प्रकाश डोटेल
स्याङ्जा
स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ७ बलमाटामा स्थायी घर भई हाल काठमाडौंमा अध्ययन गर्दै आएका एकै परिवारका दिदीभाइले अन्तर्राष्ट्रिय तेक्वान्दो (कराँते) प्रतियोगितामा स्वर्ण र रजत पदक जित्न सफल भएका छन् ।
काठमाडौंको न्युजेन स्पोर्ट एकेडेमीमा तेक्वान्दोको प्रशिक्षण लिँदै आएका रायन अर्याल र रिया अर्यालले क्रमशः स्वर्ण र रजत पदक जित्न सफल भएका हुन् । ३० देशबाट सहभागिता जनाएको प्रतियोगितामा झण्डै २५ हजार खेलाडीलाई पछि पार्दै उनीहरुले उक्त पदक जितेका हुन् ।
बिजेता खेलाडी अर्यालदद्धयसहित अन्यले पदकसँगै मलेसियाको रङ्गशालामा नेपालको राष्ट्रिय झण्डा फहराएर खुसी व्यक्त गरेका थिए । स्याङ्जामा जन्मिएका युवाहरुले राष्ट्रिय खेलकुदका विभिन्न विधामा पु¥याएको चर्चाबिच अर्यालद्धयले तेक्वान्दोमा हासिल गरेको सफलताले स्थानीयस्तरसँगै राष्ट्रिय चर्चा पाएको छ ।
भविश्यमा उनीहरुबाट तेक्वान्दो खेलमा विशेष प्रतिभा देखाउनेमा जिल्लावासीले धेरै आशा गरेका छन् । अर्यालद्धय स्याङ्जाका उद्योगपति, खिलुङ्कालिका एग्रो फार्म, गण्कडी मेडिकल कलेज तथा यूनीभर्शल मेडिकल कलेजका लगानीकर्ता भेषराज अर्यालका छोराछोरी हुन् । ९ वर्षीय रायन ४ र ११ वर्षीया रिया ७ कक्षामा काठमाडौंको एक विद्यालयमा अध्ययनरत छन् ।
साउन २२ देखि २५ गतेसम्म मलेसियाको निलाई इनडोर स्टेडियम नेगेरी सेम्बिलानमा सञ्चालित सातौं हिरोज इन्भिटेशनल (आमन्त्रित) तेक्वान्दो कपमा नेपालको तर्फबाट अर्यालद्धयसहित न्युजेन स्पोर्ट एकेडेमी काठमाडौंका खेलाडीले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भएका थिए ।
इन्डिभिजुयल (व्यक्तिगत) पुम्से (विधा) मा रायन अर्याल (स्याङ्जा) र साम्राज्ञी क्षेत्रीले स्वर्ण पदक जितेका थिए भने फेमिली पुम्सेमा स्वमिक महतरा र विष्णु महतराले स्वर्ण जित्न सफल भएको न्युजेन स्पोर्ट एकेडेमीले जनाएको छ ।
त्यसैगरी प्रतियोगिताकै इन्डिभिजुयल (व्यक्तिगत) पुम्सेमा रिया अर्याल (स्याङ्जा) र स्वमिक महतराले रजत पदक जित्न सफल भएका छन् भने भर्चुअल तेक्वान्दोमा सुप्रेम गुरुङ्ले कास्य पदक जित्न सफल भएका छन् । प्रतियोगितामा ३० देशका ३ सय ५७ समूहका २५ हजार भन्दा बढि खेलाडी प्रतिस्पर्धा गरेका थिए ।




