प्यूठान
जिल्लाको प्यूठान नगरपालिकामा निर्माण गरिएको कृषि तथा पशुपंक्षी सेवा केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तरगतको आर्थिक कोरिडोर कार्यालय बुटवलले निर्माण गरेको उक्त भवन प्यूठान नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सोमबार औपचारिक कार्यक्रम गरी नगरपालिकालाई भवन हस्तान्तरण गरिएको थियो । प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख योगीले यस भवनले सेवा प्रवाहमा सहजता ल्याउने बताए । “नगरवासी किसान तथा कृषिकहरुलाईको लागि आधारभुत प्रयोगशालाको सेवा प्रदान गरिने छ,” उनले भने–“नगरपालिकामा बढी जसो कृषि काम गर्ने किसानहरु रहेकाले भवन निर्माणले किसानहरुका काम सहजता ल्याउने विश्वास छ ।” नगरपालिकावासी किसानहरुको सुरक्षा तथा सहजताका लागि प्रतिबद्ध रहेको समेत उनले बताए ।
कृषि प्रयोगशालाअन्तर्गत माटो परीक्षण, पोखरीको पानी परीक्षण, बालीनाली, तरकारी फलफूलमा लाग्ने किरा परीक्षण र पशु प्रयोगशालाअन्तर्गत पशुको रगत, गोबर, पिसाब परीक्षण, पशुको शल्यक्रिया, कृत्रिम गर्भाधान गर्ने उद्देश्यले उक्त भवनबाट सेवा हुने प्यूठान नगरपालिकाका पशु सेवा शाखाका प्रमुख गिरीराज पौडेले बताए ।
सेमिनार हल, आधारभूत प्रयोगशालासहित १० कोठे भवन सिनर्जी विल्डर्सले २ करोड ४७ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरेको प्रमुख वरिष्ठ पशु चिकित्सक डा.उत्तम आचार्यको जानकारी दिए । रिड आयोजनाको आर्थिक कोरिडोर कार्यालय बुटवलका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.उत्तम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।




