भैरहवा । रूपन्देहीका कार्यालयहरु सुचारु भएका छन् । जेनजी समूहले गरेको आन्दोलनपश्चात् रोकिएको सरकारी कार्यालयका सेवा प्रभाव आइतबारबाट सुचारु भएको हो । सुरक्षित कार्यालयहरुबाट पूर्ण नियमित सेवाहरु र क्षति ग्रस्त कार्यालयहरुबाट आंशिक रुपमा सेवाहरु प्रवाह भइरहेको छ ।
भैरहवाको आन्तारिक राजस्व कार्यालय, भैरहवा भन्सार कार्यालयलगायतको धेरै क्षति भएका कार्यालयले कार्यालय परिसरबाट आंशिक सेवा सुरु गरेको छ । बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात बिहीबारबाट सुरु गरेको हो ।
तोडफोड र आगजनीका कारण ठप्प भएको भन्सार कार्यालयको सेवा जे जस्तो अवस्थामा भए पनि आयत निर्यात प्रभावित गर्नु हुँदैन भन्ने उद्देश्यले बाहिर टेन्ट टागेर भए पनि सेवा दिँदै आएको छ । प्रदर्शनकारीले कार्यालयमा क्षति पु¥याए पनि त्यसको वैकल्पिक व्यवस्था गरी आगजनीबाट ध्वस्त भएका संरचनाका बाबजुद पनि अत्यावश्यक सामग्रीहरू निर्यात आयात गरिरहेको भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने जानकारी दिए ।
भन्सार कार्यालय अगाडि टेन्ट टागेर ल्यापटपबाट सेवा दिइरहेको छ । डिजिटल सिस्टममा अवरोध भएपछि म्यानुअल भए पनि भन्सार जाँचपासको काम भइरहेको छ ।
आन्दोलनको क्रममा सरकारी र गैरसरकारी दुवै क्षेत्रमा क्षति भएको छ, कहि पूर्णक्षति भएको छ भने कहि आंशिक क्षति भएको छ । सबैको लगत संकलनको काम सुरु भएको छ । केही सरकारी कार्यालय जलाइएको छ भने तोडफोड पनि भएका छन् । क्षति भएका कार्यालयहरुमा परिसरमा अस्थायी रुपमा टेबल, कम्प्युटर राखेर सेवा गरिएको छ । त्यस्ता कार्यालयमा आएको सेवाग्राहीको निवदेन लिने, सेवाबारे जानकारी दिने, दर्ता गर्ने नाम र नम्बर संकलन गरेर सेवाको सूचना दिने गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी डाक्टर टोकराज पाण्डेले बताए ।
अन्य सामान्य रहेको कार्यालयहरुमा नियमित सेवा प्रवाह भइरहेको छ । निजी क्षेत्र विवरण आउन केही समय लाग्ने भए पनि सरकारी तथा सार्वजनिक क्षेत्रको क्षतिको विवरण सोमबारसम्म संकलन गरिने छ । जिल्लाको सम्पूर्ण कार्यालयहरुको अवस्था बुझ्नकै लागि जिल्ला प्रशासन कार्यालय आइतबार बैठक समेत राखेको उनले जानकारी दिए ।
मुचुल्का र लगत तयार गर्नुपर्ने भएको कारणले क्षतिको पूर्ण विवरण सोमबारसम्म मात्रै आउने प्रजिअ पाण्डेले बताए । क्षतिको विवरणबारे चासो राख्दै सेवा प्रवाहलाई रोक्न नहुने गरी काम गर्न र नम्र भएर काम गर्न सबैलाई अनुुरोध गरे ।
यसै क्रममा प्रजिअ पाण्डेले भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको समेत निरीक्षण गरेका छन् । आन्दोलनकारीले क्षति गरेको सो कार्यालयको अवस्थाबारे बुझ्न स्थलगत निरीक्षण गरेका हुन् । उनले नगरप्रहरी र कर्मचारीहरुको कामको प्रशंसा गर्दै कार्यालय जोगाउने कार्यमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई नगरपालिकाले पुरस्कृत गर्न समेत आग्रह गरे । नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले गाडीहरु पहिलै नै कार्यालयभन्दा बाहिर राखेकोले सुरक्षित गर्न सफल भएका छाँै । यस्तै कार्यालयको गेट तोड्न नसकेकोले ठूलो क्षतिबाट सिद्धार्थनगर बचेको बताए । कार्यालय परिसरमा भएको केही फर्निचर, बाहिरका केही कागजपत्र र बोर्डहरुमा क्षति पुगेको छ, कार्यालयका सिसाहरु फुटाए पनि ठूलो क्षतिबाट बचेको उनले जानकारी दिए ।
आन्दोलनमा रुपन्देहीका दर्जनौ सरकारी कार्यालयहरुमा क्षति पुगेको छ । कार्यालयका संरचना, दस्ताबेज, कागजपत्र, कम्प्युटर, दर्जनौ गाडीहरुमा समेत ठूलो क्षति पुगेको छ ।




