प्रधानमन्त्री शुसीला कार्की नियुक्त भएको दुई दिन बित्दा समेत मन्त्रिपरिषद्का अरु सदस्यबारे अन्यौल कायमै हुनु संकटको यो विषम अवस्थामा स्वभाविक होइन् । मुलुकको गृहप्रशासन क्षतविक्षत भएको छ, पूर्वाधार मात्रै नभई प्रहरीको खस्केको मनोबल उकास्ने नेतृत्व जति छिटो आवश्यक छ, अरु महत्वपूर्ण मन्त्रालयले नेतृत्व छिटो पाउँदा सरकारले गति लिन सक्छ ।
प्रधानमन्त्री नियुक्त भएपछि शुसीला कार्कीले दिनुपर्ने प्राथमिकता हो, मन्त्रिपरिषद्का सदस्यको चयन । सबै सम्भव नभए पनि महत्वपूर्ण मन्त्रालयको नेतृत्वका बारेमा निर्णय लिन जति ढिलाइ हुन्छ, सरकारको काममा समस्या पर्छ । गृह, अर्थलगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा जाने व्यक्तिबारे प्रधानमन्त्रीले लिने निर्णयले सरकारको आगामी मार्गचित्र छिटो स्पष्ट हुन्छ ।
आगामी ६ महिनाभित्र चुनाव गराउनुपर्ने महत्वपूर्ण जिम्मेवारीसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित विभिन्न प्रशासनिक केन्द्रमा आगजनी भएको र त्यसले भएको क्षतिले प्रशासनिक निकाय काम गर्नै नसक्ने अवस्थामा छन् । सर्वोच्च अदालतमा भएको आगजनीले यहाँ पाल टाँगेर काम सुरु गरिएको छ । काठमाडौंका विभिन्न प्रहरी कार्यालयसहित विभिन्न जिल्लाका प्रहरी कार्यालयमा भएको क्षति र लुटिएका हतियारका कारण प्रहरीको मनोबल खस्केको छ ।
विभिन्न कारागारका कैदी बन्दी भागेर विभिन्न ठाउँमा पुगेकाले समाज त्रस्त छ । अहिले विभिन्न ठाउँमा समुदायले प्रहरीलाई सहयोग गरी काम गर्ने वातावरण तयार गर्दैछ । आगजनी भएको भवन मर्मतको लागि समुदायले पैसा संकलन गरी प्रहरीलाई बस्न योग्य बनाउने र अन्य आवश्यक सहयोग गरी प्रहरी–समुदाय सहकार्यले संकटमा परेको प्रहरीलाई साथ मिलेको छ । समुदायको यो सकारात्मक कार्यलाई अझ बढाउन आवश्यक छ । त्रस्त र आतंकित समुदायलाई साथै लिएर अघि बढ्नको लागि पनि गृहमन्त्रालयको नेतृत्व छिटो चाहिन्छ । अर्को महत्वपूर्ण अर्थ मन्त्रालयको नेतृत्वको लागि योग्य पात्रको खोजी गर्न ढिलाइ गर्न हुन्न । अर्थमन्त्रालयको नेतृत्व परिपक्क र इमान्दार भयो भने निजी क्षेत्रको खस्केको मनोबल उकास्न सक्छ । अन्तर्राष्ट्रिय समुदायसँग सहयोग लिनसक्छ ।
प्रधानमन्त्री एक्लैले लामो समय मुलुकको शासन व्यवस्था सम्हाल्दा अराजक समाज झनै अराजक बन्ने जोखिम छ । प्रधानमन्त्री नियुक्त भएपछि आगजनी भएका प्रहरी कार्यालयको निरीक्षण र अस्पतालमा उपचाररत घाइतेलाई भेट गरी प्रधानमन्त्रीले वस्तुस्थिति बुझ्नु भएको छ । अब कम्तिमा महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्त गर्न ढिलाइ गर्न हुन्न । मुलुकमा छिटो लयमा हिंडाउन सक्दा समाजले शान्ति र चयनको शास फेर्न सक्छ । समाजलाई लयमा हिंडाउनका लागि प्रधानमन्त्रीले आफ्ना सारथीहरु छिटो चयन गर्नु अनिवार्य छ ।




