२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भदौ २३ः एक शंखनाद

भदौ २३ः एक शंखनाद

भदौ २३ः एक शंखनाद

भदौ २३ः एक शंखनाद

भदौ २३ः एक शंखनाद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • कमल सिलवाल
    म कोही होइन, केवल एउटा सामान्य नागरिक, जसले आफ्नो दृष्टिकोणबाट सत्य के हो भनेर लेख्ने प्रयत्न गर्दैछु । मैले बाँचेका प्रत्येक पलले मलाई सिकाएको कुरा नै मेरो सत्य हो । यही साेंचका बिचमा एउटा अध्ययन÷प्रयोग गरियो, जसलाई मिल्ग्राम आज्ञापालन प्रयोग (१९६१–१९६३) भनिन्छ, जुन स्ट्यान्ली मिल्ग्रामले येल विश्वविद्यालयमा सञ्चालन गरेका थिए ।


    मिल्ग्रामको प्रयोग सरल देखिन्थ्यो, तर यसले देखाएको सत्य अत्यन्त गहिरो थियो । सहभागीहरूलाई भनिन्थ्यो कि उनीहरूले “विद्यार्थी” लाई प्रश्न सोध्नुपर्छ, र गल्ती गरेमा बिजुलीको झट्का दिनुपर्छ । हरेक गल्तीपछि झट्काको स्तर बढ्दै जान्थ्यो, सामान्यदेखि घातक स्तरसम्म । “विद्यार्थी” वास्तवमा अभिनयकर्मी थिए, अभिनय गरिरहेका थिए, तर सहभागीहरूलाई त्यो कुरा पटक्कै जानकारी दिइएको थिएन ।


    नतिजा भयावह थियो । अधिकांश सामान्य मानिसहरूले आदेश दिने अधिकार सम्पन्न व्यक्तिको दबाबमा आफ्नो अन्तरात्माको आवाजलाई दबाएर अन्तिमसम्म झट्का दिन जारी राखे । उनीहरू निर्दयी भएर होइन, आदेशको तागतले मात्र त्यस्तो गर्न पुगेका थिए । यो मनोवैज्ञानिक प्रयोगले देखायो कि अधिकार प्राप्त व्यक्तिको आदेशले मानिसलाई सजिलै अन्तरात्माविरुद्ध धकेल्न सक्ने रहेछ ।


    आज नेपालमा त्यस्तै भयो ।  यही सत्य सडकमा देखा परेको छ ।  हालै भएको प्रदर्शनमा दर्जनभन्दा बढी नेपाली युवा नागरिकको ज्यान गयो । ती ज्यानहरू विदेशी शत्रुको हातबाट होइन, आफ्नै देशका सुरक्षाकर्मीको हातबाट खोसियो । प्रहरी, जो आफैं पनि परिवार र समाजका सदस्य हुन्, आदेशको शृंखलामा बसेर ट्रिगर थिचे । प्रदर्शनकारीहरूले मौनता तोडेर आफ्नो आवाज उठाए । आदेश माथिबाट आयो, र परिणाम भयो, रगत र शोक ।


    त्यसैले प्रश्न उठ्छः जिम्मेवारी कसको हो ? गोली चलाउने प्रहरीको, सडकमा उभिएका प्रदर्शनकारीको, जसले आफ्नो आवाज उठाउँदा सिमाना नाघे, वा नेतृत्व तहका मानिसहरूको, जसले यस्तो प्रणाली खडा गरे, जहाँ आदेशलाई जीवनभन्दा माथि राख्ने व्यवस्था सम्भव भयो ?


    मिल्ग्रामको प्रयोगले देखाएको थियो कि मानिसहरु प्रायः अधिकार प्राप्त व्यक्तिको आदेश मान्छन् । तर नेपालमा यसको मूल्य केवल सैद्धान्तिक र ल्यवमा गरिएको प्रयोगमा मात्र सीमित छैन; यो हाम्रो जमिनमा खसेको रगत हो, परिवारले गुमाएका प्रियजनहरु हुन् ।


    हाम्रो अर्को पीडा यो हो कि जब हामीलाई गर्वको कुरा गर्न भनिन्छ, हामीलाई विगत देखाइन्छ, हिमाल देखाइन्छ, मन्दिर देखाइन्छ, इतिहास देखाइन्छ । तर आज हामीले अबको पुस्ताले गर्व गर्नसक्ने के निर्माण गरेका छौँ ?  हिमाल प्रदूषित छन्, नदीहरू अवरुद्ध छन्, राजनीति भ्रष्टाचारले ग्रसित छ । हामी विगतमा गर्व खोज्छौँ किनभने वर्तमानले गर्व गर्ने आधारहरु नै निर्माण गरिदिएको छैन । त्यसैले आजका युवापुस्ता सडकमा छन् । उनीहरू भ्रष्टाचार देखेर थाकिसकेका छन्, विशेषाधिकारको चक्र देखेर निराश छन्, भविष्य खाली देखेर आक्रोशित छन् । उनीहरूले मौनता तोडेर सडक रोजे, देशविरुद्ध होइन, देशकै लागि । र त्यसको प्रतिफल गोली बनेर फर्कियो ।


    मिल्ग्रामको प्रयोग केवल एक चेतावनी होस् भन्ने थियो, तर नेपालमा त्यो प्रयोग नै जीवन्त वास्तविकतामा परिणत भएको छ ।
    त्यसैले अन्तिम प्रश्न अझै उस्तै छः यी मृतकहरूको वास्तविक जिम्मा कसको हो ?  गोली चलाउने हातको, विरोध गर्ने स्वरको वा त्यो शक्तिको जसले आदेशलाई जीवनभन्दा माथि राख्ने प्रणाली निर्माण ग¥यो ?


    उत्तर सजिलो छैन । तर जबसम्म हामी यसलाई प्रष्टसँग सामना गर्दैनौँ, तबसम्म हामी यसै चक्रमा फसिरहनेछौँ, जहाँ आदेशले फेरि फेरि ज्यान लिन्छ, र हाम्रो गर्व विगतमा मात्र सीमित हुन्छ, भविष्यमा होइन ।
    (लेखक बुबा हुन् एक जेन जी सन्तानको । लेखनको उद्देश्य कसैको पक्ष वा विपक्ष नलिई पाठकलाई एउटा प्रश्न सोध्न सक्ने बनाउनको लागि मात्र हो ।)

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij