गुल्मी
२०६८ सालमा तत्कालिन अर्थसचिवबाट राजीनामा दिएर गुल्मीका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमणमा आएका हालका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यहाँबाट फर्केको एक महिनापछि एक पत्रिकामा लेख लेख्दै गुल्मीको एक प्रस्तावित विद्युत् आयोजना अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
२०६८ साल असार २१ गते मंगलबारका दिन अन्नपूर्ण पोष्टमा ‘तम्घासमा एक रात’ शीर्षकमा छापिएको उनकोे लेखमा छल्दी पनाह खोला र निस्तीखोलाको संगम स्थल रातडाँडादेखि तल बडिगाड खोलाको संगम स्थलसम्म ड्याम बाँधेर विशाल जलाशययुक्त ५० मेगावाटको विद्युत् आयोजना अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
गुल्मी भ्रमणको पहिलो स्मरणमा उनले रिडीको ऋषिकेश मन्दिरमा अध्यात्मिक बिताइरहेकी बुढी फुपुसँग भेट र ऋषिकेशको दर्शन गरी तम्घासतर्फ लागेको कुरा उल्लेख गरेका छन् । तम्घाससम्म आई पुग्दा ठाउँ–ठाउँका प्राकृति शौन्दर्यको निकै वर्णन गरेका छन् ।
त्यसपछि अर्को प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको वर्णन गर्दै त्यहाँको सम्भावनाबारे उनले गहिरो अनुसन्धानमूलक चर्चा त्यस लेखमा गरेका छन् । त्यसपछि उक्त लेखमा उनले यस्तो स्मरण गरेका छन् –‘एक बिहान रेसुङ्गाको सेरोफोरो घुमेर बिताएपछि मलाई लाग्यो त्यो स्थल पुस्तक लेखन वा सिर्जनात्मक अनुसन्धानका लागि एकान्तबास गर्न उपयुक्त हुनसक्छ ।’ खनालले यस्तो लेख लेख्नु अघि जलाशययुक्त आयोजनाका परिकल्पनाकारले डा. दामोदर भुसालसहितको टोलीले उनलाई स्थलगत अवलोकन गराएको थियो । खनालको लेख आउनुअघि उनले बुटवलको लुम्बिनी राष्ट्रिय दैनिकमा आयोजनाबारेको समाचार पनि अध्ययन गरेका थिए ।
अर्थविद खनालले त्यस आयोजनाबारे सरकारलाई उक्त लेखमा केही सुझावहरु पनि दिएका थिए ।
उनले भनेका छन्–‘सरकारले तीन वटा कुरामा हिचकिचाउनु हुँदैन । (क) अनुमतिपत्र दिनु । (ख) विस्तृत डिजाइन, सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन गर्न आवश्यक पर्ने रकम बजेट अनुदान दिनु ...।’ तत्कालिन अवस्थामा खनालले यस आयोजनाको लागत १४ अर्ब रुपैयाँसम्म पर्नसक्ने अनुमान गरेका थिए । त्यस्तै पाँचदेखि ६ बर्ष सम्ममा उक्त आयोजना निर्माण सम्पन्न हुने र सम्पन्न भइसकेपछि गुल्मेलीहरुको समृद्धिमा कोसेढुङ्गा सावित हुने उनको सुझाव थियो । अहिले उनी अर्थमन्त्री भएको बेला त्यस आयोजनामा उनको ध्यान जाला कि नजाला ? यसबारे अर्थमन्त्री खनालले स्मरण गर्नु होला कि हुन्न ? भन्ने जिज्ञासामा आयोजनाका परिकल्पनाकार डाक्टर दामोदर भुसाल भन्छन्–‘अर्थमन्त्रीलाई अवश्य ध्यानाकृष्ट गराइने छ, यो आयोजना जिल्लाको सबैभन्दा ठूलो र महत्वपूर्ण आयोजना हुनसक्छ, यसलाई सम्पन्न गर्न सके जिल्लाको विकासमा साँच्ची नै कोसेढुङ्गा सावित हुने छ ।’ यो योजना विगतमा अगाडि बढ्न नसक्नुको कारण गुल्मीका उच्चतहका नेताहरुको इच्छा शक्ति नहुनु हो भन्दै भुसालले अब साझा धारणा बनाएर आयोजनालाई अगाडि बढाउन लाग्ने भुसालले बताए ।
उनले २०६८ साल अघिदेखि दैनिक लुम्बिनीले यो विषय उठान गरेरै खनालको चासो बढेको हो, पुनः यो विषयलाई उठान गर्नुपर्छ । भुसालसहित छल्दीपनाह निस्ती जलशाययुक्त विद्युत् परियोजना अगाडि बढाउन पूर्व मन्त्री तथा हाल गुल्मी क्षेत्र नम्बर २ का सांसद गोण विष्टले पनि चासो देखाएका थिए । सदरमुकाम नजिकै रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकाको सिमानामा पर्ने यस खोलामा जलशाययुक्त विद्युत् आयोजना अगाडि बढाउन अहिले आएर यी दुबै पालिकाले पनि चासो देखाएका छन् ।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी र मुसिकोटका मेयर जीवलाल खरेल – जीवन ) ले यस आयोजनालाई बढो महत्वका साथ लिएको र दुई पालिकाको साझेदारी र समन्वयमा माथिल्लो निकायमा पहल गर्ने बताउँदै आएका छन् । यो आयोजना सम्पन्न हुँदा विद्युत् मात्र नभई माछापालन, ¥याफ्टिङ्ग सेवा सञ्चालन गरी आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने भुसालको भनाइ छ ।
खोला किनारको दुबै किनारतर्फ कडा चट्टान भएको र बस्ती पनि नभएकोले कुनै जोखिम नभएको, देशभरका यस्ता थुप्रै जलाशाययुक्त परियोजनाबारे ध्यान गर्दा दुबैतर्फ पहरो भएकोले सबैभन्दा कम खर्चमा बढी विद्युत् उत्पादन हुने उति बेला विज्ञहरुले प्रतिवेदन पेश गरेको, तर अगाडि बढ्न नसकेको रातडाँडाका समाजसेवी तथा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राममल्ल ठकुरी बताउँछन् । माथि रातडाँडासम्म जलाशय बनाउँदा बस्तीको जोखिम हुने भएकाले लसाहसम्म जलाशय बनेमा यसले जिल्लाको समृद्धिको निकै ठूलो आधार सिर्जना हुने ठकुरीको भनाइ छ । सदरमुकाम तम्घासदेखि राताडाँडासम्म १६ किलो मिटर र दोभान इन्द्रगौडासम्म २६ किलो मिटर दुरीमा पर्दछ ।
त्यहाँसम्म पुग्ने सडक कतै पिच भएको छ भने अहिले पिच हुने क्रममा छ । खोला नजिकैको दोभान गाउँमा कुमाल समुदायको सुन्दरबस्ती छ । जहाँ होमस्टेका लागि निकै उपयुक्त थलो पनि छ ।
त्यस ठाउँमा चीसो खोलाको माछा खानका लागि वर्षऔंदेखि सदरमुकाम र उता बाग्लुङ्गसम्मका मानिस आउने गरेका छन् । रातडाँडादेखि बडिगाडको संगम स्थलसम्म दुबै तिर हरियाली पहाड र नागबेली खोला भएकोले प्राकृतिक रुपममै त्यो स्थान मनोरम रहेको छ ।




