पाल्पा
नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा आज २०६आंै विजयोत्सव स्वरुप भगवती रथयात्रा हुँदैछ । पाल्पाका तैनाथवाला तत्कालिन कर्णेल उजिरसिंह थापाले वि. सं १८७१ देखि १८७२ सम्म अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी क्षेत्रमा विजय हासिल गरेको खुसियालीमा पाल्पामा निरन्तर रुपमा विजयोत्सव मनाउने परम्परा चल्दै आएको छ ।
कर्णेल उजिरसिंह थापाले अंग्रेजसँग बुटवल क्षेत्रको युद्धमा जानुअघि देवी भगवतीको पाउँ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने र भगवतिको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए । २ पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा अंग्रेज सेनामाथि विजयी भएपछि कर्णेल उजिरसिंह थापाले वि.स. १८७२ देखि ०७६ सम्म गजुरसहितको ३ तले मन्दिर निर्माण गरेका थिए ।
भगवतीको मन्दिर निर्माण कार्य पूरा भएपछि वि.स. १९७७ सालदेखि विजयोत्सव रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतिको रथजात्रा सञ्चालन हुँदै आएको छ । अंग्रेजलाई युद्धमा हराएको विजयजात्राको रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहदै आएको छ । विजयोत्सवलाई भव्य रुपमा मनाउन लुम्बिनी प्रदेश सरकारले आज पाल्पा जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ ।
विजयोत्सवको भगवती रथजात्रालाई आइतबार दिउँसो १२ः३० बजेको शुभसाइतमा उठाइने छ । भगवतिको रथलाई नेपाली सेनाले सलामी दिएपछि ३ पटक मन्दिरको परिक्रमा गराइने भगवती गुठी व्यवस्थापन समितिका सचिव प्रकाश गंगोलले बताए । मन्दिर परिक्रमापछि पाल्पामा रहेको नेपाली सेनाको गणपतिले पूजाआजासहित बली दिने र नेपाल सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीले पाल्पा दरबार परिसरमा विशेष पूजासहित बली दिने परम्परा रहेको छ ।
गणपति र प्रजिअको पूजाआजापछि सर्वसाधारणको लागि भगवतीको दर्शन तथा पूजाआजाको लागि रथ नगर परिक्रमा गराउने प्रचलन रहेको छ । युद्धमा तत्कालीन रुपका नेपाली सेनाले बहादुरीका साथ लडेर अंग्रेजलाई पराजित गरेकोले पाल्पाली जनताले हर्षोल्लासका साथ भगवति रथयात्रा गर्दै आएका छन् । भगवती रथजात्रा नेपालीको राष्ट्रियतासँग जोडिएको, नागरिकको भावनासँग गाँसिएको, नेपाली सेनाको सान, वीरताको प्रतिकका रुपमा स्थापित भएकोले केन्द्र सरकारले नै राष्ट्रिय विजयोत्सवको रुपमा मनाउनु पर्ने माग पाल्पाली जनाताको रहेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए ।
नेपाल–अंग्रेज युद्ध र बुटवल जितगढी विजयको इतिहास
वि.स. १८०१ मा पृथ्वीनारायण शाहले नुवाकोटबाट सुरु गरेको एकीकरण अभियान वि.स.१८६१ मा पाल्पासम्म पुगेपछि नेपालको सीमा पूर्वमा टिष्टा, पश्चिममा कांगडा र दक्षिणमा ब्रिटिस भारतसम्म फैलिएको थियो ।
नेपालको सिमाना विस्तारसँगै अंग्रेजसँग सम्बन्ध चर्किँदै गयो । गोर्खाले पाल्पाालाई आफ्नो राज्यमा गाभेपछि पाल्पा राज्यका सेन शासकहरु भागेर भारत अंग्रेजको शरणमा पुगी पाल्पा आक्रमणका लागि उत्तेजित गराए । अंग्रेजहरूले सीमा विवाद उठाउँदै वि.स. १८७० मा नेपाललाई बुटवल, स्युराज (हाल कपिलवस्तु) र रौतहटका केही क्षेत्र खाली गर्न चेतावनी दियो । नेपालले वेवास्ता गरेपछि अंग्रेज फौज बुटवल र स्युराज क्षेत्रमा छिर्दै अस्थायी क्याम्प खडा गरे ।
वि.स. १८७१ जेठमा बुटवलमा युद्ध भयो र दुबैतर्फ केही क्षति भए पनि युद्धको छिनोफानो भएन, दुबैतर्फका फौज आ–आफ्नो तर्फ लागे ।
त्यसपछि अंग्रेजहरूले पश्चिम नेपाललाई काठमाडौंबाट अलग गर्ने योजना बनाए । वि.स. १८७१ कार्तिकमा पाल्पाका कमाण्डर सानो काजी अमरसिंह थापाको मृत्यु भयो । काजी अमरसिंह थापाको मृत्युपछि कर्णेल उजिरसिंह थापाले पाल्पाको नेतृत्व सम्हाले ।
वि.स. १८७१ कार्तिक १८ गते अंग्रेजी गभर्नर जनरल हेस्टिङले नेपालसँग युद्ध घोषणा गरे । मेजर जनरल जोन सुलिभान उडको नेतृत्वमा ४ हजार फौज बुटवलतर्फ आयो । मंसिरमा अंग्रेज फौज तिनाउ नदी हुँदै बुटवल आए र अन्धाधुन्द रुपमा फायर खोले । सोही समयमा अंग्रेजी फौजमाथि नेपाली फौजले कुनै प्रतिक्रिया जनाएन ।
ेपाली फौज बुटवल क्षेत्रमा नभएको सूचनाको आधारमा फर्किदै गरेको अंग्रेज सेनामाथि गौडा कुरेर बसेका उजिरसिंह थापाको नेपाली फौजले घेरा हालेर आक्रमण ग¥यो र पहिलो चरणमा नेपालले अंग्रेजमाथि विजय हासिल गरेको इतिहासमा उल्लेख छ ।
डेढ महिनापछि अंग्रेजले पुनः बुटवल कब्जा गर्ने योजना बनायो । वि.स. १८७२ बैशाखमा अंग्रेज फौजले ठूलो फौज, तोप र घोडचढीसहित बुटवल प्रवेश गरे ।
नेपाली फौजले तत्काल प्रतिकार नगरेपछि अंग्रेजले फौज नुवाकोट कब्जा गर्ने रणनीतिका साथ तिनाउ नदी तर्दै गर्दा जितगढी क्षेत्रबाट नेपाली फौजले अन्धाधुन्द आक्रमण गरी पुनः अंग्रेज सेनामाथि विजय प्राप्त गरे ।
नेपाली फौजले अंग्रेज सेनालाई बुटवल जितगढी क्षेत्रबाटै भगाए ।
युद्धमा नेपालीतर्फका लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषासुर थापा, जमदार भिमसेन देउडा, जमदार सुरविर वोहरा, हवल्दार रणसुर बानियाँ, सिपाही हंसविर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतलगायत नेपाली फौजले वीरगति प्राप्त गरे भने अंग्रेजतर्फ सयौँ सैनिक मारिएको इतिहासमा उल्लेख गरिएको छ ।
आधुनिक हातहतियारसहितको तालिम प्राप्त अंग्रेज सेनासँग घरेलु हातहतियारको आधारमा कूटनीतिक तरिकाबाट तत्कालीन नेपाली सेनाले युद्ध जितेको थियो । पाल्पा नुवाकोट बुटवल जितगढी युद्धमा नेपालसँग हारेपछि अंग्रेज सेनाका कमाण्डर जनरल उडलाई अंग्रेज सरकारले कारबाही गरेको इतिहासमा उल्लेख रहेको छ ।
कमाण्डर कर्णेल उजिरसिंह थापाको नेतृत्वमा पाल्पा नुवाकोट बुटवल जितगढी क्षेत्रमा नेपाली सेनाको सुबुजगण, गरुवक्सगण, भवानीदल गण अग्रेजसँग युद्ध लडेका थिए ।
उप–प्रधानमन्त्रीसहितको सरकारी टोलीले अवलोकन गर्ने
विजय उत्सव भगवती रथजात्राको उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीनाथ पाण्डे, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, उच्च पदस्थ व्यक्तिहरु, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री प्रदेश सभामुख तुलाराम घर्तीमगरलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । विरता, राष्ट्रियता र स्वाधिनतासँग जोडिएको विजयोत्सव भगवती रथजात्रा वि.स. १८७७ भाद्र कृष्ण नवमीदेखि आजसम्म निरन्तर चल्दै आएको छ ।




