बुटवल । बुटवल योगीकुटीस्थित मणिमुकुन्द कलेजले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ । कलेज सभाहलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुलाई ब्याचलर तहको अध्ययन नेपालमै गर्न उचित हुने सुझाव दिएका थिए ।
कलेजका सह–प्राचार्य दिवाकर खनालले ब्याचलर तह विदेश होइन स्वदेशमै पढ्न आग्रह गरे । युरोप अमेरिकी राष्ट्रमा ब्याचलर अध्ययन गर्नेहरू उतै पलायन हुने र विद्यार्थीका परिवारमा आमा बुवाको बिचल्ली भएका थुप्रै उदाहरण रहेको खनालले उल्लेख गरे । विदेश पढ्न जानै परे मास्टर डिग्रीका लागि जान उपयुक्त हुने उनको सुझाव थियो ।
कलेजका बीबीएस संयोजक दिनेश पाण्डेले ब्याचलर पढ्दा आफ्नो रुचि, पढाइपछिको रोजगारीको अवसर , शुल्क आदि पक्ष पहिले राम्रोसँग बुझेर मात्र भर्ना हुन् सुझाब दिए । उनले कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विदेश सपना देख्ने कुरा स्वयं विद्यार्थी, घरपरिवार र देशकै लागि राम्रो नहुने चर्चा गर्दै स्वदेशमै सम्भावना देख्न विद्यार्थीलाई आग्रह गरे । पाण्डेले मणिमुकुन्द कलेजमै बीबीएसको पढाइ हुने जानकारी गराउँदै भर्ना र मासिक शुल्कमा कलेजले निःशुल्कदेखि विशेष छुट दिएको बताए ।
विद्यार्थी करिना खत्रीले कलेजको विद्यार्थी मैत्री वातावरण र दक्ष शिक्षकहरुको कारण उत्कृष्ट नतिजा आएको बताइन् ।
अभिभावक धनिराम पराजुलीले मणिमुकुन्दको शैक्षिक पूर्वाधार, शिक्षकहरुको विद्यार्थीमैत्री पढाइ र उत्कृष्ट नतिजाका कारण अभिभावक र विद्यार्थीको रोजाईको शिक्षण संस्था बनेको बताए । व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीले कलेजले उच्च जीपीएलाई मात्रैभन्दा विद्यार्थीको उच्च शिक्षाको करियर र भविष्यलाई विशेष ध्यान दिने गरेको प्रष्ट पारे ।
विद्यार्थीहरुलाई कलेजका प्राचार्य टुकबहादुर क्षेत्री, कलेज सञ्चालक समिति सदस्य उमापति न्यौपाने, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेलगायतले सम्मान गरेका थिए । विद्यार्थीसँगै उनीहरुका अभिभावकलाई पनि सम्मान गरिएको थियो ।




