पाल्पा
छात्राहरुको मात्र पठन पाठन हुने पाल्पाको ऐतिहासिक शैक्षिक संस्था मोहनकन्या माध्यमिक विद्यालयले आफ्नो ७५औँ वार्षिकोत्सवको अवसरमा हीरक महोत्सव गर्ने भएको छ । विद्यालयले यही भदौ १६ गते हीरक महोत्सव गर्ने भएको हो । हीरक महोत्वको अन्तिम तयारीको बारेमा पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।
२००७ सालमा तत्कालीन राण प्रधानमन्त्री मोहन शमशेरको नामबाट स्थापित भएको मोहन कन्या माविमा कक्षा १ देखि १२ सम्म छात्राहरुले मात्र अध्ययन गर्ने यस क्षेत्रकै एकमात्र कन्या विद्यालय हो । छोरीहरुलाई पनि विद्यालय शिक्षाको पहुँच पु¥याउन, छोरीहरुलाई शिक्षित बनाउने उद्देश्यले तानसेनका अयोध्याप्रसाद प्रधानलगायतको समूहको पहलमा मोहनकन्या विद्यालय सञ्चालन भएको हो ।
हीरक महोत्सवको अवसरमा भदौ १५ गते पूर्व विद्यार्थी पुनरमिलन कार्यक्रम रहेको छ । हीरक महोत्सवलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष मुक्ति न्यौपानेले बजारको बिच भागमा रहेको कन्या विद्यालयलाई देशकै नमूना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवाला निकाय सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताए । विद्यार्थीलाई युग सुहाउँदो शिक्षा, डिजिटल प्रविधि, टिक्ने र बिक्ने शिक्षाको व्यवस्था मिलाउन पत्रकार महासंघ उपाध्यक्ष न्यौपानेले जोड दिए । विस २०७४ सालदेखि विद्यालयमा कक्षा ९ देखि १२ सम्म निःशुल्क रुपमा कम्प्युटर इञ्जिनेयरिङ्ग शिक्षा पठन पाठन हुँदै आएको छ ।
विद्यालयले अधिकांश विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको, पठन पाठनमा कुनै किसिमको शुल्क नलाग्ने, पहिलो पटक भर्ना हुने विद्यार्थीलाई विद्यालय पोशाक निःशुल्क उपलब्ध गराउने, कक्षा ८ सम्म निःशुल्क रुपमा दिवा खाजाको व्यवस्था, कम्प्युटर विज्ञानमा ओजीटी गर्दा छात्रवृत्तिको व्यवस्थालगायतका सुविधाहरु पाउने विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले बताए ।
विद्यालयले आगामी दिनमा विद्यालय नर्स कार्यक्रम सञ्चालनको लागि आवश्यक तयारीमा जुटेको जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता, शिक्षक मन गहिरेको स्वागत र सञ्चालन हीरक महोत्सवका सञ्चार एवं प्रचार प्रसार समिति संयोजक गोपाल बस्यालको सञ्चालनमा भएको थियो ।




