२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूपन्देहीका ३४ सहकारीलाई प्रभु म्यानेजमेन्टले दिएन चार करोड ३५ लाख

रूपन्देहीका ३४ सहकारीलाई प्रभु म्यानेजमेन्टले दिएन चार करोड ३५ लाख

लामो समयसम्म ठूलो रकम भुक्तानी नपाउँदा संस्था सञ्चालन, नाफा आर्जन र सहकारीको विश्वसनियतामा गम्भीर असर पुगेको सहकारीका सञ्चालकहरुको भनाइ छ।

रूपन्देहीका ३४ सहकारीलाई प्रभु म्यानेजमेन्टले दिएन चार करोड ३५ लाख

रूपन्देहीका ३४ सहकारीलाई प्रभु म्यानेजमेन्टले दिएन चार करोड ३५ लाख

लामो समयसम्म ठूलो रकम भुक्तानी नपाउँदा संस्था सञ्चालन, नाफा आर्जन र सहकारीको विश्वसनियतामा गम्भीर असर पुगेको सहकारीका सञ्चालकहरुको भनाइ छ।

रूपन्देहीका ३४ सहकारीलाई प्रभु म्यानेजमेन्टले दिएन चार करोड ३५ लाख
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • बुटवल । रुपन्देहीका ३४ वटा सहकारी संस्थाले प्रभु म्यानेजमेन्टबाट ४ करोड ३५ लाखभन्दा बढी रकम एक वर्षभन्दा बढी समयदेखि भुक्तानी पाएका छैनन् । 

    जिल्ला सहकारी संघ रुपन्देहीले गत असार २३ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार जिल्लाका विभिन्न पालिकाहरुमा सञ्चालित ३४ सहकारी संस्थाले २०८१ असार अघिदेखि पाउनुपर्ने ४ करोड ३५ लाख ६ हजार २५३ रुपैयाँ पाएका छैनन् । 
    प्रभु रेमिटान्स कम्पनीसँग  सम्झौता गरेका सहकारीहरुले आफ्‌नो खाताको रकम सेवाग्राहीलाई तत्कालै भुक्तानी गरे पनि प्रभु म्यानेजमेन्टबाट लामो समयसम्म भुक्तानी नपाउँदा संस्था सञ्चालनमा समस्या, नाफा आर्जन गर्न नसकेर आर्थिक नोक्सानी र सहकारीको विश्वसनियतामा गम्भीर असर पुगेको सहकारीका सञ्चालकहरुको भनाइ छ । 

    सहकारीहरुले अधिकतम ५८ लाख ४८ हजारदेखि न्यूनतम एक लाखसम्म पाउनुपर्ने देखिएको छ । प्रभु म्यानेजमेन्टका अध्यक्ष  प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका नेता देवीप्रकाश भट्टचन हुन् । लामो समयसम्म हजारौं सर्वसाधारणले बचत गरेको रकमबाट भएको करोबारको भुक्तानी रोक्नु अत्यन्त गैरजिम्मेवार र अवैधानिक काम भन्दै यो सहकारी संस्थाप्रति गरिएको नियोजित ठगी भएको सहकारी सञ्चालकहरुको भनाइ छ । 

    सबैभन्दा बढी मर्चवारी गाउँपालिकाको जनकल्याण बचत तथा ऋण सहकारीले ५८ लाख ४८ हजार ७८७ रुपैयाँ भुक्तानी पाउनुपर्ने छ । 

    यस्तै तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारीले ३९ लाख ५६ हजार ६०० रुपैयाँ, शुद्धोधनको कृषक हित बचत तथा ऋण सहकारीले ३७ लाख १७ हजार ४३८ रुपैयाँ, तिलोत्तमाको नवदुर्गा बहुउद्देश्यीय सहकारीले ३१ लाख ७८ हजार १९४ रुपैयाँ र ओमसितयाको टुगा आस्था सहकारीले २७ लाख ४६ हजार ७४३ रुपैयाँ भुक्तानी पाउन बाँकी छ । 

    देवदहको आफन्त सहकारीले २९ लाख ६८ हजार ६६१ रुपैयाँ, देवदहकै कोलिय देवदह सहकारीले २५ लाख ८८ हजार ९४८ रुपैयाँ, कोटहीमाइको धनलक्ष्मी सहकारीले २० लाख ८ हजार ९०१ रुपैयाँ, तिलोत्तमाको पल्लवी सहकारीले १३ लाख २० हजार ७१८ रुपैयाँ र तिलोत्तमाको सबैको बचत तथा ऋण सहकारीले ७ लाख ९७ हजार २७९ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।    
    भुक्तानीका लागि सहकारी संस्थाहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला सहकारी संघ, प्रभु म्यानेजमेन्टसँग पटक–पटक धाए पनि रकम पाउन नसकेको कृषकहित बचत तथा ऋण सहकारीका अध्यक्ष शंकरप्रसाद गौतमले बताए । 

    ‘सहकारीले सेवाग्राहीलाई भुक्तानी गरेको रकम रेमिटान्स कम्पनीले पछि बैंक खातामार्फत् भुक्तानी गर्दै आएको थियो, तर प्रभु म्यानेजमेन्टले आ.व. २०८०–८१ बाट भुक्तानी गरेको छैन,’ गौतमले भने–‘२०८१ असारभन्दा अघिकै रकम हामीले पाएका छैनौं, अनलाइन सिस्टम पनि बन्द छ ।’ सहकारीका सदस्यहरुको रकमबाट भुक्तानी गरिएको रकम कम्पनीबाट फिर्ता नपाउँदा संस्था सञ्चालनमा समस्या आएको छ । 

    प्रभु म्यानेजमेन्टको काठमाडौं कार्यालयमा पुगेर कर्मचारीसँग कुरा गर्दा सञ्चालकहरुबिच लेनदेनको विवादले रोकिएको हुँदा विवाद मिलेपछि भुक्तानी हुने आश्वासन पाए पनि  नपाउँदा संस्था सञ्चालनमै समस्या आएको जनकल्याण सहकारीका अध्यक्ष फूलमान पटेलले गुनासो गरे । 

    ‘जिल्ला प्रशासन, सहकारी संघ र प्रभु म्यानेजमेन्टको काठमाडौं अफिसमा धायौं तर पाउनुपर्ने रकम नपाउँदा संस्था चलाउन कठीन भइरहेको छ,’ पटेलले भने–‘शेयर सदस्यहरुले यत्रो ठूलो रकम लामो समयसम्म किन आएन भनेर जवाफ माग्छन्, हामीले जवाफ दिन सकेको छैनौं ।’

    सबैको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतराज भुसालले  सहकारीको रकम रोक्नु अत्यन्त गैरजिम्मेवार र अवैधानिक काम भन्दै योसहकारी संस्थाप्रति गरिएको नियोजित ठगी भएको बताए । ‘यस विषयमा सम्बन्धित निकायले जाँचबुझ गरी यथाशीघ्र सहकारी संस्थाहरुको रकम भुक्तानी हुनुपर्छ,’ भुसालले भने –‘राजनीतिक पहुँचका आधारमा सर्वसाधारणको रकममाथि खेलवाड गर्न पाइदैन ।’ 

    प्रभु म्यानेजमेन्टका सहायक लेखापाल दिपेश तामाङले प्रभु मनि ट्रान्सफरबाट प्राप्त गर्नुपर्ने रकम प्राप्त नभएको हुँदा सहकारीहरुलाई भुक्तानी गर्न नसकिएको स्वीकारेका छन् । 

    ‘कम्पनीका पूर्व सञ्चालक तथा हाल प्रभु मनि ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचनले तिर्नपर्ने रकमलगायत अन्य दायित्व समेत भुक्तान गर्नु भएको छैन, भट्टचनलाई रकम तिर्न, बुझाउन ताकेता गरिरहेको हुनाले निजबाट रकम प्राप्त गर्नासाथ यथाशिघ्र सहकारी संस्थाहरुसँग सम्पर्कमा आउने अनुरोध गर्दछु, साथै निज देवीप्रकाश भट्टचन र प्रभु मनिट्रान्सफरको सर्न्दभमा नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको व्यहोरा अवगत गराउँदछु ।’– प्रभु म्यानेजमेन्टका सहायक लेखापाल तामाङले भुक्तानी दिनुपर्ने सहकारी संस्थालाई  लेखेको पत्रमा भनिएको छ । 

    जिल्ला सहकारी संघका एक पदाधिकारीले सहकारी संस्थाहरुले पाउनुपर्ने रकम भुक्तानीका लागि संघले पहल गरे पनि सम्बन्धित निकायले उदासीनता देखाएको गुनासो गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij