पाल्पा
गाउँघरमा गरिने असारे रोपाइँको झल्को दिने गरी पाल्पा तानसेनमा रोपाइँजात्रा निकालिएको छ । गाउँघरमा रोपाइँ सकिएपछि मनोरञ्जनको साथै शहर बजारमा रोपाइँ गर्ने तरिका प्रदर्शन गरी रोपाइँजात्रा निकालिने गरिन्छ । तानसेनको साँस्कृतिक परम्परा जोगाउन देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय र तानसेन नगरपालिका वडा नंं. ७ ले तानसेनमा रोपाइँजात्रा प्रदर्शन गरेको छ । देववाणी माविले पहिलो पटक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक मिलेर पञ्चेबाजा र असारे गितको तालमा धान रोप्ने, हल गोरुले सडकमा जोत्ने, बाउसेले खेत मिलाउने र असारे गित गाउँदै तानसेनका सडकमा रोपाइँ जात्रा देखाएको छ ।
विद्यालयले रोपाइँमा गरिने सम्पूर्ण गतिविधिहरु प्रदर्शन गरी गतिलो उदाहरण दिएको छ ।
रोपाइँजात्रामा जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायहरुले साथ दिएका छन् । बालबालिकाहरुलाई धान खेतीसम्बन्धी जानकारी दिलाउन, विगतको कला संस्कृती र परम्परा जोगाउन विद्यालयले रोपाइँजात्रा प्रदर्शन गरेको देववाणी माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए ।
विगतका वर्षहरुमा धरमपानी, बराङ्दी र सापाखुम टोलविकास संस्थाले रोपाइँजात्रा निकाले पनि यस वर्ष देववाणी संस्कृत तथा साधारण मावि र तानसेन नगरपालिका वडा नंं. ७ ले मात्र रोपाइँजात्रा प्रदर्शन गरेका छन् । मल्लकालीन समयदेखि नै तानसेन नगरसँग जोडिएका ग्रामीण भेगका किसानहरुले गाईजात्राको अर्काे दिन रोपाइँजात्रा सञ्चालन गर्ने प्रचलन रहेको छ ।
परम्परादेखि चल्दै आएको कला संस्कृतिलाई जोगाउन सबै पक्षको सहयोग जरुरी रहेको संस्कृतिकर्मी बुद्धिप्रसाद शर्माले बताए ।
विगतका समयमा तानसेन नगरपालिकामा विभिन्न स्थानबाट चारदेखि पाँच वटा रोपाइँजात्रा प्रदर्शन हुने गरेका थिए । यस वर्ष तानसेनमा दुई वटा समूहले मात्र रोपाइँजात्रा सञ्चालन गरेको वडा नं. ७ का वडाध्यक्ष प्रदिप खनालले बताए । रोपाइँजात्रा निकाल्न निकै खर्चिलो र जनशक्ति बढी चाहिने भएकोले कठिन हँुदै गएको वडाध्यक्ष खनालले बताए । तानसेन विभिन्न जात्रा तथा कला संस्कृतिको धनी मानिए पनि पछिल्लो समय विविध कारणले लोप हुँदै गएको छ ।
यस वर्ष तानसेन नगरपालिकाले प्रति रोपाइँजात्रा वापत ५० हजार रुपैयाँ सहयोग गर्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । पर्यटकीय नगरको रुपमा परिचित तानसेनको मौलिक कला संस्कृति लोप हुन नदिन सबैको सहयोग सहकार्य, समन्वय हुन जरुरी देखिन्छ ।




