किसन ज्ञवाली
नेपालको इतिहास स्वतन्त्रताको इतिहास हो । संसारका धेरै मुलुकहरू औपनिवेशिक शक्तिको अधीनमा परिरहेका बेला नेपालले आफ्नो स्वाधीनता जोगायो । यही गौरवशाली इतिहासले हामीलाई बिश्व सामु गर्बिलो सान दिलाएर गहिरो सन्देश दिएको छ –राष्ट्रियतामा सम्झौता गर्ने हो भने मुलुकको अस्तित्व संकटमा पर्छ । नेपाल केवल हिमाल, पहाड र तराईको भौगोलिक विविधता मात्र होइन; यो हजारौँ वर्षको सभ्यता, बलिदान र स्वाधीन राष्ट्रिय चेतनाले बनेको मातृभूमि हो । तर पछिल्ला दशकमा नेपालको सार्वभौमिकता निरन्तर दबाब र चुनौतीको बिचमा छ—भारतसँगको सीमा विवाद, विदेशी शक्तिहरूको भूराजनीति हस्तक्षेप र भित्रैका दलहरूको आत्मसमर्पणकारी प्रवृत्तिले देशलाई असुरक्षित बनाएको छ । यस्तै जटिल घडीमा नेकपा (एमाले) ले देखाएको सम्झौताहीन राष्ट्रवाद मात्र मुलुकको ढालका रूपमा स्थापित भएको छ ।
सुगौली सन्धिपछि गुमेको भूभाग, विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुराको प्रश्न नेपालका लागि निरन्तर अस्मिता र सार्वभौमिकताको विषय रह्यो । महाकाली नदीको पूर्वतर्फको भू–भाग नेपालकै हो भन्ने ऐतिहासिक प्रावधान हुँदाहुँदै भारतले निरन्तर दखल कायम राख्यो । २०१५ मा भारतले चीनसँग सहमतिमा लिपुलेकलाई व्यापारिक मार्ग घोषणा गरेपछि विवाद पुनः चर्कियो । त्यही समयमा नेकपा (एमाले) नेतृत्वको सरकारले सम्पूर्ण दल, नागरिक समाज र बुद्धिजीविलाई एउटै स्वरमा ल्याउँदै नयाँ नक्सा जारी गर्यो । यो कदम केवल प्रशासनिक निर्णय थिएन; यो नेपालले आफ्नो सार्वभौमिकतालाई दृढतापूर्वक पुष्टि गर्ने ऐतिहासिक घोषणापत्र थियो । यसले संसारलाई सन्देश दियो—सार्वभौमिकता सानो–ठूलो हुँदैन, नेपाल कुनै “छोटो भाइ” होइन, समान हैसियत भएको राष्ट्र हो ।
यता, नेपालले भोगेको अर्को ठूलो पीडा २०१५/०१६ को नाकाबन्दी थियो । संविधानप्रति असन्तुष्टि देखाउँदै भारतले आपूर्ति अवरुद्ध गर्दा मुलुक महिनौँसम्म संकटमा पर्यो। त्यही बेला पनि कतिपय दल र नेताहरूले “नाकाबन्दी नै होइन” भनेर जनतालाई ढाँट्ने व्यवहार देखाए । जब आफ्नै जनता औषधि, इन्धन, अन्नको अभावमा पीडित थिए, तब राष्ट्रिय सार्वभौमिकताको सवालमा मौन बस्ने दलहरू कसरी राष्ट्रवादी कहलिन सक्छन् ? आज पनि त्यस्तै प्रवृत्ति दोहोरिँदैछ ।
रासपाका स्वर्णिम वाग्लेले सीमाविवादमा छिमेकीको पक्षमा बोल्नु, मुकुल ढकालको प्रमाणलाई आधार मान्ने हो भने नेपाललाई भारतमा मिसाय विकास हुन्छ भन्ने तर्क गर्नु वा कतिपय दलहरूले विवादै नगर्ने सिमाना मिचिरहँदा पनि मौन बस्ने नीति लिनु–यी सबै राष्ट्रविरोधी मानसिकताको स्पष्ट अभिव्यक्ति हुन् । उता, इतिहासमा “भारतसँग लड्नुपर्छ” भन्दै सुरुङ खनाउने माओवादी नेतृत्व नै आज खुलेआम “भारतलाई कम्फर्टेबल बनाउनुपर्छ” भन्ने अवस्थामा पुग्नु, केवल विरोधाभास मात्र होइन, आत्मसमर्पणको दास मानसिकता हो ।
यस्तो विषम परिस्थितिमा एमालेले लिएको बाटो र देखाएको राष्ट्रवादः– नारामा मात्र होइन, ठोस कार्यद्वारा प्रमाणित छ । नयाँ नक्सा प्रकाशन, संसदमा निर्भिक अभिव्यक्ति, विदेशी दबाब नमान्ने नीति, आत्मनिर्भर अर्थतन्त्रको दृष्टिकोण–यी सबै कदमहरूले एमालेको राष्ट्रवादी चरित्रलाई प्रमाणित गरेका छन् ।
नेपाल को संसद भवनको रोस्ट्रममा उभिएर ,नेकपा एमाले को अध्यक्ष र नेपाल को प्रधानमन्त्रीको हैसियतमा भारतको राष्ट्रिय प्रतीक चिन्ह “सत्यमेव जयते” हो शिंह मेवजएते होइन भनेर छिमेकीलाई पाठ पढाइदिने प्रधानमन्त्री ओलीले देखाएको साहस केवल शब्द सुधार मात्र थिएन, त्यो आत्मसम्मानको सशक्त घोषणा थियो । तर, त्यतिबेला समेत कतिपय दलहरू मौन बसे, बरु उल्टै भारत शक्तिशाली छ, त्यससँग विवाद गरेर पार लाग्दैन भन्ने मानसिकता बोकेर एमालेलाई आलोचना गरे । यस्तो सोंच नेपाली जनतामाथिको अपमान हो, राष्ट्रको आत्मसम्मानमाथि प्रहार हो ।
लोकतन्त्रमा जनता नै सर्वोच्च शक्ति हुन् । तर जनता चेतनशील नभए, राष्ट्र बेच्ने दललाई नै सत्तामा पुर्याउँछन् । यही कारण गणेशमान सिंहले कहिलेकाहीँ “जनता भेडा जस्तो भए” भनेर चेतावनी दिएका थिए । आज नेपाली जनताले बुझ्नुपर्ने कुरा के हो भने—सीमाविवादमा छिमेकीको पक्ष लिनु, नाकाबन्दीलाई अस्वीकार गर्नु वा विदेशीलाई सन्तुष्ट पार्ने सोच राख्नु—यी सबैले मुलुकलाई असुरक्षित बनाउँछ । चेतनशील नागरिकमार्फत् मात्र राष्ट्र सुरक्षित रहन्छ, र त्यो बाटो हो “निर्णायक राष्ट्रिय शक्ति निर्माण को संकल्प“ जसले एमालेलाई सशक्त बनाउनेतर्फ लैजान्छ त्यो शक्ति ले मात्र देशको रक्षा गर्न सक्छ ।
नेपाल अहिले फेरि ऐतिहासिक मोडमा उभिएको छ । एकातिर विदेशी शक्तिलाई सन्तुष्ट पार्ने आत्मसमर्पणकारी दलहरू छन् । अर्कोतर्फ, राष्ट्रियता र सार्वभौमिकतालाई सम्झौताहीन रूपमा रक्षा गर्ने, आत्मनिर्भर अर्थतन्त्रको बाटो कोर्ने एमाले छ । यदि नेपाली जनताले आत्मसमर्पणकारी शक्तिलाई बलियो बनाउने हो भने, देश क्रमशः कमजोर हुँदै जान्छ र अन्ततः अस्तित्वमै संकट पर्छ । तर यदि जनताले एमालेलाई सशक्त बनाउने हो भने “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षा साकार हुन्छ, र नेपाल बराबरीको राष्ट्रका रूपमा मजबुत हुन्छ ।
यस सन्दर्भमा नेपाली जनताले अझै एउटा कुरा बुझ्न जरुरी छ–राष्ट्रियता कुनै दलको मात्रै मुद्दा होइन, यो सम्पूर्ण नेपालीको जीवन र भविष्यसँग जोडिएको विषय हो । तर इतिहासले प्रमाणित गरिसकेको छ, जब अन्य दलहरू विदेशी शक्तिलाई सन्तुष्ट पार्न व्यस्त हुन्छन्, एमाले मात्र राष्ट्रको ढाल बनेर उभिन्छ । त्यसैले चेतनशील नागरिकको पहिलो दायित्व हो–राष्ट्र बेच्ने प्रवृत्तिलाई अस्वीकार गर्दै आत्मनिर्भर अर्थतन्त्र र स्वाधीन परराष्ट्र नीतिमा प्रतिबद्ध एमालेलाई सशक्त बनाउनु । यही बाटोले मात्र नेपाललाई सुरक्षित, सम्मानित र समृद्ध बनाउँछ ।
यसैले, निष्कर्ष स्पष्ट छ–नेपाल बचाउन एमालेलाई बचाउनै पर्छ । एमाले विकल्प मात्र होइन; आजको नेपालको सार्वभौमिकता र अस्तित्वका लागि एमाले नै अपरिहार्य शक्ति हो ।




