एक हप्तामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसारयोसँगै गत पुसदेखि हालसम्म ७४ जिल्लाबाट डेंगु पुष्टि हुनेको संख्या दुई हजार ९ सय ५२ पुगेको छ । कुनै बेला वर्षायाममा मात्रै डेंगु संक्रमण फैलिएकोमा अहिले हिउँद र जाडोयाममा पनि डेंगु संक्रमण हुन थालेको छ । यद्यपी वर्षायाममा डेंगु संक्रमण तिब्र हुन्छ । डेंगु संक्रमण भयावह हुने भन्दै विज्ञहरुले नियन्त्रणको पहल थाल्न चेतावनी दिए पनि सरोकारवाला निकायको तयारी सुस्त छ । वर्षा हुने र घाम लाग्ने क्रम जारी रहेकोले डेंगु संक्रमण तिब्र बढाउने लामखुट्टेकोलागि अनुकुल मौसम हो । यो बेला खोज र नष्ट गर्ने अभियान चलाएर संक्रमण नियन्त्रण गर्न सकिन्छ । संक्रमण न्यूनीकरण विस्तार हुन सक्ने भएकाले पूर्वतयारीमा ध्यान दिन आवश्यक छ । तर तहगत सरकारको ध्यान संक्रमण नियन्त्रण गर्ने ढंगले भइरहेको छैन ।
जलवायु परिवर्तनका कारण नेपालको सबै भू–भागमा लामखुट्टेका लागि अनुकुल हुँदै गएको छ । तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुलन बनाउँदै लगेको छ । पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएकोले अब वर्षा र गर्मीयाममा मात्रै डेंगु संक्रमण हुन्छ भन्ने छैन । विज्ञहरूका अनुसार, १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्छ । डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ । विज्ञहरुले मनसुन सुरु हुनासाथै खोज तथा नष्ट अभियान व्यापक बनाउन सुझाव दिएको भए पनि वास्ता गरिएको छैन । लार्भा अवस्थामै नियन्त्रण गर्न ध्यान दिने हो भने संक्रमण दर नियन्त्रण गर्न सकिने भए पनि तहगत सरकारको ध्यान नजानु गलत छ । खोज र नष्ट अभियान स्थानीय तहले गर्न सक्छन् । स्थानीय तहले टोल समिति परिचालन गरी खोज र नष्ट गर अभियान चलाउन सक्छन् । डेंगु फैलिए पनि खोज र नष्ट गर अभियान देखावटी हुने भएकाले अझै अभियान चलाउन ढिलाइ भइरहेको छैन ।
एडीस एजेप्टाई र एडीस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखिएको थियो । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सन् २०२३ मा २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भए ।
तहगत सरकार डेंगु नियन्त्रण गर्न चनाखो बन्नु पर्छ । तहगत सरकारहरुमध्ये कसले के गर्ने ? समुदायले के गर्ने ? यो काम कार्ययोजना बनाएर तत्काल अघि बढाउन ढिलाइ गर्न हुन्न । अस्पतालमा बिरामी थेग्नै नसक्ने अवस्था आउन सक्छ । अस्पताल पुगेकामध्ये कतिपय जटिल अवस्थामा पुगेका र कतिपयले ज्यान गुमाउन सक्छन् । सम्भावित जोखिम र चुनौतीको सामना गर्ने गरी सरकारी तयारी हुनुपर्छ ।




