श्रीकृष्ण सिग्देल
स्याङ्जा
स्याङ्जामा बैंक तथा वित्तीय संस्थाहरुले गरेको लगानी उठाउन सक्रिय देखिएका छन् । अनुत्पादकमा लगानी गरेर कर्जा असुलीमा अफठ्यारो भोग्दै आएका बैंक तथा वित्तीय संस्थाहरुले लगानी असुलीमा सक्रियता देखाएका हुन् । धितो सुरक्षण राखेर लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले असुलीमा समस्या हुने देखेपछि लिलामी गरेर भए पनि धमाधम घरजग्गा सकार्ने काममा लागिरहेका छन् । जिल्लाभर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र बचत तथा ऋण सहकारीहरुले कर्जा लगानी गर्दै आएका छन् ।
यसको तथ्याङ्क हेर्ने हो भने झण्डै २ सयभन्दा माथि वित्तीय संस्थाहरुले अर्बांै लगानी गरेको पाइन्छ ।
जिल्ला मालपोत कार्यालय स्याङ्जा र मालपोत कार्यालय वालिङको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८१-०८२ मा बैंक तथा सहकारीहरुले २१ ओटा घरजग्गा धितो लिलाम गरी आफँै सकारेको देखिएको छ । एक वर्षको अवधिमा २१ घरजग्गा धितो सकारेका बैंकहरुको लामो तथ्याङ्क हेर्ने हो भने जिल्लाभर सयौं घरजग्गा बैंक र सहकारीको नाममा रहेको हुन सक्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ४ ओटा बैंक र ४ ओटा सहकारीले धितो लिलाम गरी घरजग्गा सकारेका छन् । घरजग्गा सकार्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, आई सिं एण्ड सिं फाइनान्स रहेका छन् भने सहकारीहरुमा उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी, गाउँले बचत तथा ऋण सहकारी, ग्रामीण कृषि सहकारी, इनर्जेटिक बचत तथा ऋण सहकारी रहेका छन् ।
बैंक र सहकारीले लिलामी बढाबढ सूचनाको आधारमा केही धितो जग्गा भने व्यक्तिले सकारेको मालपोतको तथ्याङ्कबाट देखिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ३, मुक्तिनाथ विकास बैंकले ३, ज्योति विकास बैंकले ४, कामना सेवा विकास बैंक, आई सिं एण्ड सिं फाइनान्स र ऋण असुली न्यायीधिकरणले एक—एक ओटा धितो लिलाम गरेका छन् । यसैगरी गाउँले बचत तथा ऋण सहकारीले ३, उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मी सहकारी, ग्रामीण कृषि सहकारी, इनर्जेटिक सहकारी र ग्रामीण सहकारीले एक—एकवटा धितो लिलाम गरेका छन् ।
बैंक र सहकारीले धितो लिलाम गरी सकारेबापत लाभकर १ करोड ४८ लाख २ हजार ४ सय १ संकलन भएको छ । घरजग्गा लिमाली प्रक्रियामा गएपछि बैंक र सहकारीहरु ऋण असुलीमा आक्रमक देखिएको यो तथ्याङ्कले देखाउँछ ।
बंैकिङ् प्रतिस्पर्धाका कारण कुनै कार्ययोजना नबनाइ नागरिकलाई कर्जा लगानी गर्दा ऋणिलाई तिर्नेबेला समस्या हुँदै आएको छ । लगानी गर्दा एउटा व्याजदर कायम गरिदिने र केही समयपछि पुनः अर्को व्याजदर कायम गरिदिँदा पनि ऋणीले सावाँव्याज तिर्न नसकेको गुनासो गरिरहेका छन् । अनुत्पादकमा लगानी र ऋणीलाई सावाँव्याज तिर्ने वातावरण वित्तीय क्षेत्रले नबनाउँदा धेरै नागरिकको घरबास समेत गुम्ने खतरा बढेको छ ।
मालपोत कार्यालय स्याङ्जा र वालिङमा विभिन्न वित्तीय संस्थाहरुले २२६३ घरजग्गा रोक्का राखेका छन् । लगानी गर्दा धितो सुरक्षणका लागि सम्पति राख्ने कानुनी मान्यता पाएपछि वित्तिय संस्थाले आर्थिक बर्ष २०८१÷०८२ मा सहकारीले १ हजार २ सय ६, बैंकले १ हजार २५ र अन्यले २३ घरजग्गा रोक्का राखेर कर्जा लगानी गरेका छन् । घरजग्गा रोक्का राखे बापत मालपोत कार्यालयले ८८ लाख १९ हजार ५ सय रकम राजस्व संकलन गरेको जनाएको छ । गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा लिलामी हुने संख्या अझै बढ्न सक्ने बताइएको छ ।




