विमल पोखरेल
मैले आज ठोकुवा गर्छु, इतिहासका कुनै पनि कालखण्डमा मैले यी शब्द फिर्ता लिन्न र झुक्दिनँ । जनताले धागोको धर्सो पनि प्राप्त गरेका छैनन् ।
१. विवेक र बुद्धि गुमाएको कलंकित तथा कालो धब्बा पोतिएको र महाअपराध र विध्वंशमा सहभागी कथित जेनजी पुस्ताले खरानीबाहेक केही प्राप्त गरेको छैन । कथित जेनजीहरू पासपोर्ट बोकेर विदेश जान तयार भएकै होलान् । देश नेपाल जस्तो रहेन् । देश बंगलादेश, युक्रेन र प्यालेस्टाइन बनेको छ । एक्लै भइयोस्, सत्य बोल्न छोडिन्न ।
२. सिंहदरबार जलाउनुपर्छ भन्ने बालेन्द्रको माग पूरा भएको छ । आज सिंहदरबार जलेर ध्वस्त भएको छ ।
३.देश बंगलादेश बन्छ भनेर धम्की दिने प्रचण्ड, बाबुराम भट्टराई र चित्रबहादुर केसीको माग पूरा भएको छ । देश बंगलादेश मात्रै होइन्, युक्रेन र प्यालेस्टाइन पनि बनेको छ ।
४. मान्छे मारेर, बलात्कार गरेर, लुटेर अपराधको सजाय भुक्तान गर्न जेलमा बसेका कास्की र कैलालीका हजारौं अपराधी छुटे । तिनीहरूलाई साम्यवाद आयो ।
५. जेनजी भन्दै उफ्रिने प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा, सुशीला कार्की, राजेन्द्र लिङ्देन, कुलमान घिसिङहरूको माग पनि पूरा भएको छ । कुख्यात ठगी गिरोहको नाइके र राप्रपाहरूले चाहेकै यही थियो । तिनीहरू विजय उत्सव मनाइरहेका छन् । मैले लाखौं पटक भन्छु, सहकारी ठगीको कुख्यात नाइकेको गिरोह कुनै राजनीतिक शक्ति होइन् ।
६.सिंहदरबार, अदालत खरबौंको सम्पत्ति जलेर ध्वस्त भएपछि ठेक्का पाउने ठेकेदार, ठेक्का लगाउने नेता र कर्मचारीको माग पनि पूरा भएको छ । अरबौं भ्रष्टाचार गर्ने इतिहासकै सबैभन्दा ठूलो राजमार्ग तयार भएको छ ।
७. केही सम्पादक र पत्रकारहरूको पाखण्ड र उक्साहट सामान्य थिएन । धेरै सम्पादक र पत्रकारको माग भयंकर पूरा भएको छ । किनभने तिनीहरूलाई ध्वंसको रिपोर्टिङ गरेर टीआरपी बटुलेर ज्यान पाल्नु थियो । पत्रकारको खतरनाक गिरोह विक्रीका मालबाहेक केही थिएन । मैले तिनीहरूबाट कहिल्यै पत्रकारिताको अपेक्षा गरिन् ।
८.भाटभटेनीमा आगो लगाएपछि रोजगारी गर्नै परेन् । टन्टै साफ भयो । देश लुटेरा भन्दै तिरस्कार गरिएका मिनबहादुर गुरुङलाई ध्वस्त बनाइयो ।
९. अरबौंको चन्द्रागिरी केबुलकार ध्वस्त बनाइयो । अरबौं कर तिर्ने चन्द्र ढकाललाई स्वाहा पारियो । यो देशलाई मिनबहादुर गुरुङ र चन्द्र ढकालहरू चाहिएकै होइनन् ।
१०. सम्भवतः अब उद्योग, कारखाना नेपालमा खुल्दैनन् । थप बन्द हुँदै जान्छन् । उद्योगी, व्यापारी विदेश पलायन हुन्छन् । किनभने नेपालमा उद्योगी र व्यापारी कहिल्यै सुरक्षित भएनन् ।
११. विनोद चौधरी धेरै दूरदर्शी उद्योगपति रहेछन् । देशमा सम्पत्ति सुरक्षित छैन भन्ने जानेरै विदेशमा लगानी गरेका रहेछन् ।
१२. सामाजिक सञ्जाल हेर्दा मेरा बाहेक सबैका माग पूरा भएको देखियो । कथित जेनजीहरूको विध्वंशलाई समर्थन गर्ने व्यक्तिले क्षति भयो, घुसपैठ भयो, सिंहदरबार, सर्वोच्च जलाउनु गलत भयो भन्ने कोही कसैसँग कुनै नैतिकता बाँकी छैन ।
१३. सूचना प्रविधिको दुनियाँ नबुझ्ने स्वाँठ र लठैतहरूलाई थाहा थियो कि थिएन ? फेसबुक, ह्वाटसएप, भाइबरमा खोलिएका सयौं गु्रपमा कहाँ—कहाँ जलाउने भनेर योजना बनेकै थियो, गुगल म्याप शेयर भएकै थियो । जसरी ती गु्रपमा योजना बनेको थियो, त्यसरी जलाउने र ध्वस्त गर्ने काम सम्पन्न भएकै छ ।
१२ मैले ठोकेर भन्छु, मैले त्यो नैतिकता बाँकी राखेको छु । किनभने मैले यो विध्वंसको कहिल्यै पनि समर्थन गरेको थिइन् । यो जनताले धागोको धर्सोे पनि प्राप्त नगरेको इतिहासकै सबैभन्दा ठूलो विध्वंस हो । सारा दुनियाँ एकातिर हुँदा पनि सत्यको पक्षमा एक्लै उभिन सक्नुपर्छ भन्ने मान्यता राख्छु ।
१३. मलाई केपी ओलीको कुशासनको पक्षमा देख्नेहरू रतन्धो लागेकाहरू हुन् भन्ने पूरापूर दृढ छु । एक थान केपी ओलीलाई चुनावबाट हराउन सकिन्थ्यो भन्ने मान्यतामा विश्वास गर्ने व्यक्ति हुँ ।
१३. चुनावमा रक्सी, मासुमा बिक्री भएर भोट हालेको कथित जेनजी पुस्ताको अबको गन्तव्य अरबको खाडी, मलेसिया, जापान वा कहाँ कहाँ जान मन लागेको छ त्यहीँ हो । जापानी र कोरियन भाषाको तयारी गर्दै गर्नु, म्यानपावर धाउँदै गर्नु । शुभकामना छ !
यति चाहिँ ठोकेरै भनिहालौं, खरबौंको विध्वंस भएको छ । देश अर्को एक दशक पछि धकेलिएको छ । खरानीमा केही भेटिंदैन, नखोजे हुन्छ । अबको परिणाम यत्ति हुनेछ ।
क. देशको न्याय र प्रशासनिक इतिहास जलेको असर सयौं वर्षसम्न रहनेछ । जसरी नालन्दा विश्वविद्यालय जलाएर पूर्वीय दर्शनको इतिहास ध्वस्त बनाइयो, त्यसरी नै नेपालको न्यायिक इतिहास, प्रशासनिक इतिहास, सन्धिसम्झौतालगायत देशको लागि हजारौं वर्ष पछिसम्म आवश्यक पर्ने इतिहास जलाएर ध्वस्त बनाइयो । अध्ययन, अनुसन्धान गर्ने इतिहासकार, अनुसन्धानकर्ताले कहिल्यै कुनै सामग्री प्राप्त गर्ने छैनन् ।
ख. एक थान नयाँ प्रधानमन्त्री, दुई दर्जन मन्त्री, केही दर्जन व्यक्तिलाई पीएको जागिर खुल्यो । लुटको नयाँ स्वर्गको सुरुआत भएको छ । शासकहरू स्कर्टिङका साथ जलेर ध्वस्त भएको सिंहदरबार—बालुवाटार ओहोरदोहोर गर्नेछन् ।
ग. शिक्षा, स्वास्थ्य र विकासको लागि छुट्याइएको अरबौं रकम सिंहदरबार, बालुवाटार, सर्वोच्च अदालतलगायत भवन बनाउन खर्च हुनेछ ।
घ.जनताको लागि धागोको धर्सो पनि प्राप्त भएको छैन । आज ज—जसले बैंक, कार्यालय लुटेर नगद र कम्प्युटरलगायत सामान प्राप्त गरेका छन्, त्यत्ति हो ।
अन्त्यमा,
१. प्रचण्डलाई सत्तामा पु¥याउनेहरू अहिले अरबको खाडी र मलेसियामा पसिना बगाउँदै छन् । किनभने तिनीहरू यस्तै विध्वंश गरेर आएका थिए ।
२. ओलीलाई सत्तामा पु¥याउने छोराछोरीहरूको पनि त्यही हालत भएको छ, किनभने तिनीहरू मासुभातमा बिक्री भएका थिए ।
३. कथित जेनजीहरूले पनि पासपोर्ट बनाएकै होलान्, एक थान प्रधानमन्त्री र दुई दर्जन मन्त्री फेरेर विदेश जान तयार भएर बसे हुन्छ । किनभने तिमीहरूलाई हजारौं वर्षको इतिहासले पनि माफी दिने छैन । यो विध्वंसको जिम्मेवारी लिने कोही छैन ।
४.जनता कोही कसैले धागोको धर्सो पनि प्राप्त गरेका छैनन् । देशले अरबौंको क्षति व्यहोरेको छ । देश बंगलादेश, युक्रेन, प्यालेस्टाइन बनेको छ । धेरैलाई यही चाहिएको थियो । किनभने तिनीहरूको व्यापार खरानीमा फस्टाउँछ । तिनीहरूलाई बारम्बार खरानी चाहिन्छ ।
शान्ति, समृद्धि, इतिहास, संस्कार, संस्कृति, सभ्यता चाहिने मजस्ता लाखौंको मन रोएको छ । हामीले खरानीमा केही पनि भेटाउने छैनौं । जुन देशको इतिहास मेटिन्छ, त्यो देश कहिल्यै काम लाग्दैन । त्यहाँका जनता कहिल्यै सुखी हुन सक्दैनन ।
लेख्न धेरै थियो, लेख्दै गरौंला । खरानीमा समृद्धि खोज्ने जेनजीहरू त्यही खरानी बटुलेर निधारमा लगाउन जानू । बुद्धि, विवेक सबै गुमाएर इतिहास मेटाएको कलंकित पुस्तालाई खरानी बाहेक केही पनि प्राप्त भएको छैन ।




