अर्घाखाँची
बसाईसराइ कम गर्न ग्रामीण क्षेत्रमा तिव्र विकासको अवधारणा अनुरूप काम गरिए पनि बसाईसराइ रोक्न यहाँका स्थानीय तह विफल देखिएका छन् ।
संघीयता आएसँगै विकास गाउँ केन्द्रित हुँदासमेत बसाईसराइ तिव्र छ । बस्तीहरूमा जती विकास पुगेको छ त्यती नै बसाईसराइ बढ्दै गएको छ । सबै सुविधा गाउँमै पुग्दा बसाईसराइ भने रोकिन सकेको छैन ।
अर्घाखाँची जिल्लाबाट गएको एक वर्षमा साढे सात सय घरपरिवारले आफ्नो पुख्र्यौली घर छाडेका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाबाट ७५५ घरपरिवार बसाईसराइ लिएर यहाँबाट निस्किएका छन् । सदरमुकामसमेत रहेको सन्धिखर्क नगरपालिकाबाट १२० परिवार, शीतगंगा नगपालिकाबाट २२५, भूमिकास्थान नगरपालिकाबाट ९५, छत्रदेव गाउँपालिकाबाट १०४, पाणिनी गाउँपालिकाबाट १३१, मालारानी गाउँपालिकाबाट ८० घरपरिवार गाउँ छाडेर बाहिर गएका हुन् । राज्यले वर्षौंदेखि ग्रामीण क्षेत्रमा गर्दै आएकोे करोडौं लगानी खेर जाने अवस्था बनेको छ । सडक, शिक्षा, स्वास्थ्य, सिँचाइ जस्ता क्षेत्रमा तीनै तहका सरकारले लगानी गरे पनि यहाँका वासिन्दा तराईलाई आफ्नो रोजाई बनाइरहेका छन् ।
गएको एक वर्षमा दुई हजार ६४६ जना सदस्य यहाँबाट अन्यत्र जाँदा गएको ३ वर्षमा दुईहजार ९१७ घरका दश हजार ५९२ जनाले जिल्ला छाडेर अन्यत्र बसाई सरेका हुन् । आर्थिक वर्ष २०७९÷०८० देखी गएको असार मसान्तसम्मको तीन वर्षमा सन्धिखर्कबाट ४३३ घरपरिवारका एक हजार ५१५ जना, शीतगंगाबाट ९१६ घरपरिवारका तीन हजार २५३ जना, भूमिकास्थानबाट ४१६ घरपरिवारका एक हजार ६३४ जना, छत्रदेवका ३९१ घरपरिवारका एक हजार ३९२ जना, पाणिनीका ४४१ घरपरिवारका एक हजार ६३२ जना, मालारानीका ३२० घरपरिवारका एक हजार १६६ जना गरी कुल दुई हजार ९१७ घरपरिवारका १० हजार ५९२ जनाले जिल्ला छाडेको तथ्याङ्कमा उल्लेख छ ।
अर्घाखाँचीलगायत छिमेकी जिल्ला गुल्मी, पाल्पा, प्यूठानका ग्रामीण क्षेत्रबाट बसाईसराई गरेर जानेको संख्या डरलाग्दो नै छ । पहाडी जिल्लाहरूबाट तराई झर्नेको लर्को नै देखिएको छ । वर्षौंदेखि विकासमा पछि परेका गाउँबस्ती विकसित भएका छन् ।
घरआँगनमै ठुल्ठुला सडक, घरमै पानीको सुविधा, नजिकै विद्यालय, स्वास्थ्यचौकी छन् । यात्राको सहज पहुँच, बिजुली बत्ती, दैलोमै पसलहरूको सुविधा, सरकारी कामकाजलाई वडा कार्यालय, नगरपालिका सबै चिजको विस्तार र सुविधा हुँदाहँुदै बसाईसराइ रोकिन नसक्नु चिन्ताको विषय बनेको छ ।
दुर्गम र टाढाका बस्तीहरू मात्र नभएर सदरमुकाम तथा अन्य पालिकाहरूभन्दा विकसित सन्धिखर्क नगरपालिकाबाट समेत बसाईसराइ उल्लेख्य भइरहेको देखिन्छ । गाउँमा देखिने रंगीचंगी घरहरू अहिले कुरूप देखिन्छन् ।
रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क सजाईएका घरहरू अहिले वरिपरि घाँस तथा पातपतिङ्गरले ढाकेको छ ।
गाउँमा युवा त छैनन् नै पाका पुस्ताले समेत गाउँ छोड्दै जानु गम्भिर विषय भएको अधिवक्ता तेजेन्द्र पाण्डेले बताए । ‘बसाईसराइका कारण गाउँबस्ती उजाडिँदै जान थालेका छन्,’ उनले भने–‘ सुविधा थपिएका छन् तर गाउँमा मान्छे अडिन नसक्नु गम्भीर विषय हो ।’
सुविधा र अवसरको खोजीमा बसाईसराइ बढेपछि पहाड रित्तिंदै जान थालेका छन् । अर्घाखाँचीबाट अधिकांश बुटवल आसपास बसाई सर्छन् । बुटवलका अलावा कपिलवस्तु, दाङ, पोखरा र काठमाण्डौं जाने गर्दछन् ।
गाउँमा जंगली जनावरको आतंक, वरपर छरछिमेकको देखासिकी, बढ्ता राजनीति हस्तक्षेप, छोराछोरीको करकाप तथा सुविधाको अपेक्षामा गाउँ रित्तिएर जाने अवस्था बनेको कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन (सिबिए)का जिल्ला अध्यक्ष कृष्ण वर्माले बताए । ‘पहाडी जिल्लाहरूमा बाँदर, बँदेल, दुम्सी जस्ता जनावरले हैरान बनाउँदा मान्छे आफ्नो पहाडी घर छोड्न बाध्य छ,’ उनले भने–‘बस्छु भन्दासमेत त्यो वातावरण नभएपछि मान्छे विस्तारै रित्तिंदै जाने हो ।’ जंगली जनावरको भय र सास्ती मुख्य कारण भए पनि अन्य थुप्रै कारणले बसाईसराइ बढीरहेको उनको भनाइ छ ।
बसाई सरेर जाने संख्याको तुलनामा आउनेको संख्या एकदमै न्यून छ । अर्घाखाँचीका स्थानीय तहहरूले बसाईसराइ रोक्ने योजना बनाउनु पर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनालले बताए । ‘सबै पालिकालाई जोड्ने हो भने अर्बौंको बजेट आउँछ,’ उनले भने–‘बसाईसराइ रोक्ने तत्कालिन र दिर्घकालिन उपायको खोजी हुनुपर्छ ।’ विकास गरेर मात्र बसाईसराइ रोक्न सकिन्न भन्ने पुष्टी भइसकेकाले जिल्लाका सबै स्थानीय तहहरूले साझा प्रयास थाल्नुपर्ने उनले बताए ।
सबै बस्तीमा मोटरबाटो पुग्ने अर्घाखाँची पहिलो जिल्ला हो । संघीयता कार्यान्वयनको अभ्यास गरिरहँदा अन्य संरचनाहरू समेत यहाँ खडा भएका छन् । बसाईसराइ रोक्न यहाँका पालिकाहरू प्रयासरत पनि छन् । बसाईसराइ रोक्नकै लागि स्थानीय सरकारले ल्याएका कार्यक्रमहरूमा समेत जनताको चाँसो कम हुँदै गएको छ । पालिकाका प्रयासहरूमा दिगोपना नहुँदा पनि केही समस्या थपिएको हो ।
युवा पुस्ताको आकर्षणबिना गाउँ फेरि पुरानै अवस्थामा फर्कने देखिंदैन । युवा पुस्ताको वैदेशिक रोजगारप्रती मोह बढ्दै जानुले पनि बसाईसराइलाई टेवा पु¥याइरहेको छ ।




