२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिज गीत र लोकप्रिय संस्कृति

तिज गीत र लोकप्रिय संस्कृति

तिज गीत र लोकप्रिय संस्कृति

तिज गीत र लोकप्रिय संस्कृति

तिज गीत र लोकप्रिय संस्कृति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • माया घिमिरे
    तिजको समाजशास्त्र फेरिएको छ । सामाजिक चेतनामा आएको परिवर्तनले संस्कृतिमा रूपान्तरण ल्याएको छ । तिजको परम्परित धार्मिक तथा सांस्कृतिक अभ्यासले आश्रित पात्रका रूपमा परिचित महिलाकाले समता र समानताका आवाजसहित स्व पहिचान निर्माण गरेका छन् । नारी उत्पीडनका विरुद्ध अभिव्यञ्जित प्रतिरोधी चेतना र चिन्तनले संस्कृतिमा रूपान्तरण ल्याएको छ । हिजो हिन्दू नारीको मौलिक पर्वका रूपमा परिचित यो पर्व अहिले सबै जातिका नारकिो सामूहिक पर्व भएको छ । नारी जातिका समस्या र उत्पीडनले गीतमा स्थान पाएका छन् । यी गीत नारी स्वतन्त्रताको अभिव्यक्तिका माध्यम बनेका छन् । तिज गीतमा आएको रूपान्तरणले लोकप्रिय संस्कृतिको रूप धारण गरेको छ । वर्तमान समयमा सामाजिक सञ्जालमा आएका तिजका गीत सबैका मनमस्तिष्कमा बस्न सफल भएका छन्, परम्परित तिजका मान्यता र मानकलाई भञ्जन गर्दै सबै जाति, वर्ग र लिङ्ग नाच्न, गाउन र रमाउन थालेका छन् । यो पर्व माइती र चेलीको  मिलनको पर्व मात्र नभएर सबै नेपालीको मिलनको पर्व बनेको छ । तिजका गीत अरू उत्सवमा पनि बज्न थालेका छन् । तिजका गीत बच्चादेखि वृद्धसम्म सबै उमेरका जनमानसमा प्रिय बनेका छन् । समकालीन समयमा तिजको परम्परित संस्कृतिमा परिवर्तन आएको छ । अहिलेका तिज गीतमा दमित र किनारीकृत आवाजले स्थान पाएका छन् । यी गीतमा अप्रतिनिधित्वका आवाज अभिव्यञ्जित भएका छन् । अहिलेका परिवर्तित तिज गीत आम जनसमुदायका मानिसद्वारा निर्मित छन् र समकालीन विषयवस्तुमा केन्द्रित छन् । यिनको मूल उद्देश्य सबैलाई मनोरञ्जन प्रदान गर्नु हो र यिनले मूलधारको संस्कृतिभन्दा पृथक रहेर आमजनमानसको अस्थिर संस्कृतिका रूपमा पहिचान निर्माण छन् ।


     तिज हिन्दू महिलाहरूको मौलिक पर्व भए पनि समकालीन अवस्थामा यसको दायरा फराकिलो भएको छ । आजभोलि महिलापुरूष दुबै तिजको दरखाने कार्यक्रममा सहभागी हुने, तिज गीतमा नाच्ने, गाउने, रमाउने गरेका छन् । अहिले तिजका गीतको विषयवस्तुमा परिवर्तन भएको छ । सबै धर्म–सम्प्रदायका महिला मात्र नभएर पुरुष पनि यस पर्वको मनोरञ्जनमा सहभागी हुन थालेका छन् । अहिलेको तिज गीतका भाका र लय पनि फरक छन् । यो पर्वमा गाइने गीतको सांस्कृतिक रूपान्तरण भएको छ । अत ःयो सबैलाई मनोरञ्जन प्रदान गर्ने लोकप्रिय संस्कृतिका रूपमा विकसित भएको छ । पौराणिक कालदेखि मनाइँदै आएको विश्वास गरिने यो पर्व विशेष खालको जीवनशैली र अभ्यासका कारण मौलिक नेपाली संस्कृतिका रूपमा प्रचलनमा छ । अहिले यो समूह संस्कृतिका रूपमाभन्दा पनि लोकप्रिय संस्कृतिका रूपमा सबैको मनमस्तिष्कमा रहेको छ । खाना नाना, गीत, नृत्य, चेतना ,चिन्तन, सहभागिता, भावना सबैमा रूपान्तरण भएको छ । हिजो शिवपार्वतीको आत्मिक प्रेम, दृढ सङ्कल्प, सङ्घर्ष, सङ्गी साथीको साथ, लक्ष्य प्राप्ति आदिसँग सम्बन्धित भगवानका गीत, पितृसत्तात्मक समाजव्यवस्थामा नारीका व्यथा, वेदना, उत्पीडन, चेली र माइतीको मिलनसँग सम्बन्धित  थियो भने समकालीन समयमा तिजका गीत सबैका मनोरञ्जनका माध्यम बनेका छन्, परिवार, आफन्त, साथीसँगी जम्मा हुने, मीठोमसिनो खाने, सबै नाचगान गर्ने माध्यम मात्र बन्दा यसको मौलिकता र मर्मलाई पुस्तान्तरण गर्न गार्हो देखिन्छ । कलासाहित्यमा भित्रिएको उत्तरआधुनिकतावादी उपभोक्तावादी दर्शनबाट पनि यो पर्व र यससँग सम्बन्धित गीत, गीतको वस्तुपक्ष, खाना, परिधान, तिजका परम्परित मूल्यमान्यताका साथै तिज मान्ने समयको दायरासमेत परिवर्तन भएको छ । यसका सकारात्मक र नकारात्मक दुबै पक्ष भए पनि पछिल्लो समयमा बजारमा आएका अरेली काँडैले, फाटिदे बादलु, चरी जेलैमा, लौरी हरायो, नभने दाइले आइन बोइनी माइत, अचम्मै राम्रो नाच्छे मोरीले, मेरो माया बसेको ठाउँमा, कस्लाई के को पिर, हाइ मेरो फरिया,  म त ननाउरी आमै म त ननाउरी, तिजको लहर आयो बरिलै, लाइटै बालेर हेर मायाले, के छ खबर सुन्तली तिम्रा घरको, फूलैको थुँगा पुरानो डँुगा, मीठो खाने हो राम्रो लगाउने हो, यो तिजमा ढल्केर नाचिन्छजस्ता धेरै लोकप्रिय गीत आएका छन् । समकालीन नेपाली तिज गीतको परिवर्तित स्वरूपको अध्ययन तथा अवलोकन गर्दा यसको प्राप्तिका रूपमा लोकप्रिय संस्कृति विकसित भएको छ । 


    लोकप्रिय संस्कृति अस्थिर विशेषता भएको तात्कालिक आवश्यकतामा आधारित विषयलाई प्रतिबिम्बन गर्ने सांस्कृतिक अवधारणा हो । सांस्कृतिक अध्ययनमा लोकप्रिय संस्कृतिको स्थापना, विकास र प्रसारमा सञ्चार माध्यमको महत्त्वूर्ण भूमिका रहेको छ भने यो निश्चित समयमा उत्कर्ष प्राप्त गर्ने संस्कृति रहेको छ । लोकप्रिय संस्कृति निश्चित परम्परित मान्यताको विपरीत ध्रुवमा स्थापित हुने अल्पकालीन चर्चामा रहने अवधारणा हो । लोकप्रिय संस्कृति एक दृष्टिमा परम्परागत मान्यताको विरोधी विषय हो भने अर्को दृष्टिमा यो समाजमा विद्यमान अनेकौं विषय मध्ये निश्चित मान्यताको प्रतिध्रुवमा स्थापित भएको अभिमत हो । लोकप्रिय संस्कृति सामाजिक विभेदसँग सम्बन्धित समस्यामा आधारित अलोकप्रिय, अस्थायी, न्यूनसंस्कृति तथा निश्चित व्यक्ति र समूहद्वारा निर्मित र प्रसारित सांस्कृतिक प्रतिनिधित्वको स्वरूप हो । लोकप्रिय संस्कृति निश्चित सामाजिक र सांस्कृतिक मान्यताविरोधी प्रतिरोधी चेतनाका रूपमा पश्चिमा भूगोलमा स्थापना भएको प्रतिरोधी आवाज हो । लोकप्रिय संस्कृतिको स्थापना दमित आवाजलाई पहिचान दिने प्रयोजनका लागि आरम्भ भए पनि समयान्तरसँगै यसको प्रभाव अल्पकालीन भएर पनि प्रतिरोधी चेतनाको अभिव्यञ्जना गर्ने माध्यम बनेको छ । 


    परम्परागत संस्कृतिभन्दा भिन्न विशेषता भएको लोकप्रिय संस्कृति अलोकप्रियताका बीचमै सांस्कृतिक प्रतिनिधित्व स्थापित गर्ने अवधारणा हो । लोकप्रिय संस्कृति आम समाजको आचार, विचार रहनसहन तथा सभ्यताभन्दा भिन्न संस्कृति नभई समाजमै स्थापित तर सर्वस्वीकार्य हुन नसक्ने अवधारणाको प्रतिबिम्बन र प्रतिनिधित्व हो । सांस्कृतिक अध्ययनमा अत्यन्त चर्चामा रहे पनि यस संस्कृतिलाई स्वीकार गर्ने समूहको आवाज नै यसको मूलभूत विशेषता हो । लोकप्रिय संस्कृति धेरै मान्छेले रुचाएको, हीन कोटिको कार्य, समूहको मन जित्नका लागि गरिने कार्यविशेषका अतिरिक्त मान्छेद्वारा स्वनिर्मित संस्कृति भन्ने बुझिन्छ । लोकप्रिय संस्कृतिमा अभिव्यक्त भएका मान्यता परस्परागत सांस्कृतिक अवधारणाको प्रतिकूल भए पनि यो निश्चित समूहको आवाज प्रस्तुत गर्ने महत्त्वपूर्ण माध्यम हो । निश्चित मान्यताका विरुद्धमा प्रतिरोधी स्वर प्रस्तुत गरिने भएकाले लोकप्रिय संस्कृति आफैमा प्रतिनिधित्वको प्रक्रिया पनि हो । सांस्कृतिक अध्ययनमा लोकप्रिय संस्कृतिले लोकप्रिय संस्कृतिका माध्यमबाट प्रतिनिधित्व, पहिचान र राष्ट्रियताजस्ता विषयको अध्ययन गर्दछ । परप्परागत केन्द्रीकृत अवधारणाभन्दा भिन्न आवाजको प्रतिनिधित्व गर्ने भएकाले लोकप्रिय संस्कृतिमा बहुलताका विशेषता विद्यमान रहन्छन् । संस्कृति व्यक्ति वा समुदायको सिर्जनात्मक कलाबाट निर्मित र निर्देशित हुन्छ भने लोकप्रिय संस्कृति सामूहिक रूपमा उत्पादिन कार्यका रूपमा सिर्जन गरिएको हुन्छ । लोकप्रिय संस्कृति अप्रतिनिधित्व भएका समूहका आवाज रहेकाले यो निश्चित अवधिपछि स्वत ः हराउने सांस्कृतिक मान्यता हो । नेपाली तिज गीतको वर्तमान स्वरूप लोकप्रिय संस्कृतिमा रूपान्तरित हुँदै जानुको कारण यस पर्वसम्बन्धी परम्परागत जड र रूढ मान्यताको विरोधी मान्यता पनि हो । 


    नेपाली तिज गीत परम्परागत मौलिकताका साथै रूपान्तरित संस्कृतिका अतिरिक्त लोकप्रिय सांस्कृतिक स्वरूपसहित स्थापित र विकसित हुँदै गएको छ । यस पर्वमा गायन गरिने गीतमा अभिव्यक्त लोकप्रिय संस्कृतिको उदाहरणका रूपमा निम्नलिखित गीत्यांश व्याख्येय रहेको छ :
    अरेली काँडैले च्वास्सै च्वास्सै.... 
    छैन नि साइली हाम्रा नि कमको ।  
    घुमाउरो जुँगा मेरा प्रितमको 
    ओइ है मेरी बास्सै...... 
    अरेली काँडैले मलाई च्वास्सै च्वास्सै..... 
    ऐया नि बाबै लाजैले मरे ।  
    गाउँभरी हल्ला चलेको छरे ।  
    ओइ है मेरी बास्सै.... 
    अरेली काँडैले मलाई च्वास्सै च्वास्सै.... 
    इन्द्रको धनु शिवको डमरु ।  
    डमरु तालमा हल्ले म त मरु ।  
    शान्तिश्री परियार र प्रकाश सपुत,
    प्रस्तुत तिज गीतमा सामाजिकता अन्तर्निहित भएर आएको छ । यो गीत मूल धारको तिज गीतभन्दा फरक किसिमको छ । यस गीतमा नेपाली समाजमा बसोबास गर्ने सबै वर्ग, लिङ्ग र जातिका मानिसहरू अटाउन र रमाउन सक्छन् । यस गीतमा पुरुष र महिला दुबैले नृत्य गरेका छन् । गीत परम्परित तिज गीतभन्दा नितान्त भिन्न प्रकृतिको छ । यसमा धर्म,पुराण, संस्कार आदिको विषयलाई भन्दा पनि सबै जाति र वर्गलाई प्रभाव पार्ने भाव अभिव्यक्त भएको छ । लोकप्रिय सस्कृति मजदुर, किसान, श्रमिक सबैको प्रिय हुन्छ । यस गीतमा पनि समाजका सबै मानिस रमाउन सक्छन् । अरेली काँढाले च्वास्स च्वास्स घोचेको विषयवस्तुको प्रस्तुतिमा गतिशील गीतको भावले सबैलाई समेटेको छ । ओइ मेरी बास्सै .... भन्दै गाइएको यस गीतले बच्चादेखि बृद्ध अवस्थाका मानिसको मन जितेको छ । तिज पर्वमा बजारमा आएको यस गीतलाई अन्य अवसरमा पनि बजाउने र यसको आस्वादन गरिने हुनाले तिज गीत लोकप्रिय सस्कृतिका रूपमा रूपान्तरण हुँदै विकसित भएको छ । सबै किसिमका पार्टी, वनभोजमा समेत यसले स्थान लिएको हुनाले यो लोकप्रिय संस्कृतिका रूपमा स्थापित भएको छ । सबैको सहभागिता रहने तिज गीतको लोकप्रियता प्रस्तुत गर्ने तिज गीतको नमूनालाई यसरी प्रस्तुत गरिएको छ :
    हाइ मेरो फरिया !
    झन् माथि सार्यो झन् तल झर्छ....
    हाइ मेरो फरिया..... 
    झन्  माथि सार्यो झन तल सर्छ हाइ मेरो फरिया ।
    हे मेरी आमा पियारी छोरी खानु घिउ खाकी छ ।
    कस्तो थ्यो यो जीऊ पहिले हेर हाड मात्रै बाँकी छ । 
    विष्णु माझी,
    प्रस्तुत तिज गीतमा न्यून र हीन संस्कृतिका रूपमा पहिचान बनाएको लोकप्रिय संस्कृतिमा सामाजिकता अन्तर्निहित भएर रहेको छ । यो गीत ठिमाहा प्रकृतिको छ । यो गीत सबै जनमानसको गीत भएको छ । यो गीतका  भ्युज, सस्क्राइभ सामाजिक सञ्जालमा यसले ओगटेको स्थानले पनि लोकप्रिय बनेको छ । तिज गीतका रूपमा परिचित यो गीत सबै जाति, वर्ग, पेसाका मानिसको मनमस्तिष्कमा रहेको छ । यसको आस्वादन सबै जनमानसले गर्नसक्ने हुनाले यो गीतले लोकप्रिय सस्कृतिको पहिचान बनाएको छ । हाइ मेरो फरिया...  बोलको गीतमा सबै जातिका मानिस गायन, नृत्यमा सहभागी हुनसक्ने हुनाले यो सबैको प्रिय बनेको छ ।
    कस्ले भन्यो मोटी केटी राम्री हुन्न भनी ।  
    आज मैले त्यसको जवाफ दिन्छु गनी गनी  ।    
    बीस किलोका खुट्टा मेरा दस किलाका हात छन् ।  
    एकै मुक्का हाने भने रगत रगत छाद्छन ।  
    सिरीसिरी हावा चल्यो भेरीको तिर ।  
    मै मोटी भएको दुनियाँलाई पिर ।  
    बाबै मै मोटी भएको दुनियाँलाई पिर ।  
    काली छु त काली कौवा भन्नै पर्ने हो र? 
    के को मेरो कालो तिम्लाई सर्ने हो र? 
    सिरीसिरी हावा चल्यो कालीको तिर ।  
    प्रीति आले,
     प्रस्तुत गीतले परम्परित तिज गीतको मूल्यमान्यता, धर्म, पुराण, समाज, सस्कारभन्दा  फरक भाव बोकेर आएको छ । यस गीतले समयसान्दर्भिक रूपमा नारीलाई प्रतिरोधी चेतना र चिन्तन थपेको छ । प्रीति आलेको यस गीतमा उत्तरआधुनिक तथा उत्तरसंरचनावादी मूल्यमान्यतालाई आत्मसात् गर्दै नवीन विषयवस्तुलाई आत्मसात् गरिएको छ । 
    मूल धारको संस्कृतिभन्दा भिन्न किनारीकृत वर्गको संस्कृतिलाई आत्मसात् गरिएको यो गीतको विषयवस्तु शरीर राजनीतिसँग सम्बन्धित छ । नारीको मोटो शरीर राम्रो हुन्न भन्नेलाई गनीगनी जवाफ दिन्छु भन्दै गीतमा परम्परित पुँजीवादी तथा उपभोक्तावादी बजारव्यवस्थाले ल्याएका मूल्यमान्यताको विरोध गरिएको छ । गीतमा परम्परित तिज गीतका विपरीत पितृसत्ताको दास भएर हैन कि ती मान्यताका विपरीत किनारीकृत वर्गका दुब्ला, होचा, काला, मोटा नारीका शारीरिक संरचनाको विषयमा केन्द्रित भएर आएकाले समकालीन तिज गीतको संस्कृति रूपान्तरित भएको छ, यो सबैको प्रिय बनेको छ । यस गीतको मुख्य उद्देश्य सबै  गायक, श्रोता तथा दर्शनको मन जित्नु हो । यस गीतको सङ्गीत पनि परम्परित सङ्गीतको भन्दा फरक किसिमको छ । किनारीकृत लिङ्गीका भावलाई समेटिएको यो गीतले बालक, बृद्ध, युवा सबैको मन जित्न सफल भएको छ । यो गीतको लोकप्रियतालाई सामजिक सञ्जालले पनि पुष्टि गरेको छ । तिजको समाजशास्त्रमा परिवर्तन आएको भावलाई गीतका माध्यमबाट यसरी प्रस्तुत गरिएको छ :
    तिज आयो भनेर नहौं हामी अलमल । 
    बसौं दिदी बहिनी हो गरौं छलफल ।। 
    मुक्तिका कुरा गरौं काम गर्ने बेलामा । 
    अब हामी नबसौं जालझेलमा ।।
    छोरालाई स्कुलमा छोरीलाई मेलामा ।
    म छोरीको आँसु खस्यो दैला ठेलामा ।।
    (गंगा पन्थी, तिलोत्तमा नगरपालिका )

    प्रस्तुत गीतमा सभ्यताको विकास सँगसँगै तिजका परम्परित मूल्यमान्यतामा परिवर्तन आएको भाव अभिव्यञ्जित भएको छ । तिजको परम्परित मान्यताले धर्म, पुराण, समाज र संस्कारका नाममा पितृसत्ताको रक्षा कवच बनेर काम गर्ने हुनाले यस गीतमा उत्तरआधुनिक छाता शब्दभित्र समेटिने लैङ्गिक भेद त्यसबाट उत्पन्न उत्पीडनका विरुद्ध लैङ्गिक समता र समानताको भाव मुखर बनेर आएको छ । अब तिजलाई अलमल गरेर मनाउने चाडका रूपमा नभई पितृसत्तात्मक समाजका जालझेल विरुद्ध अघि बढ्ने पर्वका रूपमा मनाउनु पर्ने विषय अभिव्यक्त  भएको छ । पुरुषबाट अधीनस्थ नारीहरुका उत्पीडनका भाव अभिव्यक्त यस गीतले परम्परागत मूल्यलाई भञ्जन गरी नयाँ चिन्तन, चेतना र ज्ञानको प्रसारण गरेको छ । सदियांैदेखि पितृसत्ताले थिचिएका, मिचिएका उत्पीडित नारीका भाव सबैको मनमस्तिष्कमा बस्न सफल भएका लोकप्रिय सस्कृतिका रूपमा विकसित परिवर्तित चेतना र चिन्तनका सबै जाति र उमेर समूहका महिलाका भाव गीतमा यसरी अभिव्यञ्जित भएको छ :
    उच्च शिक्षा हासिल गरि विकास हाम्ले गर्ने हो । 
    बराबरी अधिकार हाम्ले लिने हो ।।  
    हामी नारी एक ढिक्का भै अगाडि बढ्नु छ ।  
    आमा दिदीबहिनीको मुहार फेर्नु छ ।। 
    सधैंभरि कति बसौं जुठा भाडा माझेर ।  
    समाजमा कुरा गर्र्छांै दिल खोलेर ।।  
    दैलोकुचो ढिकीजातो भकाराको पेवालाई ।  
    बराबरी बाँडांै भनौ पुरुष समाजलाई ।।
    (सिर्जना आचार्य, सन्धिखर्क नगरपालिका )
    प्रस्तुत गीतमा लैङ्गिक समता र समानताको भाव व्यक्त भएको छ । यस  गीतले नारीलाई  शिक्षित र सचेत भई गतिशील  हुन आह्वान गरेको छ । गीतमा सबै काममा समान भूमिकामा रहनुपर्ने भाव प्रस्तुत भएकाले सबैको प्रिय बनेको छ । गीतमा अप्रतिनिधिका रूपमा रहेका मूलधारमा समेटिन नसकेका नारीका दमित आवाजले महत्त्व पाएको छ । बराबर अधिकार लिएर विकास निर्माणका कार्यमासमेत समान सहभागिताको आवाज उठाएको यो गीत नयाँ पुस्तादेखि पुराना पुस्ताका सबै जनमानसको मन मस्तिष्कमा लोकप्रिय बनेर रहेको छ । मेरो माया बसेको गाउँमा ।
    मेरो माया बसेको गाउँमा ।
    बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा ।।
     के बिगार्यो सानुले मन पनि ।
    सात दिनभयो आछैन फोन पनि । 
    मेरो माया.....
      बिजी भाछ कोसङग गफ हुन्छ ।
    के हुन्छ के एकछिनमा अफ हुन्छ ।।
    मेरो माया........
     बिस्र्यो बिस्र्यो भन्छेउ त केको ।
    रेकर्ड छैन एक सेकेन्ड  बिर्सेको ।।
    मेरो माया.....
     मौरी डुल्दै हिडे झैं रसतिर ।
    तिमी पनि डुल्छौ कि दशतिर ।।.(पशुपति शर्मा)
    प्रस्तुत गीतमा खासगरी मायाप्रेमको भाव अभिव्यञ्जित भएको छ । यसमा आफ्नो पे्रमी बसेको ठाउँ त्यसै त्यसै उज्यालो भएको भाव अभिव्यञ्जित हुने विषय गीतका माध्यमबाट आएको छ ।  मायाले मन पनि बिगारेको र एकछिन पनि फोन नआउँदा बिर्सियो कि भनेर आत्तिएको भाव कवितामा आएको छ । यस गीतको  शब्द, भाव, लय सबै लाकप्रिय संस्कृतिका उदाहरण हुन् । पितृसत्तात्मक समाजमा लैङ्गिक आधारमा किनारामा पु¥याइएकी नारीले घर गरेर खाने नाममा तिजमा माइत दर खान जान नपाएको गुनासो र आफूले भोगेको उत्पीडनलाई शब्द, भाव र लयको त्रिवेणीमा यसरी प्रवाहित गरेकी छ ः 
    ओम नम सिवाय ओम नमोनम :
    जेलैमा हो जेलैमा चरी  जेलैमा ।
    जेलैमा हो जेलैमा चरी जेलैमा ।
    मै छोरी रुदैँ रुदैँ बेसी मेलैमा ।
    तिजको दर खान मन थ्यो ।
    माइती घर जान मन थ्यो ।
    जेलैमा हो जेलैमा चरी जेलैमा ।
    मै छोरी रुँदै रुँदै बेसी मेलामा ।
    गाउकी केटी शहरैमा ।
    दियौ बाबा रहरैमा ।  (विष्णु माझी)
    यसरी तिज गीतमा आएको रूपान्तरणले लोकप्रिय संस्कृतिको रूप धारण गरेको छ । वर्तमान समयमा सामाजिक सञ्जालमा आएका तिजका गीत सबैका मनमस्तिष्कमा बस्न सफल भएका छन् ,परम्परित तिजका मान्यता र मानकलाई भञ्जन गर्दै सबै जाति,वर्ग र लिङ्गी नाच्न,गाउन र रमाउन थालेका छन् । यो पर्व सबै नेपालीको मिलनको पर्व बनेको छ ।
     यस्ता गीत अरू उत्सवमा पनि बज्न थालेका छन् । तिजका गीत बच्चादेखि बृद्धसम्म सबै उमेरका जनमानसमा प्रिय बनेका छन् । समकालीन समयमा तिजको परम्परित संस्कृतिमा परिवर्तन आएको छ । अहिलेका तिज गीतमा दमित आवाजले स्थान पाएका छन् । यी गीतमा अप्रतिनिधित्वका आवाज अभिव्यञ्जित भएका छन् । अहिलेका परिवर्तित तिज गीत आम जनसमुदायका मानिसद्वारा निर्मित छन् । यिनको मूल उद्देश्य सबैलाई मनोरञ्जन प्रदान गर्नु हो र यिनले मूलधारको संस्कृतिभन्दा पृथक रहेर आमजनमानसको अस्थिर संस्कृतिका रूपमा पहिचान दिएका छन् ।   (राममणि बहुमुखी क्याम्पस)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij