बुटवल । बुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिताको फाइनल राउण्ड सम्पन्न भएको छ।
झण्डै ४५ भन्दा बढी विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा फरक–फरक शीर्षकमा प्रतिस्पर्धा गराइएको थियो। कक्षा ९ की छात्रा सरिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बञ्जाडे प्रमुख अतिथि रहेका थिए। उनले कार्यक्रममा बोल्दै विद्यार्थीको नेतृत्व क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र सार्वजनिक रूपमा बोल्न सक्ने व्यक्तित्व निर्माणमा यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा निर्णायकका रूपमा डा. आविष्कार पराजुली र नेत्रप्रसाद भट्टराई रहेका थिए भने सञ्चालन विद्यालयकी नि.मा.वि. संयोजक दिलकुमारी उपाध्यायले गरेकी थिइन।
प्रतियोगितामा प्राथमिक तर्फ (कक्षा ४–५) बार्बिका बञ्जाडे प्रथम, प्रिन्सा भुसाल द्वितीय, रिदम गिरी तृतीय र प्रिन्सी भट्टराई सान्त्वना स्थानमा परे। त्यस्तै कक्षा ६–७ तर्फ सचेत पन्थी प्रथम, अभियान पन्त द्वितीय, प्रतीक आचार्य तृतीय र अप्रिसा हैजु सान्त्वना स्थानमा परे। वरिष्ठ तर्फ श्लेशा शर्मा प्रथम, एन्जिला बञ्जाडे द्वितीय र दिक्षीता ज्ञवाली तृतीय घोषित भए।
विजयी विद्यार्थीलाई मेडल, प्रमाणपत्र र ब्याग प्रदान गरिएको थियो। साथै सम्पूर्ण सहभागीलाई वाक्कला सम्बन्धी अभिमुखीकरणसमेत गरिँदै निर्णायक डा. पराजुलीले प्रभावकारी प्रस्तुतिका लागि आवश्यक टिप्सहरू सेयर गरेका थिए।
कार्यक्रमलाई विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, विद्यालय संयोजक शोभारानी प्रधान, ब्लक ‘ए’ संयोजक कमला पाण्डे, सुरेन्द्र थापा लगायतले सहजीकरण गरेका थिए।




