भैरहवा । रुपन्देही खुला सीमाका कारण चोरी तस्करी पनि व्यापक हुने हुँदा न्यूनीकरण र नियन्त्रणका लागि रुपन्देही प्रहरीले साउन महिनामा २ करोड १७ लाख ८७ हजार ३ सय ५९ रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न वस्तुहरु बरामद गरी भैरहवा भन्सार कार्यालय, पशु क्वारेन्टाइन कार्यालय र राजस्व अनुसन्धान काराबाहीको लागि चलान गरेको छ ।
नियन्त्रणमा लिएको सामानहरुमा किराना सामग्री १३ लाख, कपडा ८८ लाख, चल्ला तथा कुखुरा २८ लाख, सवारीसाधन ६९ लाख, अन्य सामान १४ लाख र इलेक्ट्रिक ३ लाख ३२ हजारको रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी डीएसपी सुरज कार्कीले बताए ।
उनले सोमा संलग्न २२ जनालाई नियन्त्रणमा लिएको र ५६ वटा मोटरसाइकल, १ वटा ट्रक, २ वटा अटो पनि नियन्त्रणमा लिएको हो ।
यस्तै रुपन्देही प्रहरीले साउन महिनामा ६१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समय रूपन्देही प्रहरीले अभियानकै रुपमा कार्य अगाडि बढाउँदै आएको र गत वर्ष ८ सय २३ जनालाई पक्राउ गरेको रुपन्देही प्रहरीले आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा यो संख्यामा फरार प्रतिवादी पक्राउ गरी ३२ वर्ष ३ महिना १९ दिन र ४२ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरिवाना असुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सजाय अवधि तोकिएको २० वर्षपछि ५ जना, १५ वर्षपछि २ जना, १० वर्षपछि ३ जना, ५ वर्षपछि १ जना र ५ वर्षभन्दा कमको अवधिका ५० जना गरी कुल ६१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको हो ।
रुपन्देही प्रहरी नियमित कामसँगै पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा लागेको तथा फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छ ।
यसै अवधिमा जिल्ला कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट अवैध माटो तथा बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ४ वटा ट्याक्टर र ३ वटा टिप्पर, हाइबा बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित पालिकाको कार्यालयमा पठाइएको सँगै २ लाख ७२ हजार ३७५ रुपैयाँ जरिबाना भएको कार्कीले बताए ।
यसै अवधिमा जिल्लामा १६६ वटा विभिन्न मुद्दाहरु दर्ता भएको र ९७ वटा फछ्र्यौट भएको छ, दर्ता भएको मुदामध्ये १२७ जनालाई पक्राउ गरिएकोमा ४४ जना फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
एक महिनामा घरेलु हिंसाको ७७ वटा उजुरी आएकोमा ६६ जनालाई सहमती गरी पठाइएको छ भने ११ वटा बाँकी रहेको छ । एक महिनामा २२ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । जसमध्ये १९ वर्षदेखि ४५ वर्षको उमेर समूहका धेरै रहेका छन् ।




