नेपाली समाजमा पर्वको याम शुरू भयो । हिन्दु नेपाली समाजमा साउने संक्रान्तिसगैं वर्षका महत्वपूर्ण चाड शुरु भएको मानिन्छ । तीज पर्व नेपाली समाजको मौलिक पर्व हो । हिमाल, पहाड र तराईमा विभिन्न जाति र समुदायले मनाउने यो पर्वले परिवार मिलन गराएको छ । परिवारमा स्नेहको वातावरण तयार गरेको छ । परिवारमा स्नेह, मेलमिलाप र हार्दिकता बढ्दा समाजलाई पनि सही बाटोमा लैजाने भएकाले तीजको महत्व स्वतः स्पष्ट हुन्छ ।
तीजमा विवाहपछि घर गएका छोरी र दिदीबहिनी लगायतलाई माइतीमा बोलाएर मिठो मसिनो खुवाउने र नाचगान गर्ने चलन छ । माइती आएका दिदीबहिनीहरु एक आपसमा बाबुआमा, दाजुभाइ सहितका आफन्तसँग भेटघाट गरी दुःखसुख साटासाट गर्छन् । परिवार र टोल छिमेकका सदस्यहरु भेला भएर गाइने तीज गीतले सांस्कृतिक जागरण बढाएको छ । नेपालमा राजनैतिक आन्दोलनलाई जागृत गर्न र दिशाबोध गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ ।
राजनैतिक दलहरु प्रतिबन्धित रहेको बेला तत्कालीन शासक विरुद्ध महिलाले गीतमार्फत आवाज उठाए । निरंकुश व्यवस्थाका बेला शासक र उनीहरुले संरक्षण गरेका व्यक्तिले गरेका अन्याय र अत्याचार विरुद्ध आवाज उठाउने सशक्त माध्यम तीज पर्व थियो । तीजमा महिलाले तत्कालीन शासक विरुद्ध गीत मार्फत उठाएका आवाजले समाजमा राजनैतिक जागरण ल्याउन बल पुग्यो ।
सामाजिक र राजनैतिक आन्दोलनको अभिन्न अंग बनेको तीज पर्व पछिल्ला दिनमा भड्किलो बन्न थालेको छ । तीजको अघिल्लो दिनलाई दर खाने दिन मानिन्छ । शहरमा एक महिनादेखि दर खाने कार्यक्रमको बहानामा तडकभडक चल्न थालेको छ । यो तडकभडकको जालोमा पर्दा समाज बिथोलिएको छ । समाजमा तडकभडक बढ्दा धनी र गरिबबीचको खाडल बढेको छ ।
समाजमा सद्भाव बिथोलिने जोखिम छ । तीजको मौलिकता नासिदैं तडकभडकमा रम्दा पारिवारिक मिलापमा दरार पैदा गरेको छ । कुनैबेला राजनैतिक र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरेको पर्व अहिले भड्किलो बन्दा समाज खल्बलिएको छ । चाडपर्व मानव संस्कृतिका अभिन्न अंग हुन्, यी सामाजिकरणका माध्यम पनि हुन् । नयाँ पुस्ताका लागि समाज बुझ्ने माध्यम पनि हुन् । समाजका महत्वपूर्ण निधीलाई आर्थिक हैसियत दाज्ने साधन बनाउने होड चल्दा समाज सही दिशामा अघि बढ्न सक्तैन् । चाडपर्व सबैले मान्न सक्ने गरी मनाउनुपर्छ । तडकभडक बढ्दा त्यसले ल्याउने विकृतिको जालोमा सिंगो समाज पर्नु कदाचित राम्रो होइन् ।
स्वतन्त्रताको नाउमा सबै गर्न पाउनुपर्छ भन्ने उचित होइन् । तडकभडकलाई न्युनिकरण गर्ने काम तहगत सरकारको हो । तहगत सरकारले समन्वय गरी चाडपर्वलाई अनावश्यक भड्किलो नबनाउनका लागि पहल गर्न सक्छन् । हुँदा खाने र हुनेखाने सबैले चाडपर्व मान्न सक्ने बनाउन नेतृत्व लिनसक्छन् । त्यसो हुँदा तीज पर्वको मौलिकता जोगिन बल पुग्न सक्छ । तीजको मौलिकता जोगिन सक्दा संस्कृतिको हस्तान्तरण सही हुनसक्छ ।
तीज पर्वको सबैमा शुभकामना ।




