुपर्ने हुन्छ । सुरुमा भाषागत समस्या तथा कामको अनुभवको अभावले गर्दा पनि केहि असहज हुन सक्दछ साथै काम पाए पनि आफू बस्ने ठाउँ तथा कलेजबाट निकै टाढा हुने तथा कामको समय नमिल्ने पनि हुन सक्दछ । नेपालबाट विदेशजानु अघि जस्तो सपना देखिन्छ तर वास्तविक भोगाइ नितान्त फरक हुने भएको हुनाले पनि केहि विद्यार्थीहरुले आत्महत्या समेत गर्ने गरेको पाइन्छ त्यसैले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानु अघि अभिभावकले पनि आफ्नो सन्तानको मनोवललाई राम्रोसँग बुझि गम्भिर तरिकाले सोचि निर्णय लिन जरुरी देखिन्छ ।
पछिल्लो समय नेपालको आर्थिक , सामाजिक तथा राजनीतिक परिवेशलाई हेर्ने हो भने पनि हरेक व्यक्तिमा राष्ट्रभाव र मातृत्व हुँदाहुँदै पनि देश छोड्न बाध्य भैरहेका छन् । देशमा निजी तथा सरकारी क्षेत्रमा लामोसमयसम्म काम गरिरहेका व्यक्तिहरु पनि पछिल्लो समय जागिर छोडेर विदेश पलायन तिर लागेका छन र यसको प्रमुख कारण आर्थिक पाटो नै रहेको देखिन्छ । दैनिकी उपभोग्य वस्तुहरुको चर्को रुपमा मूल्यवृद्धि हुँदै जाँदा पनि सरकारले नागरिकको समस्यालाई बुझ्न नसक्नु नै आजको प्रमुख समस्या रहेको छ । केही निजी तथा सरकारी क्षेत्रका कर्मचारीहरुको मासिक आम्दानीले आफ्नो परिवार पाल्नलाई नै निकै कष्टकर रहेको बढ्दो महङ्गीले प्रष्ट पारेको देखिन्छ । त्यसैले गर्दा पनि आजभोलिका भाइबहिनीहरुले विदेश अध्ययनलाई विशेष प्राथमिकता दिएको देखिन्छ । पछिल्लो समय विदेश अध्ययनको लर्को हेर्दा अबको केहि वर्षमा नेपालमा विभिन्न क्षेत्रमा नयाँ दक्ष जनशक्ति पाउन निकै मुस्किल देखिनेछ । वैदेशिक अध्ययनमा गएर आर्जन गरेका विभिन्न ज्ञान, सीपलाई स्वदेशमा गएर प्रयोग गर्न पनि सरकारले उचित किसिमको पारश्रमिक नदिने डरले अधिकांश विद्यार्थीहरु विदेशमा नै लामो समय बिताउन चाहन्छन्, त्यसैले यस विषयलाई पनि सरकारले विदेश ध्यान दिई स्वदेश मै फर्काएर उचित व्यवस्थापन गर्न जरुरी देखिन्छ ।
विदेशमा अध्ययन गर्न जाने अधिकांश विद्यार्थीहरुले आफ्नो भविष्य मात्र नभएर आफ्ना सन्तानहरुको भविष्य पनि उतै बनाइदिने सोंच राख्ने हुनाले देशमा जनसंख्या मात्र नभएर दक्ष जनशक्तिको पनि कमि हुने देखिन्छ ।
सरकारले यस विषयलाई विशेष प्राथमिकता नदिने हो भने अबका केही वर्षहरुमा नेपालका विश्वविद्यालयदेखि अन्य कलेजहरुमा विद्यार्थीहरुको न्यून उपस्थिति हुने निश्चित देखिन्छ, साथै भएका विद्यार्थीहरुलाई अध्यापन गराउने शिक्षकहरुको माग संख्या पनि अपुग हुने निश्चित जस्तै देखिन्छ । शिक्षा क्षेत्र मात्र नभई स्वास्थ्य क्षेत्रलगायत अन्य क्षेत्रमा पनि दक्ष जनशक्तिको अभाव हुने देखिन्छ्।यसैगरी देशमा भएका युवा जनशक्ति विदेश पलायन हुने अनि विदेशमा आर्जन गरेका ज्ञान तथा सीप भएका नागरिकहरुलाई स्वदेशमा फर्काएर प्रयोग गर्न सकिएन भने देशको भविष्य र अब आउने पुस्ताहरुको लागि कति सम्म चुनौती हुन्छ भन्ने विषयलाई सरकारले एकपटक गम्भीर रुपमा सोंच्ने होकि !!
सत्यवती–२, चेहेमी गुल्मी
हाल ओसाका जापान




