भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली शैक्षिक प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न एक युवालाई पक्राउ गरेको छ ।
नेपाल र भारतको विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम्प, होलोग्राम, तथा स्टिकरहरु साथमा बनाउँदै आएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथभित्र प्रवेश गर्न लागेको अवस्थामा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
आइतबार साँझ साढे ६ बजेको समयमा भारतबाट आएको कानपुर नौवस्ति बस्ने अभिषेक यादवकोबारे गोप्य सूचनाको आधारमा शरीर तथा बोकेको सुटकेस खानलतासी गर्दा शैक्षिक प्रमाणत्रहरु जस्तो देखिने विभिन्न कागजपत्रहरु, विभिन्न छाप, होलोग्राम जस्तो देखिने स्टिकरहरु, ल्यापटप, नगद, इलेक्ट्रोनिकलगायतका सामानहरुसहित नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
यादवले कोठा बुक गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेसहितको टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो काम एक जानले मात्रै नभई यसमा समूहको संलग्नता भएको देखिन्छ । नक्कली शैक्षिक प्रमाणपत्र शैक्षिक अध्ययनको नाममा नेपालबाट विदेश जानका लागि प्रयोग हुने गरेको पनि खुल्नमा आएको छ । यस कारोबारमा संलग्न अन्यको व्यक्तिको पनि नाम आएकोले उनीहरु माथि निगरानी र अनुसन्धान गरिरहकेको एसपी क्षेत्रीले जानकारी दिए । अहिलेसम्मकै ठूलो मात्रामा खाली नक्कली कागजात र त्यसमा प्रयोग हुने छाप, स्टिकरसहितको किर्ते काम गर्ने जस्तो देखिए पनि पक्राउ परेका यादवले यसअघि २ पटक यहाँ आएको र अहिले तेस्रो पटक भएको स्वीकार गरेका छन् ।
आवश्यकताअनुसारको कागजपत्र बनाइदिने भनेपछि मैले बनाउने गरेको प्रहरी समक्ष यादवले भनेका छन् ।
प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट १०० थान, सर्टिफिकेट ३६ थान, ५ वटा स्टेम्प प्याड, ३ वटा स्टेम्प, होलोग्राम जस्तो देखिने त्रिभूवन विश्वविद्यालय २०१२ लेखेको ४ हजार ४० पिस थान स्टिकर, उच्च माध्यमिक शिक्षा परिषद्का २ हजार थान स्टिकर, राष्ट्रिय परीक्षा बोर्ड लेखेको १ हजार ७ सय थान स्टिकर, सिटीइभीटी लेखेको १ हजार ९ सय थान होलोग्राम स्टिकर बरामद गरेको हो ।
यस्तै भारतको अमिटी युनिभर्सिटी उत्तरप्रदेश, जवाहरलाल नेहरु टेक्नोलोजी युनिभर्सिटी हैदराबाद, छत्रपति साहु जी महाराज युनिभर्सिटी कानपुर, आसाम उच्च विद्यालय काउन्सिल, कुरुकक्षेत्र विश्वविद्यालय र आन्द्रा युनिभर्सिटीका मार्कसीट, चारित्रिक, प्रवेशपत्र, स्थानान्तरण, लेटर प्याडलगायतका नक्कली सादा कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।
कार्कीका अनुसार विभिन्न कार्यालयको छाप, हस्ताक्षर, २ वटा मोबाइल, एक थान ल्यापटप, पेनड्राइभ, एटीम कार्ड र नेपाल, भारतीय रुपैयाँ पनि बरामद भएको छ ।




