पाल्पा । तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीहरुमा गाईजात्रा निकालिएको छ । एक वर्षभित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ । विशेषगरी नेवारी समुदायमा गाईजात्रा परम्परा चलन चल्तीमा रहेको पाइन्छ ।
नेवार समुदायको बसोबास रहेको तानसेन, हार्थाेक, ताहँु भैरवस्थान, पेलावास, रिडी लगायतका क्षेत्रमा परम्परागत रुपमा गाईजात्रा निकालिएको छ ।
नेवारी समुदायमा गाईजात्रा मनाउने विभिन्न मान्यता रहेको पाइन्छ । पाल्पामा कसैले धार्मिक परम्पराअनुसार गाईजात्रा मनाउने गर्दछन् भने केही समुदायमा भने मनोरञ्जनको लागि गाईजात्रा मनाउने गरिएको छ । विगतमा मनोरञ्जनका कुनै आधुनिक साधन र प्रविधि नहुँदा विभिन्न किसिमका जात्राहरु नै मनोरञ्जनका साधनका रुपमा परिचित रहेका थिए ।
गाईजात्रालाई मृत्यु गणनाको दिनको रुपमा पनि लिने गरिन्छ । राजा प्रताप मल्लको छोराको मृत्यु भएपछि रानीले शोक गरिरहेको समयमा अन्य मानिसहरु को मृत्यु भइरहेको छ भनेर रानीलाई सम्झाउन, वर्षभरीमा मृत्यु गणनाको रेकर्ड राख्न गाईजात्रा निकाल्ने परम्पराको सुरुवात भएको संस्कृतिविद निर्मल श्रेष्ठले बताए ।
मृतकको घरपरिवारबाट गाईजात्रा निकाल्दा मृतक व्यक्तिको स्वर्गमा बास हुने मान्यता रहेको छ । गाईजात्राको दिन यमलोकको ढोका खुल्ने भएकोले मृतकको नाममा जनै पूर्णिमाको भोली पल्ट गाईजात्रा निकाल्ने चलन रहेको छ । घरपरिवारबाट मृतकको नाममा राधा कृष्ण तथा विभिन्न भगवानका रुप बनाए मानिसलाई सिंगार पटार गर्ने, निगुर्ण भजन, कृर्तन गर्दै, मृतकको फोटो देखाउँदै आफन्त, ईष्टमित्र, साथीभाइको साथमा तानसेनमा गाईजात्रा निकालिएको हो ।
आर्थिक अवस्था कमजोर भएका घर परिवारबाट भने छोराहरु जोगीको रुप धारण गरेर भिक्षा माग्ने, कसैले सक्कली गाईलाई डो¥याएर हिंड्ने, कसैले काम्ले गाई, बासा, ताहमचा, बनाएर गाईजात्रामा पदर्शन गर्दै आएका छन् । आजकल नेवारी समुदायको सिको गरी अन्य समुदायले पनि गाईजात्रा मनाउँदै आएको तानसेन कैलाशनगरका लक्ष्मण रावलले बताए ।
मानिसको बसाईसराइसँगै परम्परागत कला संस्कृति पनि हराउँदै गएका छन् । नेवारी समुदाय तानसेनबाट विस्थापित हुँदै जाँदा परम्परागत कला संस्कृतिमा पनि कमि आएको छ । विभिन्न बहाना तथा अत्याधिक खर्चको कारण गाईजात्रा विगतका वर्षहरुमा जस्तो चहल, पहल, भिडभाड र रौनक हराउँदै जान थालेपछि नेवा गुठी तानसेन पाल्पाले संयुक्त रुपमा गाईजात्रा निकालेको छ । नेवारी समुदायको परम्परा संस्कृति बचाउन, खर्चलाई व्यवस्थित गर्न गर्न सामूहिक रुपमा गाईजात्रा निकालिएको नेवा गुठी तानसेनका अध्यक्ष प्रकाश गंङ्गोलले बताए ।
तानसेनमा निकालिने सबै जात्राहरु पाल्पा दरबारमा पु¥याउने परम्परा रहेको छ । पाल्पा दरबार तत्कालिन समयमा पश्चिम क्षेत्रको प्रशासनिक केन्द्र रहेकोले तानसेनबाट निकालिने हरेक किसिमको जात्रा दरबारमा पु¥याउने परम्परा रहेको हो । गाईजात्रा लिएर दरबारमा पुग्नेहरुलाई सर्वसाधारणहरुले मिठाई, पानी, फलफूल, दूध खुवाएका छन् ।
सरकारले तानसेन नगरलाई सांस्कृतिक नगरको रुपमा मान्यता दिएको छ । तानसेनमा अधिकांश कला संस्कृति नेवारी र मगरी भेषभुषामा आधारित रहेका छन् । स्थानीय कला संस्कृति जोगाउन, बजार चहल पहल बढाउन नै तानसेन नगरपालिकाले गाईजात्राको दिनमा स्थानीय बिदा दिएको छ । स्थानीय कला संस्कृति जोगाउन, संरक्षण गर्न स्थानीय सरकारको प्रमुख भूमिका र जिम्मेवारी रहन्छ ।




