जेनजी अर्थात् नव युवाहरुको गत भदौ २३ र २४ गतेको आन्दोलन वा विद्रोह सम्पन्न भएको पनि एक महिना भइसकेको छ । तर त्यो आन्दोलनले उठाएको धेरै जसो माग अहिले पनि यथावत् पूरा हुने स्थिति देखिएको छैन । खाली पुरानो कांग्रेस–एमाले गठबन्धन प्रम ओली सरकार विस्थापित भई प्रम सुशीला कार्की नेतृत्वको अपुरो नागरिक सरकार मात्रै बनेको अवस्था छ । पूर्व चालु संसदीय सदनको खारेजी र आगामी फागुन २१ मा संसदीय निर्वाचन गर्ने निर्णय गरिएको छ । वास्तवमा तत्कालीन जेनजी युवाहरुको पहिलो माग यो थिएन । उनीहरुले खाली देशमा शान्ति–सुशासन र भ्रष्टाचार निवारण त्यसमा पनि अझ पहिलो मुख्य माग त तत्कालीन ओली सरकारले लगाएको सामाजिक सञ्जाल, फेसबुक आदि माथिको प्रतिबन्धको तत्काल खारेजीको थियो । तर यो युवाहरुको सामान्य मागप्रति सरकारी बेवास्ता र लापरबाही अनि दमन, हत्या, हिंसाकै कारण देशमा यति ठूलो विद्रोह, तोडफोड, हत्या, हिंसा र लुटपाट, आगजनी हुन गयो । जसबाट पुरानो सरकार अपदस्त भई नयाँ यो सरकार बनाइएको हो ।
त्यसैले यो बनेको नयाँ सरकार अर्थात् प्रम सुशीला कार्कीको काम चलाउ सरकारको पहिलो मुख्य जिम्मेवारी जेनजी युवाहरुले पछिल्लो अवस्थामा उठाएका केही महत्वपूर्ण मागहरुको सम्बोधन गर्ने हो । तर यो सरकारले भने यी सबै कुराहरुलाई बेवास्ता गर्दै खाली संसदीय निर्वाचन मात्र सम्पन्न गराउने उद्घोष गरिसकेको छ । आखिर पुराना सबै संसदीय दलहरु खासगरी कांग्रेस–एमाले र माओवादीहरुलाई ‘के खोज्छस् आँखो’ भने जस्तै हाई संचो भएको छ । त्यसैले तत्काल सुरुमा वर्तमान यो सरकार असंवैधानिक भएकाले यसको खारेजीको माग उठाउँदै सर्वाेच्च अदालतमा समेत ‘रिट’ जाहेर गर्ने भनेका यी सबै दलहरु अब आगामी फागुन २१ मा हुने भनिएको संसदीय निर्वाचनमा सहभागिताका लागि सक्रिय देखिन थालेका छन् ।
यता जेनजी युवाहरुले भने वर्तमान सुशीला कार्की नेतृत्वको यो सरकारको रवैया र त्यस अनुरुप पुराना दलहरुमा देखिन थालेको चुनावी रौनक र तयारीबाट बढी ससंकित देखिन थालेका छन् । त्यही भएर उनीहरुले तत्काल पूर्व दमनकारी यो सरकारका प्रमुख केपी ओली, गृहमन्त्री रमेश लेखक अनि केही उच्च प्रहरी अधिकृतलगायत तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारीमाथि यो हत्या, हिंसाका लागि जिम्मेवारी बनाई तत्काल गिरफ्तार री मुद्दा चलाउन यो वर्तमान सरकारमाथि ठूलो दबाब सिर्जना गर्न थालेका छन् । तै पनि यो सरकारले अहिले पनि ढूलमूल कारबाही चलाउने कि नचलाउने अन्योलमा देखिन थालेको छ । यसको छानविन आयोग त बन्यो तर अन्तिम निर्णय आइसकेको छैन । तीन महिने अवधि छ, अझ आवश्यकता भए अरु थप केही दिन बढाइने पनि छ । त्यो बेलासम्म रात गए अग्राक पलाउँछ भने जस्तै अनेक खाले षड्यन्त्र, जालझेल हुँदै अन्ततः कतै यी जेनजी युवाहरुका लागि यो खाली हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हुने त होइन ?
त्यही भएर यो जेनजी विद्रोहको लगत्तै मैले गत असोज ३ गते प्रकाशित यही दैनिक लुम्बिनी पत्रिकामार्फत् जेनजी युवाहरुलाई सम्बोधन गर्दै तत्काल गरिहाल्नु पर्ने केही काम कारबाहीको लिष्ट प्रस्तुत गरेको थिएँ । त्यसको पहिलो नं. मा उक्त विद्रोहमा मारिएका सबैलाई शहीद घोषणा र तत्काल उच्चतम आर्थिक राहत र आजीवन पेन्सन व्यवस्था थियो भने दोस्रो र तेस्रोमा तत्काल तत्कालीन प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकलगायत काठमाडौं जिल्लाका प्र.जि.अ.अनि गोली चलाउन आदेश दिने उच्च प्रहरी अधिकृतहरुलाई तत्काल गिरफ्तार गरी कारबाही चलाउन भनिएको थियो । यतिसम्मकि त्यस्तो देशव्यापी आगजनी तोडफोड, लुटपाट र सरकार, प्रशासन, प्रहरी सबैको भागाभाग भइरहँदा पनि रमिता हेरी बस्ने सैनिक सेनापतिलाई समेत तत्काल निलम्बन गरी कारबाही चलाउन समेत त्यहाँ भनिएको छ । संवैधानिक अंगका प्रायः सबै निकायहरुका पदाधिकारीहरुको निलम्बन र खारेजी अनि नयाँ नियुक्ति तत्काल गर्न समेत भनिएको थियो ।
तर आजसम्म यो सरकार केही नगरी रमिता हेरी मात्र बस्यो । अहिले बल्ल जेनजी युवाहरुले यसको विरोधमा आवाज उठाउन थालेपछि मात्र त्यस्तो कारबाही गर्ने र गराउन लगाउने प्रयास गरेको देखिंदैछ । स्वयं जेनजी युवाहरुले नै तत्कालीन प्रम केपी ओली, गृहमन्त्री रमेश लेखक आदि माथि त्यस्तो कारबाहीको उजुरी हालेपछि मात्र सरकारले उनीहरुका राहदानी रोक्का गरेको र छानबिन प्रक्रिया अघि बढाउन थालेको जस्तो देखिदैछ । तर वास्तवमा जेनजी विद्रोह भनिए पनि त्यो अनुरुप अहिलेसम्म केही पनि भएको छैन । यही पुरानो संविधान यही पुरानो अड्डा–अदालत, प्रशासन, सेना, पुलिस यतिसम्मकि शासकीय पुरानै स्वरुप संघीय सदन, प्रदेश र स्थानीय निकाय सबै यथावत रहेको छ । खाली एक मात्र संसदीय सदनको मात्र भंग भएको छ त्यसमा पनि उपल्लो राष्ट्रिय सभा यथावत नै छ । अरु केहीमा पनि परिवर्तन छैन । खाली काले गए गोरे आए अर्थात् केपी गए सुशीला आए । एकथान मन्त्री हटाइए, एकथान नयाँ मन्त्री आएको मात्र छ । त्यसैले पछिल्लो अवस्थामा जेनजी युवाले राख्ने गरेको माग सबै अलपत्र भई नै सकेका छन् । स्वयं हालकी प्रधानमन्त्रीले ती सबै एजेण्डा यो सरकारबाट सम्भव छैन अब चुनावपछि बन्ने सदन र सरकारबाट मात्र त्यो सम्भव हुने बताइसकेकी छन् । त्यसैले अन्ततः यो जेनजी विद्रोह सबैका लागि माथि भने जस्तै हात्ति आयो फुस्सा अर्थात् घुम्दै फिर्दै फेरि रुम्जाटार भने जस्तै भएको छ ।
हुनतः नेपालमा हुने गरेका विगतका यस्ता अनेक आन्दोलन र विद्रोहको परिणति पनि यस्तै हुँदै आएको छ । २००७ साल, २०४६ साल अनि २०६२÷०६३ सालको परिवर्तन यसको उदाहरण बनेको छ । यतिसम्मकि १० वर्षे माओवादी जनयुद्ध अन्ततः १२ बुँदे दिल्ली समझदारीमा आई टुंगिएको छ । ठीक यस्तै यो पनि देशी तथा विदेशी साम्राराज्यवादी र विस्तारवादीहरुको आड भरोसामा यथास्थितिमै टुंग्याउने षड्यन्त्र भएको छ । फेरि देशमा अर्काे धोका षड्यन्त्र र गद्दारी भएको छ । पुनः त्यस्तो जनआन्दोलन र जनविद्रोहको आवश्यक छ । अब जेनजी युवाहरु मात्र होइन देशका सम्पूर्ण किसान–मजदूरलगायत हरेक तह र तप्काका जनसमुदाय सबै एकजुट भई यस्तै आन्दोलन र विद्रोहमा जुट्नु पर्ने भएको छ । देशको राष्ट्रियता र स्वाभिमान अनि स्वतन्त्रताको साथै जनतन्त्र र जनजीविकाका लागि सबै पुनः एकजुट भई यस्तै जनआन्दोलन र जनविद्रोहमा अग्रसर हुन पनि यो जेनजी विद्रोहले सबैलाई प्रेरित गराएको छ ।
अहिले देशमा पहिलेको पुरानो अपदस्त सरकार र हालै निर्माणाधीन नयाँ सरकार अर्थात् अहिलेको सुशीला कार्की नेतृत्वको नयाँ सरकार बिच हानथाप चलन थालेको छ । जेनजीहरुको माग अनुसार पुरानो सरकार प्रमुख केपी ओली र त्यसका गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गरी कारबाही चलाउन ठूलो दबाब सिर्जना भएको छ भने यसको विरुद्ध फेरि एमाले नेतृत्वमा गत भाद्र २४ मा भएको आगजनी र तोडफोडका लागि प्रमुख जिम्मेवारी काठमाडौंका मेयर बालेन शाह र जेनजीका अगुवा सुदन गुरुङ यी दुवैलाई तत्काल गिरफ्तार गरी कारबाही चलाउन प्रहरीमा उजुरी हालेको अवस्था छ । तर वास्तवमा यी दुवै अर्थात् केपी र लेखक अनि बालेन र सुदन गुरुङ्ग अपराधी नै हुन् । २३ गतेका मुख्य अपराधी केपी ओली र रमेश लेखक हुन् भने अर्काे दिन २४ गतेका अपराधी बालेन र सुदन गुरुङ्ग नै हुन् । सक्छ भने यो सरकारले यी दुवै अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कानूनी कारबाही चलाओस् । तर कुनै जनआधार, दल नभएका खाली केही साम्राराज्यवादी र विस्तारवादीहरुको उक्साहटमा यी मन्त्री भई टोपलेकाहरुमा यस्तो दम खोई ? आफै त महादेव उत्तानो जरा अब कसले देला बर ? विचरा । प्रम सुशीला कार्कीको अवस्था यस्तै छ ।
तै पनि माग दुवै पक्षका अर्थात् जेनजी युवाहरुको र एमाले पक्ष अखिल विद्यार्थीहरु जायज नै छन् । जेनजी युवाहरुले उठाएको पहिलो माग अर्थात् भाद्र २३ मा भएको सरकारी दमन, हत्या र हिंसाका लागि मुख्य दोषी तत्कालीन प्रम ओली र गृहमन्त्री रमेश लेखक नै हुन् भने भाद्र २४ मा भएको आगजनी तोडफोड र लुटपाट मुख्य दोषी बालेन र सुजन गुरुङ्ग हुन् । यसका साथै अरु पनि दोषी छन्, छानबिन गर्दा सबै छर्लङ्ग नै हुन्छ । तर जो बोक्सो उही धामी भने जस्तै वर्तमान सरकार नै यस्तै व्यक्तिहरुको सहयोग र प्रस्तावमा बनेको छ । त्यही भएर केही प्रहरीका हातहतियार र डे«स खोसी आजगनी र लुटपाट गर्दै हिंडेकाहरुलाई प्रहरीले गिरफ्तार गरी कारबाही चलाउन खोज्दा गृहमन्त्रीकै ठाडो आदेशमा ती सबै विनार्सत बाहिर निक्लिसकेका छन् । भने अझ आफ्नै मालिक अर्थात् बालेन र सुजनकै सिफारिसमा मन्त्री बनाइएकाहरुले यस्तो कारबाही चलाउने हिम्मत गर्लान् ? असम्भव छ । तैपनि अब जनस्तरबाट नै यी दुवै अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कारबाही गर्नका लागि सशक्त आवाज बुलन्द पार्नु पर्ने देखिएको छ ।
हुनतः यो जेनजी आन्दोलन र विद्रोहका पछाडि यी केही जेनजी मात्रै नभएर यसमा घुसपैठ भएका विश्व साम्राराज्यवादी र विस्तारवादी नेपाली दलालको पनि मुख्य भूमिका देखिंदैछ । एक प्रकारले देशको समग्र राष्ट्रिय स्वाभिमानमाथि नै ठाडो हस्तक्षेप भएको छ । नेपाली सेना नै त्यसमा रमिते मात्रै होइन त्यसको प्रत्यक्ष सहयोगी भएको अनुमान भइरहेको छ । त्यसैले यी माथि उठाइएका मुद्दाहरु भन्दा अझ बढी पेचिलो र गम्भीर सवाल आज देशको राष्ट्रियता स्वाभिमान र अखण्डन नै बनेको छ । त्यसैले एउटा नेपाली उखान ‘फिनी हराएको थाहा छैन, गहुँका गेडा गन्ने’ यो कसैले भन्छ भने पनि यसलाई अन्यथा भन्न नमिल्ला ।




