बुटवल । न्यू होराइजन आवासीय अंग्रेजी मावि बुटवलको आयोजनामा दोस्रो न्यू होराइजन कप अन्तर समुह पुरुष तथा महिला शिक्षक कर्मचारी भलिबल प्रतियोगिता शुरु भएको छ ।
सोमबार विद्यालयको आफ्नै खेल मैदान देविनगरमा विद्यालय सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्याय लगायतले प्रतियोगिताको उद्घाटन गरे । पुरुषतर्फ ५ र महिलातर्फ २ गरी ७ टिमले लिगका आधारमा खेल्ने प्रतियोगिता असोज ९ गतेसम्म चल्ने छ । प्रतियोगिता उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ज्ञानेन्द्र कसजूले स्वस्थ जीवन र आपसी मित्रताका लागि खेलकुद प्रतियोगिताहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले महिलातर्फ पुरस्कार राशी बृद्धि गर्न सुझाव दिए ।
प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयले विद्यार्थीको मात्र नभई शिक्षक कर्मचारीको अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि खेलकुद र अन्य विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
उपप्राचार्य राजीव श्रेष्ठले आगामी दिनमा न्यू होराइजन मातृ संस्था अन्तर्गतका सबै भगिनी संस्थाका शिक्षक कर्मचारीबीच प्रतियोगिता गर्न सुझाव दिए ।
कार्यक्रममा उपप्राचार्य बालकृष्ण भण्डारी, बासुदेव अर्याल, कक्षा ८–१० टिम म्यानेजर विष्णुप्रसाद बस्याल, कोच प्रकाश गौतम, प्रतियोगिता संयोजक बालकृष्ण बस्याल, कक्षा ८ संयोजक कपिल आचार्य लगायतले आफ्ना भनाई राखेका थिए ।
पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । जसमा म्यानेजमेन्ट समूहले विज्ञान समूहलाई २–०, कक्षा ८–१० समूहले कक्षा २–७ समूहलाई २–० को सोझो सेटमा र म्यानेजमेन्ट समूहले कर्मचारी टिमलाई २–१ सेटमा पराजित गरेको छ । प्रतियोगिताका विजेताले पुरुषतर्फ २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुने टिमले ५ हजार तथा महिलातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक बालकृष्ण बस्यालले जानकारी दिए ।




