२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रेम सुनारको छोरालाई पत्र: “छोरा, बूढो घर नभत्काउनु”

प्रेम सुनारको छोरालाई पत्र: “छोरा, बूढो घर नभत्काउनु”

प्रेम सुनारको छोरालाई पत्र: “छोरा, बूढो घर नभत्काउनु”

प्रेम सुनारको छोरालाई पत्र: “छोरा, बूढो घर नभत्काउनु”

प्रेम सुनारको छोरालाई पत्र: “छोरा, बूढो घर नभत्काउनु”
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • प्यारा छोरा विजय र अजय,
    तिमीहरू दुबैलाई मेरा आशिर्वादसहित केही मनका कुरा लेख्दै छु। उमेरले म बूढो भइसकेँ, अब यो घर–परिवार चलाउने जिम्मा तिमीहरूकै काँधमा छ।

    तिमीहरूले मलाई र आमालाई स्याहार–सुसार गरेर मात्र होइन, यो घरलाई मुल खाबो जस्तै सुरक्षित राखेर परिवारका सबै सदस्यप्रति आदर, सम्मान र आत्मीयता बढाउनु। हजुरबुवा–हजुरआमा, काका–काकी, दाजुभाइ–दिदीबहिनी सबैसँग हार्दिक सम्बन्ध राख्नु।

    म तिमीहरूलाई हुर्काउँदा भोगेका कठिन दिन सम्झाउँछु। बुहारी र ससुबिच मेल नमिल्दा म छुट्टै गाईबाख्राको कटेरामा बस्न बाध्य भएँ। गोबर गन्हाउने चिसो भुइँमा लहरै सुत्थ्यौँ, खानाको अभावमा तिमीहरूकी आमा बिहानै बिहानै घर–घर ढोका ढकढक्याउन जान्थिन्। कहिले भोकै, कहिले छिमेकबाट मागेर छाक टर्थ्यौँ। धेरैपटक आलु र आरु उसिनेर मात्र दिन गुजार्यौँ।

    त्यस कठिन समयमा ऋणको भारीले परिवार दबिएको थियो। साना किसान बैंकले घर–जग्गा लिलाम गर्ने अवस्था आयो। धन्न, माओवादी आन्दोलनले त्यो ऋण मिनाहा गरायो। त्यसैमा बाँच्यौँ।

    तर, जातीय विभेद भने सर्वत्र थियो। नेपाली सेनामा भर्ती हुँदा पनि हामी दलितलाई ‘मानव’ जस्तो व्यवहार गरिँदैनथ्यो। अरूलाई सामान्य ‘फेल’ भनेर छातीमा लेखिदिँदा, लक्ष्मण परियारलाई भने “दमै दाइ, अब तिमी घरमै जाउ, बाजा बजाउ” भनेर अपमान गरियो। सेनामा पुगेपछि त अझ पीडादायी अनुभव भयो—अरू टेबुल–कुर्सीमा खान्थे, हामीलाई भने झिंगामाखी मण्डिनेसम्मको ठाउँमा बसाएर भात खुवाइन्थ्यो। दशैंमा टीका दिन पनि अरूलाई हातमा राखेर दिदा, हामीलाई पातमा हालेर दिन्थे।

    यी विभेदविरुद्ध आवाज उठाउँदै, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामार्फत राजासम्म पत्र पुर्‍याएको पनि यही हातले हो। त्यही उत्पीडन र अन्यायले मलाई माओवादी आन्दोलनमा होमिन बाध्य बनायो। आठ वर्षकी छोरी रञ्जु समेत स्कुल छोडेर जंगल पसिन्। देशभर हजारौं दलित बालबालिका युद्धमा लागे।

    २०६२/०६३ को जनआन्दोलनले दलित, मधेसी, मुस्लिम, महिला लगायत पछाडि पारिएका समुदायलाई अहिलेको अधिकारको थलोमा पुर्‍यायो। तर छोराहरू, यो अधिकार सहजै आएको होइन—हजारौंको बलिदानले प्राप्त भएको हो।

    आजको चुनावी प्रणालीले दलितलाई अझै सत्तासम्म पुर्‍याउन सक्दैन। पैसा भएका विनोद चौधरीहरू मात्र शीर्षमा पुग्छन्। त्यसैले हामीले पूर्ण समानुपातिक प्रणालीका लागि अझै लड्नुपर्नेछ। तिमीहरूको पुस्ताले पनि यही लडाइँलाई अघि बढाउनुपर्छ।

    अनि एक कुरा—तिमीहरूले शहरमा नयाँ घर बनाए पनि गाउँको बूढो घर नभत्काउनु। त्यही घरमा हजुरबुवा–हजुरआमाको सम्झना बस्छ, त्यहीँ चुलोमा पकाइएको खाना पितृलाई चढाएर दशैंको टीका लगाउँछौँ। बूढो घर हाम्रो इतिहास हो, त्यसलाई जोगाउनु।

    जीवनमा जति संघर्ष, अन्याय र पीडा सहे पनि अझै परिवर्तनका लागि मेरो मनमा जोश–उर्जा बाँकी छ। जसरी घर चलाउन अनुभव र नयाँ सोच मिल्नुपर्छ, त्यसरी नै देश पनि पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको दृष्टिकोण मिलाएर चलाउनुपर्छ।

    महात्मा गान्धीले भारतलाई अगाडि बढाउँदा बूढो उमेरमै नेतृत्व गरे, मलेसियालाई माथि उठाउने महाथिर मोहम्मद पनि वृद्धावस्थामै थिए। त्यसैले उमेरले होइन, विचारले समाज बदलिन्छ।

    अन्त्यमा, मेरो आग्रह एउटै छ—
    बूढो घर जोगाउनु, पुराना पुस्ताको अनुभवलाई आदर गर्नु, र नयाँ पुस्ताको विवेक प्रयोग गरेर देशलाई सही बाटोमा लैजानु।

    —तिम्रो बाबु,

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij