बुटवल । न्यू होराइजन आवासीय अंग्रेजी मावि बुटवलको आयोजनामा बुटवलमा जारी दोस्रो न्यू होराइजन कप अन्तर समुह पुरुष तथा महिला शिक्षक कर्मचारी भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन चार खेल भएका छन् । पहिलो खेलमा कर्मचारीको टिमले कक्षा २ देखि ७ सम्मका शिक्षकको टिमलाई २–० को सोझो सेटमा पराजित गरेको छ ।
दोस्रो खेलमा कक्षा ८–१० का शिक्षकको टिमले विज्ञान संकायका शिक्षकको टिमलाई २–० को सोझो सेटमै पराजित गरेको छ । तेस्रो खेलमा व्यवस्थापन संकाय कक्षा ११ र १२ का शिक्षक टिमले कक्षा २ –७ शिक्षकको टिमलाई २–० को सोझो सेटमै पराजित गरेको छ । चौथो खेलमा कक्षा ८–१० का शिक्षक टिमले कर्मचारीको टिमलाई २–१ सेटले जितेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि बुधबार महिलातर्फ फाइनल खेल र पुरुषतर्फ चार खेल हुने प्रतियोगिता संयोजक बालकृष्ण बस्यालले जानकारी दिए । असोज ९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ २ गरी ७ टिमले लिगका आधारमा प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताका विजेताले पुरुषतर्फ २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुने टिमले ५ हजार तथा महिलातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक बस्यालले जानकारी दिए । विद्यालयले आगामी वर्षदेखि न्यू होराइजन संस्था अन्तर्गतका सबै भगिनी संस्थाका शिक्षक र कर्मचारीबीच प्रतियोगिता सञ्चालन गर्ने बताएको छ । नेपालीका महान चाड बडा दशैं र तिहारको अवसरमा शिक्षक कर्मचारी र संस्थाबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउंदै खेलकुदमार्फत स्वस्थ जीवन जिउन टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्राचार्य लोकनाथ उपाध्यायले बताए ।




