तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । पछिल्लो तथ्यांकअनुसार ३६ जिल्लाका ११३ जनामा संक्रमित फैलिँदा २३ जनाको ज्यान गएको छ । महाशाखाको तथ्यांकअनुसार मृत्यु हुने सबैभन्दा बढी लुम्बिनी प्रदेशका छन् । परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ । विगतका वर्षमा जेई संक्रमण देखिए पनि मृत्युदर उच्च थिएन । हाल भने मृत्यु संख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षमा संक्रमितमध्ये २९ प्रतिशतको मृत्यु भएकोमा यस वर्ष पनि उही अनुपातमा मृत्यु भइरहेको छ । गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् । पछिल्लो तथ्यांकअनुसार जेई ३६ जिल्लामा फैलिसकेको छ । जसमध्ये लुम्बिनीमा ३७, बागमतीमा १८, कोशीमा १७, मधेशमा १४, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णालीमा २ जनामा संक्रमण देखिएको छ ।
बर्दिया, कावासोती, रत्ननगर, कालिका, राप्ती, कपिलवस्तु, माडी, कृष्णनगर, हरिवन, लहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । नवलपरासी पश्चिममा २, अर्घाखाँची, रुपन्देही, प्यूठान, दाङ, बाँके र बर्दियामा १–१ जनाको मृत्यु भएको छ । गण्डकी र बागमतीमा ४–४ जनाको मृत्यु भएको छ । चितवनमा ३, नवलपरासी पूर्वमा ३, सिन्धुली र स्याङ्जा १–१ जनाको संक्रमितको मृत्यु भएको छ । यस्तै कोशीको रौतहटमा २, झापा, मोरङ र तेहथुम १–१ जना र सुदुरपश्चिको कैलालीमा १ जना संक्रमितको मृत्यु भएको छ । जेईले सबैभन्दा बढी ४० वर्षमाथिकालाई असर गरेको छ । तथ्यांकअनुसार ४० वर्षभन्दा माथिका १८ जनाको र ३९ वर्ष मुनिका ५ जना संक्रमितको मृत्यु तथ्यांक छ ।
नेपालमा जापानिज इन्सेफ्लाइटिसको प्रकोपले लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती प्रदेशलाई बढी प्रभावित बनाएको छ । यो वर्ष ३६ जिल्लामा फैलिसकेको छ । खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्नुले खतराको संकेत गरेको विज्ञ बताउँछन् । विज्ञका अनुसार जेई संक्रमण नेपालमा अन्य देशभन्दा फरक जोखिम देखिएको छ । सामान्यतया १५ वर्षमुनिका बालबालिकामा बढी देखिने जेई नेपालमा भने पछिल्लो समय ४० वर्षमाथिका मानिसमा मृत्यु र संक्रमण देखिएको छ ।
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ । लामखुट्टेजन्य रोगको स्वरूप जलवायु परिवर्तनसँगै बदलिँदै पहाडसम्म चढेका कारण संक्रमित संख्या र मृत्यु पनि बढ्दै गएको छ । जापानिज इन्सेफलाइटिस डेंगु भाइरस समावेश भएको ‘फ्लेभी भाइरस’ समूहअन्तर्गत पर्छ । यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ । जापानीज इन्सेफलाइटिस प्रायः धान खेती हुने ठाउँ, स्थिर पानी जम्ने क्षेत्र, सुँगुर र हाँस पालन हुने स्थानमा बढी देखिन्छ ।
डेंगुको तुलनामा केस संख्या कम देखिने भए पनि मृत्यु दर भने उच्च रहने भएकाले यसबाट हुने संक्रमण र मृत्यु दर घटाउन संघीय, प्रदेश र स्थानीय सरकारले प्राथमिकताका साथ काम गर्न जरुरी छ । जापानिज इन्सेफलाइटिसबाट भइरहेको मानवीय क्षतिलाई सामान्य रुपमा लिन हुँदैन । तसर्थ तीनै तहका सरकारले समन्वय गरेर विशेष योजना र रणनीतिका साथ नागरिकको ज्याउन बचाउनेतर्फ गम्भीर भएर लाग्नुपर्ने खाँचो छ ।




