भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ट्रक सहित ५० क्वीन्टल खरबुजाको बिँया बरामद गरेको छ ।
कार्यालयबाट खटिएको टोलिले ओमसतिया गाँउपालिका–४ डण्डा खोला नजिकैबाट बा.प्र.०३–००१ ख १६८४ नं.को मिनि ट्रकमा लोड भई लैजादै गर्दा शंका लागी चेकजाँचको क्रममा सो सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक गणेश सापकोटाले जानकारी दिए ।
बिल विजक शंकास्पद देखिएकोले मिनि ट्रक सहित चालक रुपन्देही मायादेबी ६ बस्ने बर्ष २२ को राजकुमार मल्लाहलाई आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ भने ट्रक र सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

मिनि ट्रकमा लोड गरिएको १२५ बोरा (५० कुईन्टल) खरबुजाको बियाको मुल्य अन्दाजी १० लाख र मिनि ट्रकको मुल्य अन्दाजी १० लाख गरी जम्मा २० लाखको सामान राजश्व पठाइएको हो ।
सामान चेकजाँचकाे क्रममा सक्कल बिलकाे प्रति र अनलाइन भिसिटिएस समेत थिएन । विक्रेताले मर्चवारकाे सिमा क्षेत्रमाअवस्थित फर्ममा साे सामान पठउन लागेकाे थियाे ।
खरबुजाको विया ड्राई फ्रुट्सको रुपमा मिठाई लगायतको खाद्यवस्तुमा प्रयोग गरिन्छ । तेस्रो मुलुकबाट नेपालका लागि आएको विया पछिल्लो समय सुरक्षा निकायलाई छलेर भारत तर्फ पठाइने गरिएको छ ।
सिमामा यस्को खपत पनि नहुने भएकोले तस्करी प्रयोजनका लागि गइरहेको अवस्थामा भैरहवाबाट सामान बरामद गरिएको हो ।
तस्करहरुले रुपन्देहीको मर्चवार र मैनिहवा क्षेत्रबाट मौका देखेर ठूलो मात्रामा मकै, अखरोट लगायतका सामान भारत पठाउदै आएका छन भने चिनी, कपडा, जुत्ता लगायतको सामान नेपाल तर्फ ल्याउने गरेका छन ।




