२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जेन–जी आन्दोलनले ल्याएको हलचल र यसको निकास

जेन–जी आन्दोलनले ल्याएको हलचल र यसको निकास

जेन–जी आन्दोलनले ल्याएको हलचल र यसको निकास

जेन–जी आन्दोलनले ल्याएको हलचल र यसको निकास

जेन–जी आन्दोलनले ल्याएको हलचल र यसको निकास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • अहिले केपी ओली नेतृत्वको संयुक्त सरकारलाई अपदस्त गरी अर्काे जेन–जी नयाँ युवा विद्रोहको जगमा नयाँ सरकार घोषणा गरिएको छ । यसको नेतृत्व पूर्व प्रधानन्यायधिश सुशीला कार्कीले गर्दैछन् ।  यही भाद्र २३ र २४ मा भएको यो विद्रोहमा अहिलेसम्म ज्यान ७३ जनाको ज्यान  गइसकेको छ भने हजारभन्दा बढी घाइते भएका छन् ।  सर्वप्रथम यी सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली साथै घाइते सबैमा स्वास्थ्य लाभको कामना । विद्रोह गर्ने जनताको अधिकार हो यसलाई कसैले पनि चुनौती गर्न सक्दैन । नेपालमा पनि पटकपटक थुप्रै विद्रोह हुँदैै आएको छ । अहिलेको यो विद्रोहले दुनियाँलाई चकित पारेको छ । सम्भवतः यो विश्वमा सबभन्दा कम दिन र समयमा भएको विद्रोहको पहिलो नयाँ रेकड नै हो । अर्काे नेपालमा प्रथम पटक महिला नेतृत्वमा पहिलो नयाँ सरकार बनाइएको छ । यस अर्थमा यसको बढी चर्चा र महत्व देखिनु स्वाभाविक नै छ । 


    नेपालमा यस्ता विद्रोह धेरै भए र यस्ता नयाँ सरकार पनि बनाइए । ती सबैले सुरुसुरुमा केही सकारात्मक काम गरे पनि धेरै दिन टिक्न सकेका छैनन् । २००७ सालको विद्रोहलाई २०१७ सालमा अनि २०४५÷०४६ सालको जनआन्दोलनको उपलब्धिलाई २०६० सालमा अपदस्तमा पारिएको थियो । यी दुईभन्दा अलि फरक यो विद्रोहमा देखिएको छ । पहिलो दुईमा पुनर्रुत्थान अर्थात् सामन्ती र निरंकुश दरबारियाहरुद्वारा नै प्रतिक्रान्तिमा बदलिएको थियो भने अहिलेको परिवर्तन विद्रोही जेनजी युवाहरुद्वारा अपदस्थ गरिएको छ । यस अर्थमा पहिलेको जस्तै यो नभएर केही नयाँ सकारात्मक र अग्रगमन हो भन्न सकिन्छ । तै पनि यसमा पनि केही शंका गर्ने ठाउँ प्रशस्तै छ । पहिलो कुरा विद्रोह हो हत्या, हिंसा, तोडफोड र आगजनी सबै हुन्छ । तर यसमा स्वयं जेनजीहरुले नै भने बमोजिम बाहिरी घुसपैठ बढी भयो । जसको कारण यो बढी क्षति भयो । अब जेनजीहरुले नै भन्नु प¥यो त्यो घुसपैठ कसले र कोबाट अनि कुन उद्देश्यका साथ गराइएको थियो ? प्रष्ट पारी ती सबैलाई कारबाहीको प्रक्रिया अघि बढाउनु प¥यो ।


    हुनतः जेनजीहरुको पहल  कदमीमा नयाँ नागरिक सरकार अर्थात् प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार बनिसकेको छ । अब यो सबै जिम्मेवारी यही सरकारको नै हो । सर्व प्रथम विद्रोही र मृतक सबै जेनजी युवाहरुलाई यो राज्यद्वारा नै सहिद घोषणा गरी त्यही अनुरुप राज्यले बढीभन्दा बढी राहत क्षतिपूर्ति तत्काल दिईहाल्नु प¥यो । साथै घाइते सबैको निःशुल्क उचित औषधि उपचार अनि उनीहरुको जीवनयापनका लागि आर्थिक सहयोग उपलब्ध गराइ हाल्नु प¥यो । यसको सुरुवात पनि भइसकेको छ । सहिद घोषणा र तत्कालका लागि केही आर्थिक सहयोग रकम पनि यो सरकारले निर्णय गरिसकेको छ । अब गर्नुपर्ने तत्काल क्षतिपूर्ति मात्र होइन मृतकलाई परिवारलाई आजीवन  पेन्सन र घाइते युवाहरुलाई स्थायी उचित आजीवन पेन्सनको व्यवस्था गर्नुपर्दछ । 


    अब तत्काल यो सरकारले गर्ने अरु केही राजनीतिक, आर्थिक, सामाजिक निर्णयहरुबारे केही चर्चा गरौं । जेनजी युवाहरुको यो विद्रोहका पछाडि मूलतः यो सिंगो राज्य व्यवस्थाकै अन्त्य र नयाँ उन्नत राजनीतिक, आर्थिक र सामाजिक राज्य व्यवस्थाको थालनी गर्ने थियो । तर अहिले त्यो सम्भव भएन र हुने पनि स्थिति थिएन । केही विदेशी साम्रराज्यवादी र विस्तारवादी नेपाली दलालहरुले अहिले नै यसैको अर्थात् जेनजी यो विद्रोहको नाममा नेपाललाई युक्रेन अनि पहिलेको अफगानिस्तान बनाउने षड्यन्त्र र चालबाजी निरन्तर भइरहेका छन् । सर्वप्रथम यसलाई जेनजीहरुले बुझ्नु प¥यो । त्यही अनुरुप वर्तमान सरकार प्रमुख प्रम सुशीला कार्कीले पनि बुझ्नु प¥यो ।  त्यसपछि यो सरकारले तत्काल गर्ने र गर्न जेनजी समूह र वर्तमान सरकारले गर्ने भनेको निम्न केही महत्वपूर्ण कुराहरु अघि सार्न चाहान्छु । 


    १.तत्काल मृतक सबैलाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति देउ । यो पनि भइसकेको पनि छ । 
    २. पूर्व प्र.म. केपी ओली र गृहमन्त्री रमेश लेखकलाई राज्यले तत्काल गिरफ्तार गरी यसका लागि फौजदारी मुद्दा चलाऊ । 
    ३. गोली चलाउन आदेश दिने प्र.जि.अ. अनि कार्यान्वयन गर्ने प्रहरी आइजीपीलाई तत्काल निलम्बित गरी त्यसमा खटिएका प्रहरी अधिकृतहरुलाई समेत निलम्बित गरी कारबाही गर । 
    ४. उक्त देशव्यापी भएको हत्या, हिंसा, तोडफोड र आगजनीको बारेमा एउटा उच्चस्तरीय न्यायिक आयोग तत्काल निर्माण गरी एक महिना भित्रमा छानविन गरी रिपोर्ट पेश गर्न लगाई उचित क्षतिपूर्ति र पुनर्निर्माणको व्यवस्था गर । 
    ५. यति ठूलो तोडफोड, लुटपाट र आगजनी भइरहँदा पनि रमिता हेरी बस्ने नेपाली सेनाप्रति पनि स्पष्टीकरण, सोधपुछ र निगरानी बढाऊ । 
    यो वर्तमान सरकार निर्माणको पहिलो जग नै जेनजी विद्रोह र यसैको आड–भरोसा नै मुख्य भएकाले यसलाई मजबूत पार्न तत्काल केही नयाँ विशेष निर्णय हाल्नुपर्दछ । 
    १. व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भंग गर्ने र नयाँ निर्माण गर्नु पर्दछ । 
    २. त्यस्तै अरु संवैधानिक निकायहरु पनि भंग गरी नयाँ निर्माणमा लाग्नुपर्दछ । 
    ३. सेना, पुलिस सशस्त्र गुप्तचर र प्रशासन सबैको भंग गरी पुनर्निर्माण गर्नुपर्दछ । 
    ४. यसभन्दा पहिलेका सबै विदेशी कुटनीतिक निकायका राजदूत सबैलाई फिर्ता गरी नयाँ बनाई पठाऊ । 
    यो वर्तमान जेनजी विद्रोहको मूल नारा नै शान्ति–सुशासन र भ्रष्टचार विरोधी भएकाले यसका लागि एउटा अर्काे उच्चस्तरीय छानबिन आयोग बनाई हिजो पञ्चायती कालदेखि अहिलेसम्म देशमा जेजति यस्ता भ्रष्टाचारजन्य काण्ड हुँदै आएका छन् ती सबैको छानबिन गरी एउटा रिपोर्ट पेश गर्न लगाऊ । यसमा दल नेता अनि सेना, पुलिस, कर्मचारी, व्यक्ति विरोध सबैलाई समेट । 
    नेका सभापति देउवा अनि माओवादी अध्यक्ष प्रचण्ड र पूर्व प्रम ओली यी सबैको अवैध सम्पत्ति र कालोधन विद्रोही युवाहरुले सार्वजनिक गरिसकेका छन् । यसैलाई आधार बनाएर यी सबैमाथि तत्काल मुद्दा चलाई  छानबिन गरिहाल ।


    यही विद्रोहलाई कारण बनाई सुरुमा रवि लामिछाने र पछि क्रमशः देशमा थुप्रै जेलबाट अपराधी कैदी बन्दीहरुलाई भगाइएको छ । त्यसैले तत्काल यी सबै कैदी बन्दीहरुलाई पुनःजेल फर्किन कडा निर्देशन जारी गर त्यो नगरे कडा कारबाही गरिने बताऊ । साथै यसको पनि एउटा छानविन आयोग बनाऊ र रवि लामिछानेलगायत यस्तै धेरै केदीहरुमाथि छानबिन अघि बढाऊ । नक्कली किर्ते कागज पत्र तयार गरी बाहिरिएको भन्ने रवि लामिछानेको विषयमा अझ छुट्टै छानबिन गरी कारबाही अघि बढाऊ । 


    जेनजी विद्रोहहरुको मूल माग र उद्देश्य त वर्तमान यो राज्य व्यवस्थाकै अन्य र नयाँ निर्माणको हो । तत्काल यो सम्भव नभए पनि हालका लागि प्रतिनिधिसभा भंग भएको छ । नयाँ निर्माणको प्रक्रियामा छ ।  त्यस्तै अब तत्काल संघीय प्रदेश,  प्रदेशसभा र प्रदेश सरकार खारेजीको घोषणा गर । त्यसले गर्ने सबै काम अधिकार र जिम्मेवारी केही केन्द्रीय सरकारमा भने केही स्थानीय सरकारलाई जिम्मा लगाऊ । साथै जनप्रतिनिधि स्थानीय सरकारको पनि खारेज गरी केन्द्रमा जस्तै स्थानीय नागरिक प्रतिनिधित्व हुने गरी नयाँ स्थानीय निकायको पुनर्निर्माण गराऊ ।


    शिक्षा, स्वास्थ्य र कृषिमा पनि तत्काल केही नयाँ निर्णय गरी जनतालाई राहत दिन सक्नु पर्दछ । शिक्षा माध्यमिक लेवलसम्म निःशुल्क र प्राथमिक लेवलसम्म निःशुल्क र अनिवार्य गर्नुपर्दछ । त्यस्तै स्वास्थ्य निःशुल्क औषधि उपचार हुनु पर्दछ ।  कृषिमा सामन्ती भूस्वामित्व खारेज गरी उपयोगमा नआएका जग्गा जमिन सबै कब्जा गरी सामूहिक कृषि खेती प्रणाली लागू गर्नु पर्दछ । यसमा जग्गा कसको जोत्नेको घर कसको पोत्नेको नीति अवलम्बन गर्नुपर्ने हुन्छ ।  सरकारी कलकारखाना सबै पुनः संचालन गरी त्यहाँ पनि सामूहिक उत्पादन प्रणाली लागू गर्नु पर्दछ । सामन्ती दलाल र नोकरशाही बुर्जुवाहरुको सब सम्पत्ति कब्जा गरी त्यसमा पनि सामूहिक उत्पादन प्रणाली लागू गरी सामूहिक औद्योगिक प्रणालीको विकास गर्नु पर्दछ । यी सब काम पछि वैदेशिक रोजगारीमा गएका सब नेपालीहरुलाई देश फर्कन आह्वान गर्नु पर्दछ । साथै विदेश जाने यो परम्परालाई क्रमशः हटाउँदै जार्नु पर्दछ । 


    अब यो सबै देशमा हुन्छ कि हुन्न ? त्यो आफ्नो ठाउँमा छ । अहिले तत्काल यो नभए पनि भविष्यमा यो भएर नै छाड्ने छ । जेनजी विद्रोहबाट बनेको यो सरकार भएकाले यी सब काम गर्ने अधिकार यसले राख्दछ । तर पुरै दिनको झलक बिहानीले देखाउँछ भने जस्तै  यो सरकारको झलक पनि सुरुमै नबन्दै देख्न थालिसकिएको छ । सुशीला कार्की प्रधानमन्त्री नबन्दै भारतीय प्रम मोदीको समर्थन र आशीर्वादका लागि बिन्तीभाउ गर्ने गरेको अन्तरर्वार्ता आएको छ । अझ गम्भीर कुरा के छ भने  तिब्बती भगौडा दलाई लामाले समेत प्रम सुशीला कार्कीलाई दिएको बधाई र यो आन्दोलनमा केही फ्री तिब्बत अभियान्ताहरु पनि रहेकोले यो आन्दोलन र सरकार कतै चीन विरोधी बन्ने त होइन ? गम्भीर भएर सोच्नुपर्ने यहाँ छ । देशको राष्ट्रियता र स्वाभिमानप्रति आँखा चिम्लिएर खाली भ्रष्टाचार र सुशासनको कुराले देश विकास हुन सक्दैन । बरु देश युक्रेन बन्ने पो हो कि खतरा यहाँ छ । यो भाद्र २४ पछिको एक दुई दिन लगभग  यस्तै बन्दै पो छ कि भन्ने भान भइसकेको थियो । केही पश्चिमा दलालहरुले यो आन्दोलनलाई चीन लगायतका केही दूताबासहरुमा समेत तोडफोड गर्न लगाउने षड्यन्त्र भइरहेको पनि अनुमान रहेको थियो । यो संकेत पाएको चीनले तत्काल वक्तव्य जारी गरी यो सब बुझेको र त्यसका लागि आफू तम्तयार भई बसेको बताएको थियो । त्यस्तै भारतले त नेपाली सेनालाई शान्ति सुरक्षाको लागि भारतीय सेना बोलाउन दबाब दिइरहेको चर्चा बाहिर आइसकेको थियो । नेपालका मुख्य मुख्य नाकामा भारतीय सेना समेत तैनाथ  गरी राखिएको हल्ला चलिरहेकै थियो ।


    एकातिर सैनिक मुख्य हेडक्वाटरभित्र बसी विद्रोही गर्न छलफल र वार्ता गर्ने अर्काेतिर भारत, चीन र अमेरिका समेतको निगरानीबिच भइरहेको चलखेलले एकातिर जेनजी विद्रोहको नाममा सैनिक संकट काल लगाई लोकतन्त्रमाथि ठूलो हमला हुँदै थियो भने अर्काेतिर भारत–चीन र अमेरिका समेतको त्रिपक्षीय द्वन्द्वले देशलाई युक्रेन बन्ने सम्भावना देखिन थालेको थियो । तर पछि एकाएक स्थिति अलि बदलियो बहुपक्षीय वार्ता सैनिक हेडक्वाटरबाट राष्ट्रपति कार्यालयमा सारियो र जस्तो भए पनि यही पुरानै संविधानअन्तर्गत यो सरकार बनेको छ । तै पनि स्थिति अझै पनि चिन्ताजनक नै छ । भारतीय अतिक्रमण नेपालको चुच्चे नक्सा र त्यससँग समेटिएका कालापानी, लिपुलेक र लिम्पियाधुराको चर्चा खोई ? अमेरिकी परियोजना एमसीसीको विरोध भएको खोई ? खाली एकतर्फी भ्रष्टाचार र सुशासन अनि केही दलीय नेताहरुको मात्रै विरोध र आक्रमणले मात्रै देश बन्दैन । देशको राष्ट्रियता र स्वाभिमान विनाको आन्दोलनले मात्रै देश र जनताको हित पनि हुन सक्दैन । विश्व साम्राराज्यवाद र विस्तारवादको गोटी भई भित्रभित्रै राष्ट्रघाती खेल खेल्ने दलालहरुको पोल खोल्नै पर्दछ । जेनजी युवाहरुलाई यस्तो आन्दोलनमा धकेल्ने तर आफू भित्रभित्रै लुकी बस्ने वा यसबाट भाग्नेहरुसित समेत सचेत हुनैपर्दछ । यो आन्दोलनको दिशा अग्रगमन नै हो र हुनु पर्दछ । देशको राष्ट्रियता जनतन्त्र र जनजीविकासँग जोडिएको साम्राराज्यवाद र विस्तारवाद अनि सामन्ती, दलाल र नोकरशाही पुँजीवाद विरोधी जनगणतन्त्र नै यसको अग्रगमनकारी सही निकास हो । 


    अन्त्यमा रुसमा लेनिन स्टालिनको नेतृत्वमा सन् १९१७ मा अक्टुबर क्रान्ति यस्तै विद्रोहबाट सफल भएको थियो । त्यसमा तत्काल भए गरेका सबै विद्रोहको घटनाक्रमलाई समेटी एक रुसी लेखकले (संसार हल्याउने १० दिन)  भन्ने एउटा पुस्तक लेखेका थिए– उक्त पुस्तक खोजी सबैले पढ्नु र पढाउनु आवश्यक छ अहिले । स्वयं हालका प्रधानमन्त्री सुशीला कार्की र उनका सबै मन्त्रीहरुले साथै जेनजी विद्रोही युवाहरुले पनि त्यो पढ्नु र पढाउनु पर्ने आवश्यक छ । ‘संसार हामी सबैको हो । तर यो मुख्य त युवाहरुकै हो’ भन्ने क. माओको उक्तिलाई मनन गर्दै नेपालमा पनि यो जेनजी युवाहरुको समर्थन गर्नु र यसैगरी देश र जनताको पक्षमा अझै पनि विद्रोहको ज्वाला दन्काउँदै अघि बढ्नु पर्दछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij