तुल्सीराम पाण्डे
पुरानो समयमा बुहारीहरुले धेरै कष्ट सहेर घर खाएको र माइत–घर दुवैतर्फको इज्जत थामेको कुरा सबैका आमा हजुरआमाहरुले सुनाउनुहुन्थ्यो । सबै गाउँमा त्यस्तै चलन भएर नै होला ‘सही बुहारी, रही व्यापार’ भन्ने उखान पनि सुनिन्छ ।
आजभोलि चेतना, अधिकार र कानुनको कारणले पहिलेको जस्तो कष्ट कसैलाई पनि छैन । सरदरमा हेर्दा पुरुषहरु कमाउन विदेश गएको र महिलाको हातमा कारोबार आएको देखिन्छ । व्यवहार नजानेका महिलाको हातमा पैसा परेमा मोजमस्ती गरेर घर बिगारेको समेत देखिन्छ । घर बिगार्नेहरु थोरै सङ्ख्यामा भए पनि हल्ला ठूलो छ । घर सपार्नेहरुको सङ्ख्या धेरै भए पनि समाजमा चर्चा हुँदैन ।
आजभोलि समय बदलिएको हुनाले बुहारीहरुले पनि पढ्न र जागिर गर्न पाएका छन् । समाजमा रहेको बानी र संस्कार एकैचोटी नबदलिने हुनाले केही बुहारीहरुले अहिले पनि अन्याय र पीडा सहेरै घर खाएका छन् । दुःखको तरिका मात्र बदलिएको छ । अहिलेको बुहारीका दुःखहरु परिवार, समय र ठाउँअनुसार फरक–फरक देखिन्छन् ।
बुहारी जागिरे भए पनि भात पकाउने भाँडा माझ्ने लुगाधुने केटाकेटीलाई ख्वाउने, स्कुले केटाकेटीको किताब, कापी, झोला ठिक्क पारिदिने, पोशाक लगाइदिने काम बुहारीले नै गर्नु पर्दछ । हुर्केका बच्चाहरुले पनि मोबाइल र टिभिको लतले खाना समेत आफैँ खाँदैनन् । ७/८ कक्षमा पढ्नेलाई समेत छिटो गर्नको लागि आमाले खुवाइ दिनु पर्दछ । आफ्नो गृहकार्य समेत समयमा नगर्ने हुनाले गृहकार्य पनि आमाले नै गराउनु पर्दछ ।
हुर्केका बच्चाहरुले पनि आमालाई काममा सघाउँदैनन् । छोरा जागिरे भएमा समयमा अफिस पुग्नुपर्छ भनेर सासुले भात पकाउँछन् । दुबैजना जागिरे भएमा र डेरामा बसेको भए पनि पालैसँग घरको काम गर्दैनन् । अफिसबाट आएपछि श्रीमतीले भान्साको तयारी गर्ने र श्रीमानले आराम गर्दछन् ।
हाम्रो सामाजिक संस्कार अनुसार सबैभन्दा पछि बुहारीले खाने पालो आउँछ । अफिस जाने बुहारीले पहिलै खाएको परिवारले रुचाउँदैनन् । बुहारीको समस्या सासुले बुझेर पहिलै खान दिएमा मात्र बुहारीहरु समयमा अफिस जान पाउँछन् । अरुको समस्या नबुझ्ने र आफ्नो मात्र हैकम चलाउने परिवारमा दोजिया अवस्थामा पनि पहिलै र भोक लागेको समयमा बुहारीले खान पाउँदैनन् । दिनभरी अफिसको कामले थाकेर आएकी बुहारीको पीडा सासुले समेत बुझ्दैनन् । उही पुरानै तरिकाको घाँस दाउरा मेलापातलाई मात्र काम देख्दछन् । अरुसँग कुरा काट्दा दिनभरी बसेर आउँछे भन्दछन् ।
अफिस टाढा भएमा गर्भवती अवस्थामा हिँडेर र गाडीमा चढेर झ्याँकिदै जान गाह्रो हुन्छ । सधैँ गाडिमा हिँड्दा आमालाइ र बच्चालाई समस्या आउनसक्छ । सुत्केरी भएपछि पनि समस्या आउनसक्छ । दिनदिनै बच्चालाई लिएर अफिस जान सकिँदैन । बच्चा छोडेर जाँदा दूध खुवाउन पाईदैन । बच्चाको चिन्ता लागिरहन्छ । आरामले जागिर गर्न अफिसको नजिकै डेरा गर्नु पर्दछ ।
बच्चा हेर्नको लागि परिवारको एक जाना मानिस चाहिन्छ । घरमा मिल्दो मान्छे नभएमा वा बच्चा हेर्न नचाहेमा धाई राख्नु पर्दछ । धाईलाई तलब पनि आफैँले दिनु पर्दछ । बुहारीलाई हेप्ने सासु ससुराले बच्चाको सुसार गर्दैनन् । कि जागिर छोडेर बस् कि आफ्नो बच्चा आफँै हेर भन्दछन् । धाई राखेर डेरामा बस्दा कमाइ बँच्दैन । त्यसपछि फेरि कमाइ जति सबै माइत दिएकी छ, छोरालाई पनि जितेकी छ भन्दछन् । बुहारीको दुःख नबुभ्mने परिवारका बच्चाहरु हेर्न माइतीले व्यवस्था मिलाइदिएका छन् । आमाले छोड्न मिल्ने भएपछि पनि माइतीले नै हुर्काउने र पढाउने गरेका छन् । सानो बच्चा भएका महिलाले विदेश भ्रमण तालिम र गोष्ठीमा भाग लिने अवसर पाउँदैनन् ।
केही परिवारमा छोराको चाहनाले गर्दा बुहारीको इच्छाविपरीत लिङ्ग पहिचान गर्ने र छोरी भएमा गर्भपतन गर्दछन् । सजिलोसँग गर्भपतन गर्न नमानेमा कुटपिट गर्दछन् । कुनै ठाउँमा हत्या समेत भएको छ । पढेकी बुहारीले आफ्नो योग्यताअनुसारको पेसा गर्न पनि परिवार सहमत हुँदैनन् । सल्लाह गर्न खोज्दा कि मलाई पालेनन् भन् कि हामीले भनेको मान् । पेसा गर्ने भएमा सबै परिवार तेरा कमाइले पाल् । आफ्नो खुसी गर्ने भएमा जेसुकै गर भन्दछन् ।
पुरानो सोँच भएका परिवारमा महिलाले जागिर वा पेसा गर्नुलाई गाई जोतेर खाएको मानिन्छ । त्यसो गरेमा धर्म र परम्पराको विरुद्धमा हुने हुनाले घरको इज्जत जान्छ भन्दछन् । संस्कार र इज्जत थामेर जागिर गर्न साह्रै गाह्रो हुन्छ । आफूमाथि यौन जन्य हिंसा भएमा पनि अफिसमा र घरमा बताउन सक्दैनन् । सानातिना घटना बताएमा उल्टै कुरा काट्दछन् । कसैले नगरेको जागिर गरेकी, मस्किदै हिंडेकी थिइहोली, अर्काले त्यसै त हात हाल्दैनन्, थपक्क घरै बसेको भए हुन्थ्यो भन्दछन् ।
कसैका श्रीमती विदेश गएमा र लोग्ने मान्छे घरमा बसेमा लोग्नेले पनि श्रीमतीको कमाइले रक्सी खाने र अरुसँग हिंड्ने गरेका छन् । विकशित देशमा जाने महिलाहरुले काममा जाँदा यहाँको चलनअनुसार रातो लुगा, चुरा, टीका, लाउन र लामो कपाल राख्न पाउँदैनन् । यहाँ लाएको सम्झँदा रहर लागेर कोठामा आएपछि यहाँ जस्तै लुगा लाउने र फेसबुकमा राख्ने गर्दछन् ।
लामो कपालको सुसार गर्न समय नपुग्ने हुनाले कपाल काट्ने र छरितो लुगा लगाउने गर्दछन् । विदेश जान पाउने आशमा खुसी भएर विवाह गरे पनि विदेश गएपछि सधैँ काममा घोटिइरहनु पर्दछ । कुनै परिवारमा श्रीमान श्रीमतीसँगै बस्न नपाएर बच्चा जन्माउन ढिलो भएमा पनि बुहारीलाई नै अनेक बाहानाले कुरा काट्दछन् । घरधन्दा गर्ने बुहारीलाई खर्च चाहिएको समयमा पैसा नदिने र दिए पनि एक एक हिसाब खोज्ने गर्दछन् । छोरीलाई भने लुकाएर पेवा बनाइदिन्छन् ।
निजी कम्पनी र अन्य सानातिना ठाउँमा काम गर्ने महिलालाई भारी जीउ भएको कारणले काममा ढिलो भएमा कामबाट निकालिदिन्छन् । बच्चा जन्मेपछि पनि राम्रोसँग काम गर्न नसकुञ्जेल काममा राख्दैनन् ।




