बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा, सुविधा र सुधारबारे बुटवलमा सार्वजनिक सुनुवाइ भएको छ। चाँदनी नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा आयोजना गरेको कार्यक्रममा अस्पतालका योजना, चुनौती र समाधानका उपायबारे सरोकारवालाले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमको शुभारम्भमै पत्रकार माधव नेपालले कार्यपत्र प्रस्तुत गर्दै अस्पताल निर्माण लुम्बिनी प्रदेशकै गुरुआयोजनाको रुपमा रहेपनि यसको अनुगमन तथा सार्वजनिक सुनु्वाई नभएको भन्दौ सचेत गराएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले आफुहरुको क्षेत्रमा अस्पतालको भौतिक पूर्वाधार निर्माणको अनुगमन गर्ने कार्याधिकार भएपनि अनुगमन नगरेको स्वीकारे ।
भौतिक पूर्वाधार विकास समिति सभापति रामजी प्रसाद घिमिरेले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट नियमित अनुगमन भएकोले समिति अनुगमनमा नआएको तर्क गरे । उनले यो अस्पतालको निर्माणले लुम्बिनी प्रदेशलाई ठुलो योगदान दिने तर्क गरे ।
कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका सभापति यम बहादुर नेपालीले अस्पताल विकासको प्रगति हेर्दा राम्रो देखिएको बताउँदै गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालबाट जनताले सहज सेवा पाउने ग्यारेन्टी अहिलेको आवश्यकता रहेको बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जमुना ढकालले लुम्बिनी प्रादेशिक अस्पताल लुम्बिनी मात्र नभइ राष्ट्रकै सान भएकोले भवन निर्माण र प्रदान गरिएको सेवाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर छविराज पोखरेलले पर्याप्त बजेट उपलब्ध भए निर्माण र सेवा विस्तारमा गति आउने बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले प्रदेश सरकार मातहत आएपछि अस्पतालको सेवा सुविधा दोब्बर वृद्धि भएको दाबी गरे।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी, चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पराजुली, उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहरा, उपाभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, टोल समूह प्रतिनिधि आशा भण्डारी, चाँदनी नेपालका भवानी पाण्डे लगायतले बोल्दै अस्पताल शैया संख्या बढाएर भन्दा पनि गुणस्तरीय सेवा दिएर लाग्नुपर्ने बताएका थिए ।
उनीहरुले अस्पतालमा भएका स्रोत साधनहरुको भरपुर उपयोग र दक्ष कर्मचारी ल्याउनेतर्फ ध्यान दिन आग्रह गरे ।




