बुटवल । न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूल बुटवलले कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९६ जीपीए हासिल गरी नेपाल प्रथम हुन सफल छात्रद्घय वैभव क्षेत्री र दर्शन भट्टराईसहित उत्कृष्ट नतिजा ल्याउने ४४३ जना विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले आइतबार एक समारोह आयोजना गरी विज्ञान र व्यवस्थापन संकायबाट उत्तिर्ण विद्यार्थीलाई बधाई ज्ञापन तथा आगामी शैक्षिक यात्राको शुभकामनासहित सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड प्रादेशिक कार्यालय बुटवलका प्रमुख रोमाकान्त तिवारीले न्यू होराइजन देशकै उत्कृष्ट शैक्षिक संस्था रहेको बताए । तिवारीले एकेडेमिक सर्टिफिकेटका साथमा विद्यार्थीहरुमा व्यवहारिक ज्ञान सीप, अनुशासन आवश्यक रहेको बताए । देशकै शैक्षिक गुणस्तर कायम गर्न न्यू होराइजनको ठूलो योगदान रहेको समेत उनले चर्चा गरे ।
विद्यालय सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र कसजूले गुणस्तरीय शिक्षाका लागि न्यू होराइजन स्थापना गरेको बताउँदै उत्कृष्ट नतिजामा दिन निरन्तर सफल भइरहेको बताए ।
उनले न्यू होराइजन संस्था अन्तर्गत क्षितिज इन्टरनेशल कलेज कालिकानगर, बुटवल मोडेल कलेज कटैया, न्यू होराइजन कलेज ड्राइभरटोलमा विभिन्न विषयमा गुणस्तरीय उच्च शिक्षा दिइरहेको जानकारी गराउंदै अन्यत्र धाउन नपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले प्लस टु उत्तीर्ण मेधावी विद्यार्थीले स्वदेशमा अध्ययन गरी आफ्नो अब्बलता कायम गर्नु सुझाव दिए । प्राचार्य उपाध्यायले स्नातक तहको पढाइ पनि होराइजनका संस्थामा जोडिएर अगाडि बढाउन पनि सफल विद्यार्थीलाई आग्रह गरे ।
सो अवसरमा बोल्दै विद्यार्थी वैभव क्षेत्रीले सानैदेखि मनमा दृढ इच्छा र लगनशीलताले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । अर्का विद्यार्थी विवेक न्यौपानेले विद्यालयको सुविधासम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा, परिवारको साथ र साथीहरुको प्रोत्साहनले उत्कृष्ट नतिजा आएको बताए । कार्यक्रममा विद्यालयका उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजीव श्रेष्ठ, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ उपाध्याय, अभिभावक कृष्ण पौडेल, न्यू होराइजन लेखा समिति सदस्य अशिस भण्डारी,व्यवस्थापन संकाय संयोजक प्रकाश खनाल लगायतले बोलेका थिए । सो अवसरमा उत्कृष्ट नतिजामा योगदान गरेका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक मिलन रानाले गरेका थिए ।
विद्यालयका विज्ञान संकाय संयोजक प्रकाश पन्थका अनुसार कक्षा १२ को नतिजामा एउटै विद्यालयबाट १३ जनाले ३.९ जीपीए माथि र ६३ जनाले ए प्लस ल्याउने संस्थागत विद्यालयमा न्यू होराइजन मात्रै हो । यसअघि विद्यालयबाट विज्ञान संकायबाट कक्षा १२ को नतिजा अन्तर्गत २०७७ सालमा सुम्निा श्रेष्ठले जीपीए ४ सहित नेपाल प्रथम, २०७९ मा दीक्षा गौतम र ग्रिस्मा पोखरेलले ३.९५ जीपीए, २०८० मा समीप पौडेलले ३.९६ जीपीए सहित लगातार नेपाल प्रथम भएको विद्यालयका विज्ञान संकाय संयोजक प्रकाश पन्थले दावी गरे । २०४७ सालमा स्थापना भएको न्यू होराइजनले विगतका एसएलसी बोर्ड परीक्षामा पनि पटक पटक नेपाल प्रथम भएर राष्ट्रियस्तरमै रेकर्ड तोडेको थियो ।




