प्युठान
कृषिजन्य बस्तुको बजारीकरण सहजताका लागि बड्डाँडा बजारमै संकलन केन्द्र स्थापना गरिएको छ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था लिमिटेडले सरुमारानी गाउँपालिका –४ बड्डा“डामा कृषिजन्य संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।
एक हजार ४ सय ५६ जना सदस्य रहेको ८ सय ४० जना सदस्यले कृषिजन्य बस्तुहरु उत्पादन गर्दै आएको संस्थाको व्यवस्थापक रेवतप्रसाद खनालले बताए । २०६० साल पुस ६ गते विधिवत रुपमा सञ्चालनमा आएको यस सहकारीले २०६३ सालदेखि संकलन केन्द्र सञ्चालन गरेको उनको भनाइ छ ।
‘हाम्रा सदस्यहरुलाई व्यवसायी बनाउन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको सहयोगमा अदुवा खेती चाक्ला बन्दि क्षेत्र विस्तार कार्यक्रम समेत सञ्चालन गरेका छौं,’ उनले भने–‘पाँच सय ५० जना सदस्यहरुले व्यवसायिक अदुवा खेती गर्दै आएका छन् ।’ सरुमारानी गाउँपालिका ३ सजिकोटका ७८ जना किसानलाई आबद्ध गराई २ रोपनी जमिनमा अदुवा तथा बेसार खेती गर्दै आएको व्यवस्थापक खनालले जानकारी दिए । अदुवालाई मूल्य वृद्धि शृंखलामा जोड्न १४ वटा अदुवा भण्डारण भकारी निर्माण गरिएको उनको भनाइ छ ।
ग्राहकको मागलाई मध्यनजर गरी उनीहरुको सहजताका लागि संकलन केन्द्रको शाखा विस्तार गरिएको समेत उनले बताए ।
सरुमारानी गाउँपालिका –४ बड्डाँडामा सञ्चालन गरिएको संकलन केन्द्रमा विशेष गरी विभिन्न सिजनको मह, अदुवा, बेसार, धुलो बेसार, पिंडालु, चिउरी घ्यू, भटमास, सिमि, बोडीको दाल, तरुल, गुन्द्रुक, सिस्नोको धुलोलगायतका करिव ३० प्रकारका कृषिजन्य बस्तुहरु खरिद बिक्री गर्दै आएको पूर्णबहादुर घर्ती मगरले बताए ।
‘हामीले मुख्य गरी काठमाडौं, बुटवल र पूर्वी रुकुम सन्धिखर्कमा रहेको सारथी बहुउद्देश्यीय सहकारीमा यहाँको सामान बिक्री गर्ने गरेका छांै,’ संकलन केन्द्रका सञ्चालक मगरले भने–‘यहाँ उत्पादन नहुने ओखरको घाँजी, भागोको तेल र कालो चामल आयात समेत गर्ने गरेका छौं ।’
गत असोजदेखि शाखा विस्तार गरी सञ्चालनमा ल्याएको संकलन केन्द्रबाट मासिक करिव २ लाख ५० हजार बराबरको कारोबार हुने गरेको उनले बताए ।
संकलन केन्द्रबाट बिक्री वितरण गरिने अदुवाको धुलोको लेवलिङ र प्याकेजिङमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्वान्वयन इकाई प्यूठानले सहयोग गर्दै आएको मगरले बताए । कृषि उपजको बस्तुहरुको स्टिकर छपाइमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले सहकार्य गर्दै आइरहेको छ । साथै बजारमा राखिएको संकलन केन्द्रको घरको भाडा सरुमारानी गाउँपालिकाले दिने गरेको छ ।




