बुटवल । सामाजिक सञ्जाल बन्दको विरोधमा बुटवलमा जेनजी पुस्ताका युवाले प्रदर्शन गरेका छन् । उनीहरू भ्रष्टाचार, अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको नियन्त्रणकारी निर्णयविरुद्ध सडकमा उत्रिएका हुन् ।
बिहानैदेखि प्लेकार्ड र नाराबाजीसहित प्रदर्शनमा जुटेका युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका छन् ।
‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताले पसिना बगाउँछन्’, ‘भ्रष्टाचार अन्त्य गर, सामाजिक सञ्जाल होइन’जस्ता नारा लगाएर उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रदर्शनका क्रममा युवाले रुखविरुवा नष्ट नगर्ने, सार्वजनिक सम्पत्ति तोडफोड वा आगजनी नगर्ने, धम्की नदिने, सभ्य र जिम्मेवार ढंगले प्रस्तुत हुने प्रतिज्ञासमेत गरेका छन् ।












