भैरहवा । ‘जेनजी’को प्रदर्शन देशभर उग्र भएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ । रुपन्देहीमा पनि जेनजीले प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवामा भएको प्रदर्शनमा नाराबाजीसहित कांग्रेस पार्टी कार्यालय पुगेका प्रदर्शनकारीले तोडफोड गरे ।
स्थिति नबिग्रियोस् भन्ने उद्देशले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सोमबार (भदौ २३) दिउँसो ४ देखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ एकसय मिटरसम्म चार किल्ला तोकिएको छ ।
त्यस्तै, बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चार किल्ला तोकिएको हो ।
प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ, "चार किल्लाको सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।"




