भैरहवा । नयाँ पुस्ता (जेनजी)को प्रदर्शनले अस्तव्यस्त बनेको नेपालसहित रुपन्देहीको अवस्था सामान्य बन्दै गएको छ । व्याप्त भ्रष्टाचार र सुशासनको विरुद्ध सोमबार र मंगलबार जेनजी पुस्ताले गरेको आन्दोलनपश्चात् सिर्जित विषम परिस्थितका कारण अवस्था प्रभावित बनेको थियोे ।
शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुसीला कार्कीलाई नियुक्त गरेसँगै जनजीवन लयमा फर्किन लागेको हो ।
रुपन्देहीको भैरहवा बजार विस्तारै चलायमान बनेको छ भने सीमा नाका बेलहियामा शनिबार बिहानबाट आवतजावत बढेको छ । सडकमा निजी सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको छ । सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ परिचय पत्रबाट पहिचान जाँच गरी मात्रै ओहोरदोहोर भइरहेको छ ।
दुवै देशतर्फ सवारीसाधनहरुसहित आवतजावत बिहानैबाट सुचारु भएको छ । भैरहवा भन्सार कार्यालयमा पनि बिहीबारबाट आयात निर्यातको काम सुचारु गरिएको छ । जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका संरचनाका बाबजुद पनि अत्यावश्यक सामग्रीहरू निर्यात आयात सेवालाई भन्सारले आशिंक रुपमा सुचारु गरेको हो । चाडपर्वलाई लक्षित गरी भारततर्फ रहेका मालवाहक ट्रकहरु धमाधम भन्सारमा भित्रिरहेका छन् । भने अतिआवश्यक पेट्रोलियम पदार्थ ।
कच्चा समान औषधी, तरकारी फलफूललगायतको ट्रकहरु जाँचपास भइरहेको छ भने निर्यातको ट्रकहरु पनि बाहिरीएको भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जानकारी दिए ।
रुपन्देहीमा शनिबार कफ्र्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक डा.टोकराज पाण्डेले जानकारी दिए ।
विद्यालय आइतबारबाट खुल्ने
रुपन्देहीका विद्यालय आइतबारबाट नियमित रूपमा सञ्चालनमा हुने भएका छन् । जेनजीको आन्दोलनका कारण बन्द भएका विद्यालय सञ्चालनमा आउने भएका हुन् ।
शनिबार प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाल, नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडे र हिसानका अध्यक्ष कृष्णबहादुर न्यौपानेले संयुक्त रूपमा विज्ञप्ति जारी गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको जानकारी गराएका छन् ।
विज्ञप्तिमा आन्दोलनका कारण असमान्य परिस्थिति सृजना भई शैक्षिक क्षेत्र प्रभावित हुन पुगेको भन्दै विद्यालय, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शैक्षिक समुदायको चासो र भविष्यलाई ध्यानमा राखी पठनपाठन नियमित गरी आइतबारदेखि शैक्षिक गतिविधि सुचारु गर्ने जनाएको छ ।
सरसफाइमा जुटे स्थानीय
जेनजी प्रदर्शनकारीले गरेको तोडफोड र अगजनीभएको क्षेत्रमा स्थानीयहरु जुटेर सरसफाइ गरिरहेका छन् । रुपन्देहीको भैरहवामा अवस्थित जिल्ला ट्राफिक कार्यालयमा शनिबार स्थानीय गोलिगढ टोल सुधार समितिले सरसफाइ गरेको छ ।
आगलागी र तोडफोडले क्षति पुगेको कार्यालयमा बिहानैदेखि जुटेका स्थानीयहरुले सरसफाइ गरी कार्यालय व्यवस्थापन र पुनर्रसञ्चालनका लागि सहजता गरेका छन् ।
आन्दोलनकारीद्वारा गरिएको आगलागीले भवनको भौतिक संरचनामा क्षति पुगेको छ भने अधिकांश फर्निचर, कागजपत्र र उपकरणहरु जलेर नष्ट भएका छन्, प्रदर्शनकारीहरुले कारबाहीका लागि रहेको केही मोटरसाइकलहरु पनि लुटेर लगेका छन् । भवन बस्नयोग्य बनाइएको छ । भवन अभावका कारण प्रहरीलकोे नियमित कामकाज तथा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ ।
यस्तै गल्लामण्डीमा रहेको पिपरहिया चौकीमा भएको आगलागीपछिको तोडफोडले सञ्चालनको अवस्था नभएपछि स्थानीय युवाहरुले सरसफाइ गरेका छन् । आन्तरिक राजस्व कार्यालय भैरहवामा पनि सरसफाइ गरिएको छ ।




